२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

मंसिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

shivam cement
२०८२ पुष ७ गते १५:४१
Shares
मंसिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

काठमाडौं : गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मंसिरमा भने कमजोर देखिएको छ । 

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्यांकअनुसार मंसिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मंसिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म २८ लाख ७८ हजार ५ सय ३६ रुपैयाँ मात्र कमाइ गरेको छ । 

एकता पौडेलले निर्देशन गरेको चलचित्र हर्षका लागि जम्मा ८ हजार ८ सय ६६ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् ।

मंसिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म २१ लाख ४८ हजार ७ सय २ रुपैयाँ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको ६ हजार ८ सय ५० वटा टिकट बिक्री भएका छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ ।

मंसिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पिआर’ले सोही अवधिमा ६ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रको कूल २ हजार १ सय ९ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

मंसिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले ४ लाख १ हजार ३ सय ४० र ‘चिराग’ले ६८ हजार ४ सय ५० रुपैयाँ कमाइ गरेको तथ्यांक ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।

कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’ले हालसम्म देशव्यापी १७ करोड ६१ लाख ५ हजार २ सय ८८ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो चलचित्रको ६ लाख २५ हजार ६२५ वटा टिकट बिकेका छन् । यो कमाइसँगै औपचारिक रुपमा निर्देशक दिपक प्रसाद आचार्य निर्देशित यो चलचित्रले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।

“विगतलाई हेर्दा पनि मंसिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन् । यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ । किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन् । यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैं बढ्छ”, वितरक श्रेष्ठले भने ।

ताजा खबर

सम्बन्धित खबर