२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

छत्रदेव गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष ११ गते १९:१७
Shares
छत्रदेव गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले गरेका हुन् ।

छत्रदेव रंगशालामा उत्सवमय वातावरणका बीच सुरु भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विद्यालय तहबाटै राष्ट्रको पहिचान स्थापित गर्न सक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रूपमा सक्षम बनाउने बताए ।

अध्यक्ष श्रेष्ठले विभिन्न समुदायभित्र रहेका प्रतिभाहरूको खोजीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै छत्रदेवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि पालिकाले पर्याप्त लगानी गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालयहरूलाई खेलाडी उत्पादनमा आवश्यक सहयोग गर्ने बताउँदै विधागत रूपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आग्रह गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले शिक्षामा अब्बल रहेको छत्रदेवलाई सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउने गरी विकास गर्ने योजना अघि बढाइएको बताइन् । उनले खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान गरी अनुकूल वातावरण तयार गर्न गाउँपालिकाले पर्याप्त चासो र लगानी गरेको दाबी गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै खेलक्षेत्रको विकासका लागि पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए । उनले शिक्षाको गुणस्तरलाई प्रविधिसँग जोडेर अघि बढाउँदा विद्यार्थीलाई सफलता मिल्ने बताए । शिक्षाको गुणस्तर शिक्षक र विद्यार्थीको मेहनतले मात्र नभई सबै सरोकारवालाको संयुक्त जिम्मेवारी आवश्यक हुने उनको भनाइ थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा छत्रदेव गाउँपालिकाभरका माध्यमिक तथा आधारभूत विद्यालयका विद्यार्थीहरू सहभागी छन् । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा विद्यार्थीहरूले मार्चपास र झाँकी प्रस्तुत गरेका थिए । मार्चपासका क्रममा विद्यार्थीहरूले गरेको सलामीलाई अध्यक्ष श्रेष्ठले नमस्कारको शैलीमा फर्काएर सम्मान प्रकट गर्नु समारोहको रोचक पक्ष बनेको थियो । अध्यक्ष श्रेष्ठले हरेक रनिङ शिल्ड प्रतियोगितामा यसरी नै विद्यार्थीहरूको सम्मान गर्दै आएको भन्दै विद्यार्थी तथा अभिभावकहरूले प्रशंसा गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विष्णु क्षेत्री, सार्वजनिक माध्यमिक विद्यालयका अध्यक्ष प्रेमनारायण आचार्य, छत्रदेव गाउँपालिकाका प्रवक्ता कमल पौडेल, वडा अध्यक्षहरू काजिवाबु ज्ञवाली, शंकर पाण्डे, तेजुराम खनाल, भीमलाल खनाल, बालकृष्ण पोख्रेल, नारायण पाण्डे र भीष्म कुवरलगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा गाउँकार्यपालिका सदस्य देवकला ताम्राकार, वडा सदस्य हरि प्रसाद पाण्डे, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा ठूलो संख्यामा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोह स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेको सञ्चालन तथा तुल्सिराम न्यौपानेको स्वागत मन्तव्यसँगै सम्पन्न भएको हो ।

ताजा खबर

सम्बन्धित खबर