२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

साफ महिला क्लब च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

shivam cement
२०८२ पुष ५ गते २०:१२
Shares
साफ महिला क्लब च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली एपिएफ क्लबलाई ३–० को स्पष्ट अन्तरले पराजित गर्दै इस्ट बंगाल च्याम्पियन बनेको हो ।

कप्तान फजिला इक्वापुटको उत्कृष्ट प्रदर्शनले इस्ट बंगाललाई ऐतिहासिक सफलता दिलायो । उनले दुई गोल गर्दा सिल्की देवी हेनानले एक गोल थपिन् । फाइनल खेल हेर्न रंगशालामा आठ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो ।

खेलको २२औं मिनेटमा कप्तान फजिलाले इस्ट बंगाललाई अग्रता दिलाइन् । सरिता युमनानको प्रहारलाई एपिएफकी डिफेन्डर मनमाया दमाईंले क्लियर गर्न खोज्दा बल फजिलासम्म पुगेको थियो । फजिलाको प्रहार गोलकिपर गीता रानालाई लाग्दै जालमा पुगेको हो ।

३५औं मिनेटमा इस्ट बंगालले अग्रता दोब्बर बनायो । असलता देवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्सभित्रबाट हेडमार्फत गोल गरिन् । पहिलो हाफमै दुई गोल खाएको एपिएफ दबाबमा परेको थियो ।

दोस्रो हाफ सुरु भएको केही समयमै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पूर्ण रूपमा इस्ट बंगालतर्फ मोडिन् । पेनाल्टी बक्स बाहिरबाट उनले गोलकिपर अन्जना राना मगरलाई छलाउँदै हानेको प्रहार सफल भयो । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन ।

फाइनलमा एपिएफले केही प्रयास गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन । इन्जुरी समयमा अनिता बस्नेतको क्रसमा मिना देउवाको हेडर पोस्ट नजिकबाट बाहिरिँदा एपिएफ गोलविहीन रह्यो ।

उपाधिसँगै इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपिएफले ५ हजार डलरमा चित्त बुझायो । प्रतियोगिता भर इस्ट बंगाल अपराजित रहँदै एक पनि गोल नखाई च्याम्पियन बनेको हो ।

युगान्डा राष्ट्रिय महिला टोलीकी उपकप्तान समेत रहेकी फजिला इक्वापुट प्रतियोगिताकी सर्वाधिक चर्चित खेलाडी बनिन् । उनले प्रतियोगिताभर कुल ९ गोल गरिन् । ट्रान्सपोर्ट युनाइटेड लेडिजविरुद्ध दुई गोल गरेकी उनले नासिर स्पोर्ट्स एकेडेमीविरुद्ध पाँच गोल गरेकी थिइन् ।

फजिला यसअघि सन् २०१८ मा युईएफए महिला च्याम्पियन्स लिगअन्तर्गत काजखस्तानको बिक काजिगर्टबाट खेल्दै बार्सिलोनाविरुद्ध गोल गर्ने खेलाडीसमेत हुन् ।

पाँच सदस्य राष्ट्रका लिग च्याम्पियनहरूको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सम्पन्न भएको थियो । समूह चरणपछि शीर्ष दुई टोली इस्ट बंगाल र एपिएफले फाइनलमा स्थान बनाएका थिए । फाइनलअघि दुबै टोली अपराजित रहे पनि निर्णायक खेलमा इस्ट बंगालले आफ्नो दबदबा प्रमाणित गर्‍यो ।

सम्बन्धित खबर