२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी

shivam cement
२०८२ पुष २३ गते २१:०८
Shares
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी

पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड सम्पन्न भएको छ । पोखरा सभागृहमा बुधबार आयोजित अवार्ड समारोहमा नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भए ।

दीपेन्द्र पुरुषतर्फ पहिलोपटक वर्ष खेलाडी बने भने एरिका महिलातर्फ लगातार दोस्रोपटक यो अवार्ड जित्न सफल भइन् । उनीहरू दुवैले पुरस्कारस्वरूप पल्सर बाइक प्राप्त गरे । संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि एरिका दुई पटक वर्ष खेलाडी बन्ने समग्रमा चौथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र यो उपलब्धि हासिल गरेकी छन् ।

भोटिङका आधारमा प्रदान गरिने ‘पिपल्स च्वाइस अवार्ड’ भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा र उसु खेलाडी विजय सिन्जालीलाई पछि पार्दै अवार्ड जितेका हुन् । हिमालले पनि पल्सर बाइक प्राप्त गरे । 

हिमाल सुनारी नवौं एनभीए भलिबल लिग तथा पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपमा उपविजेता टोलीका महत्वपूर्ण सदस्य थिए । तेस्रो टाइगर कपमा च्याम्पियन बनेको गण्डकी प्रदेश टोलीबाट खेल्दै उनले प्रतियोगिताकै ‘बेस्ट सर्भर’को उपाधि समेत जितेका थिए ।ने

पाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतो उत्कृष्ट युवा खेलाडी घोषित भइन् । वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ पनि परेका थिए । अवार्ड ग्रहणपछि पूजाले यो सम्मान आफ्ना अभिभावकलाई समर्पित गरेको बताइन् ।

पहिलोपटक आयोजना भएको खो खो विश्वकपमा ऐतिहासिक रजत पदक जिताउने नेपाली महिला तथा पुरुष खो खो टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरे ।

एथ्लेटिक्सकी प्रभा आङदेम्बे उत्कृष्ट पारा एथ्लेट घोषित भइन् भने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए । लामाले पनि पल्सर बाइक प्राप्त गरे । वर्ष प्रशिक्षकको मनोनयनमा करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य पनि परेका थिए ।

पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । खेलकुद क्षेत्रमा लामो योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्राप्त गरिन् । पलेशाले पेरिस २०२४ पारालिम्पिक तथा हाङझाव एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी तुलसी गुरुङ एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित भए । एनएसजेएफ स्पोट्र्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना गरिएको हो । 

सम्बन्धित खबर