
काठमाडौं : १५औं महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्केको छ । जसले पार्टी विभाजनकै जोखिम बढाएको छ । केन्द्रीय कार्यालयले तोकेको तालिकाअनुसार पुस २६–२९ मा नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन बोलाउने अन्तिम तयारी गरेका हुन् ।
तोकिएको समयमा महाधिवेशन नभएपछि विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले भेला बोलाएर अन्तिम धक्का दिने तयारीमा जुटेका छन् । पार्टी विधानको धारा १७ (२)मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ’ भन्ने व्यवस्था छ ।
सोही व्यवस्थामा टेकेर कानुन व्यवसायीसमेतको परामर्शमा गगन–विश्वसहितका नेताको अगुवाइमा पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाउने तयारी भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए । ‘नियमित महाधिवेशन भएन, पार्टी विधानमा भएको विशेष महाधिवेशनको अनिवार्य व्यवस्थालाई अब कसैले रोक्न सक्दैन’, उनले मध्यान्हसँग भने ।
कार्यवाहक सभापतिसहितका पदाधिकारीले सर्वसम्मत विशेष महाधिवेशन बोलाए उत्तम हुने आचार्य बताउँछन् । कतिपय नेताहरूले विशेष महाधिवेशनलाई रोक्न नसके पार्टी विभाजनमा जानसक्ने टिप्पणी गरेका छन् । तर विशेष महाधिवेशन वैधानिक बाटो भएकाले पार्टी विभाजनभन्दा पार्टी सुदृढ भएर जाने विशेष पक्षका नेताहरूको दाबी छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने भएकाले सबै नेताहरू सहभागी हुने नेता आचार्यको जिकिर छ । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाएको विशेष महाधिवेशनले पार्टी विभाजन हुँदैन । सबै नेताहरू भेलामा सहभागी हुनुहुन्छ र विशेष महाधिवेशनले गर्ने आवश्यक निर्णय गर्छ । यसले पार्टीलाई पुनर्जागृत गराउँछ’, उनले भने । वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने कुरामा नेताहरू विभाजन हुनुहुन्न भन्ने विश्वास रहेको आचार्यले बताए ।
विशेष महाधिवेशनको माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइएका थिए । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने कांग्रेस विधानमा व्यवस्था छ । सोहीअनुसार महाधिवेशन प्रतिनिधिलाई काठमाडौंमा बोलाउन थालिएको नेताहरूले बताए । हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि पार्टीले बेवास्ता गरेकाले विशेष महाधिवेशन निर्विकल्प भएको विशेष महाधिवेशन आयोजक समितिका सदस्य रमेश धमलाले बताए । त्यसका लागि भृकुटीमण्डपको बगैंचा, हल र चउरसहितको प्रदर्शनीस्थल बुकिङ गरिसकेको उनले जानकारी दिए ।
नियमित महाधिवेशन गरेर विशेषलाई निष्क्रिय बनाउन मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सातै तहको कार्यतालिका ल्याएको थियो । जसअनुसार पुस १६ गते गाउँ, नगर, वडा, पुस १७ गते गाउँपालिका, पुस १९ गते प्रदेशसभा क्षेत्रीय, पुस २१ गते प्रतिनिधि सभा क्षेत्रीय र एक मात्र जिल्ला भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका थियो । त्यस्तै, पुस २२ गते दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्ला, पुस २३ र २४ गते प्रदेश र पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका थियो । तर कार्यतालिकाअनुसार अधिवेशन नभएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशनको तयारीमा लाग्न आग्रह गरिएको हो । ‘यस विषयमा हस्ताक्षरकर्ताको तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी छ,’ कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन्, ‘महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार देशभरका महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनका भाग लिन सार्वजनिक आह्वान गर्ने तयारी छ ।’
महामन्त्रीको अग्रसरतामा विशेष महाधिवेशनका तयारी भए पनि सभापति, कार्यवाहक सभापतिसहितका पदाधिकारी र संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला भने पार्टीको निर्णयविपरीत बोलाइने विशेष महाधिवेशनको विपक्षमा छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका धेरै महाधिवेशन प्रतिनिधि शेखर कोइराला समूहका भएकाले उनले सहयोग नगर्दा कोरम पुु¥याउन कठिन हुने इतर पक्षका नेताहरु नै बताउँछन् । ‘पार्टीले आधिकारिक निर्णय गरे नेता कोइरालाले सहयोग गर्नुहुन्छ,’ केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले मध्यान्हसँग भने, ‘नियमित महाधिवेशनको तालिकाअनुसार काम गर्न नसक्नु पार्टीका सबै पदाधिकारीको असफलता हो । पार्टी केन्द्रीय समितिको आधिकारीक निर्णयबिना बोलाइएको विशेष महाधिवेशनमा कोइरालाको सहयोग हुँदैन,’ उनको भने ।
२१ फागुनको निर्वाचन अगाडि संस्थापन पक्षका नेताहरू कुनै पनि महाधिवेशनको पक्षमा छैनन् । संस्थापनइतर समूहका नेताहरूले आमनिर्वाचनअघि महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेतृत्वसहित जनतामा जानुपर्ने जिकिर गर्दै आएको थियो । नियमित महाधिवेशन गर्न नसकेको खण्डमा केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जानुपर्ने नेता शेखर कोइरालाको दाबी यथावत् छ । तर उनी महामन्त्रीद्वयले मात्रै बोलाएको भेलालाई सहयोग गर्न अनिच्छुक छन् । उनको समर्थनबिना महामन्त्रीले बोलाएको विशेष महाधिवेशनमा ४० प्रतिशत पु¥याउन नसकिने हो कि भन्ने त्रास थापा समूहलाई छ ।
संस्थापन पक्षका नेता रमेश लेखकले महामन्त्रीहरूले विशेष भेलाका नाममा पार्टी विभाजनको अवस्थामा नपुर्याउने बताए । ‘हामी नियमित महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरेर गएकै हो । तर कार्यतालिकाअनुसार काम सकिएन, त्यसको जिम्मा सबै नेताहरूले लिनुुपर्छ ।’ क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अझै धमाधम भइरहेको दाबी गर्दै उनले भने, ‘अहिले भेला राख्ने भन्ने सुनेको छु भेलाको उद्देश्य के हो ? भन्ने थाहा छैन । सिंगो कांग्रेसको नेतृत्वमा पुुग्ने तयारीमा रहनुुभएका महामन्त्रीजीहरू विभाजनको अवस्थामा जानुहुन्छ भन्ने हामीले सोच्ने विषय नै होइन ।’ तर उनीहरूले बोलाएको भेला केकस्तो हो हेरेर कांग्रेसले आवश्यक निर्णय लिने नेता लेखकले बताए ।
महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाए पनि त्यो एउटा भेला मात्रै हुने संस्थापन पक्षको दाबी छ । निर्वाचन आइसकेकाले पार्टीका सबै नेता कार्यकर्ता एक भएर निर्वाचनमा लाग्नुपर्नेबेला भेला गर्नुले कांग्रेसलाई क्षति हुने सहमहामन्त्री महेन्द्र यादवले बताए । उनले भने, ‘चुनावका बेलामा सबै कार्यकर्ता मैदानमा गइसकेका छन् । महामन्त्रीहरूले पनि चुनावकै विषयमा छलफल गर्न बोलाउन लाग्नुभएको हुन सक्छ । नियमित महाधिवेशनकै प्रक्रियामा जाने निर्णयसहितको तयारी भएकाले विशेष महाधिवेशनको कुनै अर्थ छैन ।’