
मलेसिया : मलेसियाको पेटालिङ जयास्थित पीजेएस–४ क्षेत्रमा प्रेम सम्बन्ध टुटेपछि एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले विदेशी पुरुषको खोजी तीव्र पारेको छ ।
मलेसियाली सञ्चारमाध्यम मलय मेलका अनुसार गत मंगलबार बिहान करिब १० बजे महिला र उनका विदेशी प्रेमीबीच भएको घटनामा महिलामाथि एसिडजस्तो देखिने तरल पदार्थ प्रहार गरिएको थियो ।
पेटालिङ जया जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त शामसुदिन मामतले घटनाबारे प्रहरीमा उजुरी प्राप्त भएको पुष्टि गर्दै आपराधिक संहिताको धारा ३२५ अन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार पीडित महिला र आरोपित पुरुष प्रेम सम्बन्धमा थिए । उनीहरूबीच सम्बन्ध विच्छेद भएपछि उत्पन्न विवादका कारण घटना भएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको छ ।
घटनापछि आरोपित पुरुष तत्कालै फरार भएको र प्रहरीले उनको खोजी गरिरहेको प्रहरी प्रमुख मामतले बताएका छन् । आरोपितको पृष्ठभूमिबारे समेत अनुसन्धान भइरहेको छ ।
एसिडजस्तो पदार्थ प्रहारबाट घाइते भएकी २० वर्ष आसपासकी ती महिला एक भोजनालयमा काम गर्ने गरेको खुलेको छ । उनको शरीरमा जलन तथा चोट लागेको छ ।
हाल उनको क्वालालम्पुरस्थित युनिभर्सिटी मलाया मेडिकल सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । आरोपितको पहिचान तथा पक्राउका लागि घटनाका प्रत्यक्षदर्शीहरूसँग बयान लिने कामसमेत भइरहेको छ ।