२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बर्दियाका महिलालाई इलेक्ट्रोनिक अटो रिक्सा सहयोग

shivam cement
सन्तोष पौडेल
२०८२ पुष १५ गते २१:०४
Shares
बर्दियाका महिलालाई इलेक्ट्रोनिक अटो रिक्सा सहयोग

बर्दिया : बर्दिया जिल्लाका चार स्थानीय तहका छ जना महिलालाई इलेक्ट्रोनिक अटो रिक्सा सहयोग प्रदान गरिएको छ । प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजनाअन्तर्गत उक्त सहयोग उपलब्ध गराइएको हो । 

बालविवाहको जोखिममा परेका तथा आर्थिक रूपमा विपन्न महिलालाई लक्षित गर्दै प्रति अटो रिक्सा रु.२ लाख ३३ हजार ७ सयका दरले कुल रु.१४ लाख २ हजार २ सय बराबरको सहयोग प्रदान गरिएको परियोजनाले जनाएको छ । परियोजनाअन्तर्गत गेरुवा गाउँपालिकाबाट २ जना, मधुवन नगरपालिकाबाट २ जना, ठाकुरबाबा नगरपालिकाबाट १ जना र बारबर्दिया नगरपालिकाबाट १ जना महिलाले इलेक्ट्रोनिक अटो रिक्सा प्राप्त गरेका छन् । 

इलेक्ट्रोनिक अटो रिक्सा सञ्चालनमार्फत महिलाहरूको आयआर्जनमा वृद्धि हुने, परनिर्भरता न्यूनीकरण हुने तथा दीर्घकालीन आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

खानेपानी सामग्री हस्तान्तरण

यसै परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयका लागि सुरक्षित खानेपानीसम्बन्धी सामग्री समेत हस्तान्तरण गरिएको छ । परियोजना सञ्चालन भइरहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मला र हिमालय आधारभूत विद्यालय मिर्चैयाका लागि करिब रु. १३ लाख २९ हजार बराबरका खानेपानी फिल्टर, पानी ट्यांकी तथा अन्य आवश्यक सामग्री एक औपचारिक कार्यक्रमकाबीच ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराईलाई हस्तान्तरण गरिएको हो । 

विद्यालयस्तरमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै स्वच्छ, सुरक्षित तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बी–ग्रुपका अध्यक्ष डा.इन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार यस पहलबाट विद्यालयमा अध्ययनरत बालबालिकाले सहज रूपमा शुद्ध खानेपानी प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ ।

हस्तान्तरण गरिएका खानेपानी फिल्टर तथा सामग्री प्रयोगमा आएपछि पखाला, जण्डिस, टाइफाइडजस्ता पानीजन्य रोगको जोखिम घट्ने, विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार आउने तथा विद्यालयमा नियमित उपस्थितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर