२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिक : टेबलटेनिसमा श्यान्टु पराजित

ADV
मध्यान्ह
२०८१ साउन १३ गते ११:५७
पेरिस ओलम्पिक : टेबलटेनिसमा श्यान्टु पराजित

काठमाडौं : पेरिस ओलम्पिक– २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन् । साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे ।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए ।

चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते । पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए । बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे । हारसंगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् ।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन् । नेपालमा भएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एकलो खेलाडी हुन् । समग्रमा भने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेश्रो नेपाली खेलाडी हुन् ।

यसअघि छनोट चरण पार गर्दै संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । दुवै तेक्वान्दोका हुन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा श्यान्टुले जुडोकी मनीता श्रेष्ठ प्रधानसँगै राष्ट्रिय झण्डा बोकेका थिए । नेपालले टेबलटनिसमा पहिलोपटक ओलम्पिकमा सहभागी जनाएको हो ।

विगत २ वर्ष एता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका श्यान्टुले ओलम्पिकको तयारी पनि अस्ट्रेलियामै गरेका थिए । ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन् ।

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको प्रतिक्रिया दिँदै प्रतिद्वन्द्वी धेरै राम्रो भएकाले हार व्यहोर्नु परेको बताए ।

‘श्यान्टुले सक्दो राम्रो खेलेका हुन् । प्रतिद्वन्द्वी धैरे राम्रो खेलाडी हो । इब्राहिमको फोरह्यान्ड र ब्याकह्यान्ड पावर ड्राइभ एकदमै राम्रो थियो । हामीले शत हानेको बललाई इब्राहिमले रोक्ने होइन कि उल्टै हानी रहेका हुन्थे ।’ टेबलटेनिसका मुख्य प्रशिक्षक समेत रहेका कपालीले भने– ‘पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि थिए । त्यो सेट जितेको भए प्रतिद्वन्द्वीमाथि राम्रै दबाब कायम गर्न सकिन्थ्यो ।’

खेलपछि श्यान्टुले सोचे भन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए ।

‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन । ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भए । दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । तर ओलम्पिक सोचे भन्दा फरक हुँदो रहेछ,’– २४ वर्षीय श्यान्टुले भने ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise