
उदयपुर : चौथो त्रियुगा अन्तरमाध्यमिक मेयर रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि त्रियुगा माध्यमिक विद्यालय, गाईघाटले हात पारेको छ ।
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र त्रियुगा नगरपालिकाको समन्वयमा गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न प्रतियोगितामा त्रियुगा नगरपालिका भित्रका तीन दर्जनभन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पुस ११ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्रा तथा छात्रतर्फ कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी गरी पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । ती सबै विधामा उत्कृष्ट अंक हासिल गर्दै त्रियुगा माध्यमिक विद्यालय गाईघाट प्रथम भएको हो ।
प्रतियोगितामा प्याराडाइज सेकेन्डरी दोस्रो तथा क्यानभास एकेडेमी गाईघाट तेस्रो स्थानमा रहन सफल भएका छन् ।
पाँच विधातर्फको प्रदर्शनका आधारमा छात्रातर्फ क्यानभास एकेडेमीकी सुरक्षा कार्की र छात्रतर्फ प्याराडाइज सेकेन्डरीका सुनिल कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
मेयर रनिङ शिल्डका विजेता, उपविजेता तथा तेस्रो हुने विद्यालयहरू र उत्कृष्ट खेलाडी विद्यार्थीहरूलाई त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाटका अध्यक्ष किरण कार्कीसहितका अतिथिहरूले नगद पुरस्कार, प्रमाणपत्र, साइकल तथा पदक प्रदान गरेका थिए ।