२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

पलेँटीमा गुञ्जिँदै आभास

shivam cement
२०८२ पुष ६ गते २०:००
Shares
पलेँटीमा गुञ्जिँदै आभास

काठमाडौं : अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा नियमित रूपमा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।

करिब २० वर्षअघि सुरु भएको पलेँटी कार्यक्रमको संयोजन सुरुदेखि नै संगीतकार आभासले गर्दै आएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार आयोजना हुने यसपटकको पलेँटीमा सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् । अभिज्ञा विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ–शिल्पी हुन् ।

यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफैं गीत लेखनमा सक्रिय कलाकार हुन् । यद्यपि उनले अन्य गीतकारका रचनामा धुन भर्ने र अन्य संगीतकारका धुनलाई स्वर दिने कामसमेत गर्दै आएका छन् ।

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र स्वर दिएका गरेर झन्डै एक दर्जन सर्जकका शब्द र धुनहरू समेटिएका छन् । यही कारण यस संस्करणको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।

यस पलेँटीका लागि आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका सर्जकका शब्दलाई आफ्ना धुनमा समेटेका छन् । प्रस्तुत हुने गीतसूचीमा संगीतकार अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी तथा गीतकार कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचनाहरू समावेश छन् ।

पलेँटीमा प्रस्तुत गर्न आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतहरूलाई समेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि रहेका छन् ।

‘गीत र संगीत जीवन्त कला हो । यसले सधैं सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो,’ आभास भन्छन्, ‘संगीतमा सर्जकको मात्र होइन, श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । सधैंझैं यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने विश्वास छ ।’

सन् २००५ को जनवरीदेखि सुरु भएको पलेँटीले यही महिनाबाट आफ्नो २०औं वर्ष पूरा गर्दैछ । आयोजक संस्था नेपालयका अनुसार आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रूपमा सञ्चालन हुनेछ ।

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकटलगायत कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी पलेँटीको वेबसाइटमार्फत उपलब्ध छ ।

आर’शालामा प्रत्यक्ष उपस्थित हुन असमर्थ संसारभरका संगीतप्रेमीका लागि पलेँटीलाई घरमै बसेर फोन वा टिभीमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था पनि गरिएको छ । पलेँटीको वेबसाइटमार्फत पे–पर–भ्यु अवधारणाअनुसार यो सेवा प्रयोग गर्न सकिने आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर