
काठमाडौं : आइसिसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली क्रिकेट टोलीले प्रारम्भिक चरणको तयारी थालेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप तयारीका लागि २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा प्रभावशाली प्रदर्शन गरेका उदीयमान खेलाडी शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा समेटिएका छन् । उनीसँगै एनपिएलमा निरन्तर राम्रो लयमा देखिएका विनोद भण्डारी, अविनाश बोहरा, प्रतीश जिसी, इशान पाण्डे र बसिर अहमद पनि क्याम्पमा परेका छन् । क्यानका अनुसार प्रशिक्षण क्याम्प सोमबारदेखि सुरु हुनेछ ।
एनपिएलमा विनोद भण्डारीले दुई अर्धशतकसहित २६४ रन जोड्दै ब्याटिङतर्फ प्रभाव जमाएका थिए भने शेर मल्लले लुम्बिनी लायन्सलाई उपाधि दिलाउने क्रममा १७ विकेट लिएका थिए । समान १७ विकेट हात पारेका अविनाश बोहरालाई पनि टोलीले विश्वकप तयारीका लागि प्राथमिकतामा राखेको छ ।
प्रशिक्षण क्याम्पमा बोलाइएका खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतीश जिसी र रुपेशकुमार सिंह रहेका छन् ।
टी–२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले गरेको ड्र अनुसार नेपाल समूह ‘सी’मा परेको हो । नेपाल रहेको समूहमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इंग्ल्यान्डसँगै बंगलादेश र इटाली छन् ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा भारत, पाकिस्ता, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । समूह ‘बी’मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान परेका छन् भने समूह ‘डी’मा न्युजिल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन् ।
नेपालले इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा हुनेछ ।
नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल फेब्रुअरी १५ मा हुनेछ । यस्तै नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछ ।
नेपालले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपालले सुरुमा २०१४ मा विश्वकप खेलेको थियो त्यसपछि एकैपट २०२४ मा विश्वकप खेलेको नेपालले पुनः २०२६ मा विश्वकप खेल्न लागेको हो ।
भारत र पाकिस्तानबीचको खेल भने श्रीलंकाको राजधानी कोलम्बोमा राखिएको छ । भारतमा हुने खेल मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदावादमा हुनेछन् । श्रीलंकामा हुने खेल कोलम्बो र क्यान्डीमा हुनेछन् । अहमदावादमा फाइनल खेल हुनेछ । तर पाकिस्तानले फाइनलमा स्थान बनाए कोलोम्बोमा फाइनल खेल खेलाइनेछ ।