२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

उदयपुरमा चौथो त्रियुगा अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड सुरु

himalayanlife
बिन्द्र राई
२०८२ पुष ११ गते १९:०६
Shares
उदयपुरमा चौथो त्रियुगा अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड सुरु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा चौथो त्रियुगा अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ शुक्रबारदेखि सुरु भएको छ ।

त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति, गाईघाटको आयोजनामा तथा त्रियुगा नगरपालिकाको संयोजकत्वमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित गाईघाटस्थित थरुहट रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले पहिले खेललाई खेलकुदका रूपमा मात्र हेरिने गरिए पनि अहिले खेलकुदलाई महोत्सवका रूपमा लिन थालिएको बताए । खेलकुदले युवालाई जागरुक बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा चिनारी र पहिचान दिलाउने भएकाले युवा तथा विद्यार्थीको सक्रिय सहभागिता अपरिहार्य रहेको उनले उल्लेख गरे ।

मेयर बस्नेतले आगामी दिनमा एन्फाको राष्ट्रिय महिला प्रतियोगिता त्रियुगामा सञ्चालन गर्ने तयारी रहेको जानकारी पनि दिए । साथै थरुहट रंगशालासँगै त्रियुगा आदर्श क्रिकेट मैदान निर्माणका लागि संघ र प्रदेश सरकारसँग पहल भइरहेको र सो परियोजना डिपिआर तथा ठेक्का प्रक्रियामा पुगेको बताए ।

उनले समग्र खेलकुद क्षेत्रको विकासका लागि युवा, विद्यार्थी तथा सम्पूर्ण नागरिक समाज र नगर समुदायको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी ४० वटा विद्यालयको सहभागिता रहेको छ । सहभागी विद्यालयहरूमा रामजानकी माध्यमिक विद्यालय मोतिडा–३, श्री राष्ट्रिय माध्यमिक विद्यालय बगहा–४, जनता माध्यमिक विद्यालय देउरी, श्री बालमन्दिर माध्यमिक विद्यालय बोक्से, जाल्पादेवी माध्यमिक विद्यालय साउने, त्रियुगा माध्यमिक विद्यालय गाईघाट, लक्ष्मीपुर माध्यमिक विद्यालय पोर्ताहा, क्यानभास एकेडेमी गाईघाट लगायत रहेका छन् ।

प्रतियोगितामा छात्रा र छात्र गरी कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबडी गरी ५ विधामा प्रतिस्पर्धा गराइनेछ । आयोजकका अनुसार प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर