२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसमा कुर्सी खोस्ने र जोगाउने अन्तिम कसरत

shivam cement
जीवन शर्मा
२०८२ पुष २५ गते ०६:३५
Shares
कांग्रेसमा कुर्सी खोस्ने र जोगाउने अन्तिम कसरत

काठमाडौं : नेपाली कांग्रेसमा असन्तुष्ट पक्षले विशेष महाधिवेशन डाकेपछि महामन्त्री गगन थापाको अनामनगरस्थित सम्पर्क कार्यालयमा तयारी तीव्र छ । उता सानेपास्थित केन्द्रीय कार्यालयमा संस्थापननिकट नेताहरूको सक्रियता पनि बढेको छ । सानेपामा कार्यसम्पादन समिति र पदाधिकारी बैठक निरन्तर जारी छ । पार्टीका संस्थापन पक्षका नेताहरूको अनुहार मलिन देखिन्छ । धेरै नेताहरूले खुलेर बोलेका छैनन् भने पार्टी प्रवक्ता र केही पूर्वपदाधिकारीले दिएको प्रतिक्रियाले पार्टीभित्र पछिल्लोपटक देखिएको संकट समाधानमा आवाज बोलेको सुनिँदैन । 

अनामनगरमा चासो, असन्तुष्टि र नयाँ उत्साह लिएर जाने नेता कार्यकर्ता बाक्लिँदै छन् । सोही सचिवालयबाटै विशेष महाधिवेशनका लागि प्रतिनिधिको तथ्यांक संकलन, रुजु, व्यवस्थापन, प्रिन्टिङलगायतको काम भइरहेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले दैनिकजसो पत्रकार सम्मेलनमार्फत अपडेट दिइरहेका छन् । 

संस्थापन पक्षका नेताहरुले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिलाई रोक्ने रणनीतिमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यसम्पादन समितिको बैठकमै जान छाडेर विशेष महाधिवेशनको माहोल तताउन खटिएका छन् । 

दुुवैतर्फको तयारीले पार्टी सभापतिको कुर्सी खोस्ने र जोगाउने अंकगणितको खेल भइरहेको प्रस्ट देखिन्छ । वैधानिक तर्क–वितर्कका विषय आआफ्नै पक्ष र विपक्षमा बल पुर्‍याउनेगरी हुने गरेका छन् । गत १४औं महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पक्षमा २ हजार ४ सय ८८ जनाले हस्ताक्षर गरेका छन् । सो हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत निवेदन दर्ता गराएका थिए । तर सो निवेदनका सन्दर्भमा पार्टीको केन्द्रीय समितिमा प्रवेश नै गराइएको छैन । विशेष महाधिवेशनको विषय छलफलमै नआएको र गत मंसिर १५ गते पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकाले विशेषको औचित्य समाप्त भएको संस्थापन पक्षको जिकिर छ । 

‘बुधबार कार्यसम्पादन समितिको बैठकले समेत विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ,’ कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘त्यहीअनुसार फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै तहका नेता कार्यकर्तालाई खट्न निर्देशन दिइसकेको र आमनिर्वाचन आइसकेकाले निर्वाचकै तयारीमा लाग्ने र निर्वाचनपछि पार्टीको महाधिवेशनमा जुुट्ने पार्टीको आधिकारिक निर्णय छ ।’

 तर, विशेष पक्षका नेताहरूले संस्थापनको सो निर्णय खारेज गरेको भन्दै महाधिवेशन तयारी तीव्र बनाएको हो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्ने निर्णय नै बहुमत महाधिवेशन प्रतिनिधिले खारेज गरिदिएको बताए । ‘विशेष महाधिवेश कसैको लहडमा नभई पार्टीको विधानको धारा १७ (२) अनुसार अनिवार्य गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने, ‘यो नै वैधानिक र आधिकारिक महाधिवेशन हुने भएकाले पार्टी सभापतिसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ भन्ने विश्वासमा छौं । विशेष महाधिवेशनको औचित्य समाप्त भयो भन्ने निर्णय नै हामीले खारेज गरिदिएका छौं ।’ ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाएको महाधिवेशनले पार्टी फुटाउनेभन्दा पनि यसले पार्टीलाई थप बलियो बनाएर एक्लै चुनाव लड्न सक्ने बनाउने उनको जिकिर छ ।  

पार्टीको १५औं आवधिक महाधिवेशन सारिएपछि देखिएका यी दृश्यले कांग्रेसलाई विभाजन उन्मुख लगेको प्रस्ट संकेत गरेको छ । तर विशेष महाधिवेशनको तयारी गरेको महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफू विष सेवन गरेर भए पनि पार्टी विभाजन हुन नदिने दृढता व्यक्त गरेका छन् । तर उनीहरूले त्यसो भन्दै गर्दा विशेष महाधिवेशनको अभियान चलाएका नेताहरूले पुुस २७–२८ मा हुने विशेष महाधिवेशनलाई नेतृत्व परिवर्तनकै महाधिवेशनका रूपमा लानुुपर्ने दबाब बढाएका छन् । विधानअनुसार केन्द्रीय समितिको चारवर्षे कार्यकाल पूरा गरेको वर्तमान कार्यसमितिले यही पुुसमा आवधिक महाधिवेशन गर्नुपर्ने थियो । यद्यपि विधानले दिएको एक वर्ष कार्यकाल थप्ने सहुलियतलाई उपयोग गर्दै पार्टीको महाधिवेशन २०८३ मंसिरमा सार्ने विषयमा सभापति–महामन्त्रीदेखि सबै केन्द्रीय सदस्य राजी थिए । अचानक जेनजी आन्दोलन भयो र राज्यसत्ता कब्जासँगै सारा भौतिक संरचना ध्वस्त भएसँगै पुराना पार्टीहरूमा एकाएक पुनर्संरचनाको आवाज उठेको छ । त्यसको सबैभन्दा ठुलो प्रभाव पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई परेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुुथलले सबै दलमा पुनर्संरचनामार्फत नयाँ नीतिसहित नयाँ नेतृत्वको माग भएको नेता गुरुराज घिमिरेले बताए ।  उनले भने, ‘कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन जेनजी आन्दोलनको भावना समेटेर नयाँ नेतृत्वसहितको नयाँ नीति लिएर चुनावमा जानुपर्नेछ त्यसका लागि आवधिक महाधिवेशन हुन नसकेकाले विशेष महाधिवेशन अनिवार्य भएको हो ।’ 

विशेष महाधिवेशनमा ५१ प्रतिशत र्‍याएर नेतृत्व नै फेर्नेगरी तयारी गरे पनि अझै कति प्रतिनिधि आएछन् भन्ने विशेष पक्षलाई यकिन छैन । औपचारिक रूपमा ५५ देखि ६० प्रतिशत सहभागी गराउने दाबी गरेका छन् ।  तर विशेष पक्षकै कतिपय नेताहरूले संख्या पुर्‍याउन कठिन देखेका छन् । ‘पार्टी केन्द्रीय समितिका ८÷१० जना नेताबाहेक सबैले प्रतिनिधि रोक्न लागेका छन् ।’ विशेष पक्षकै एक नेताले भने, ‘संस्थापन पक्ष मात्रै नभई इतरसमूहका नेता डा. शेखर कोइरालासमेत प्रतिनिधि रोक्ने लागेकाले निर्णायक तहमा पुुग्न संख्या नपुग्न सक्छ । त्यसो हुँदा विशेष भेलाका रूपमा रूपान्तरण गरेर नीतिगत विषयमा छलफल गरेर जान सकिन्छ ।’ 

काउन्टर प्रतिस्पर्धा

विशेष महाधिवेशन पक्षका नेताहरूले सचिवालय खडा गरेर विभिन्न उपसमिति नै बनाएर बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी गराउन प्रयत्न गरिरहँदा संस्थापन पक्षका नेताहरूले प्रतिनिधि रोक्ने अनेकन हतकण्डा प्रयोग गरेका छन् । पार्टीले सबै तहका समितिलाई विशेष महाधिवेशनको औचित्य सकिएकाले कोही पनि सहभागी नहुन सर्कुलर गरेको छ । तर विशेष पक्षले एक÷एक महाधिवेशन प्रतिनिधिलाई फोन गरेर बोलाइरहेका छन् ।  जिल्लाजिल्लाबाट आफ्ना समर्थकमार्फत तथ्यांक संकलन भइरहेको नेता प्रतिमा गौतमले बताइन् । ‘गत हस्ताक्षर गरेकामध्ये केही साथीहरूले फिर्ता लिएको भने पनि अधिक संख्यामा वृद्धि भइरहेको छ,’ उनले मध्यान्हसँग भनिन् । 

पुसको २७ र २८ मा भृकुटीमण्डपमा राखिएको वशेष महाधिवेशनलाई प्रभावित बनाउन संस्थापन पक्षले २७ गते युवा भेला र २८ गते जिल्ला सभापतिको भेला राखेको छ । कतिपय नेताहरूले यसलाई विशेष पक्षले कोरम नपुर्‍याए पनि पुर्‍याएको भनेर पार्टी कार्यालय नै कब्जा गर्न सक्ने अवस्थालाई ख्याल गरेर रणनीतिक रूपमा युवा तथा जिल्ला सभापति भेला बोलाइएको जनाएका छन् । बिहीबार बिहान देउवा निवास महाराजगन्जमा देउवा भेट्न पुगेका नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, महिला संघका अध्यक्ष उषा राउत मिश्र, किसान संघका अध्यक्ष गणेश तिमिल्सिना र तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई बोलाएर पुस २७ गते युवा भेला गर्ने सभापतिले नै निर्देशन दिएको सहभागी भ्रातृ संगठनका नेताहरूले बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको काउन्टरभन्दा पनि युवाको भेला बोलाएर चुनावी रणनीति बनाउने तयारी गरेको बताएका छन् । भेटमा सभापति देउवाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्न भ्रातृ संस्थाका अध्यक्षलाई निर्देशन दिएका थिए । ‘पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्नुहोला भनेर सभापतिले भन्नुभयो,’ तरुण दलका अध्यक्ष विद्वान गुरुङले भने ।  

कार्यसम्पादन बैठकमा गगनको असन्तुष्टि

पार्टीको कार्य सम्पादन समिति र पदाधिकारी बैठकमा फरक मत राख्दै विशेष महाधिवेशनको तयारीलाई प्राथमिकता दिएका महामन्त्री गगन थापाले बिहीबार भएको कार्यसम्पादन समितिको बैठकमा समेत अन्तुष्टि पोखे । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’

महामन्त्री थापाले प्रक्रियामा छिर्न नचाहनु पार्टीलाई घातक हुने बताए । उनले भने, ‘प्रक्रियामा छिर्न नचाहेर अवैधानिक गर्न खोज्नु घातक हुन सक्ने बताए । पार्टी कार्यकर्तालाई दुई भागमा बाँड्ने स्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । ‘विशेष महाधिवेशनको मञ्चमा आउने सबै हाम्रै कार्यकर्ता हुन्, यसले पार्टीलाई दुई भागमा बाँड्ने स्थिति सिर्जना नगरोस्,’ महामन्त्री थापाले भने । आसन्न प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको थापाको भनाइ छ । पार्टी विधानको व्यवस्था र वर्तमान राजनीतिक परिस्थिति विश्लेषण गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने थापाले बताए । थापाले पछिल्लो एक हप्तामा पार्टीका करिब २ हजार नेता कार्यकर्तासँग भेटेर विशेष महाधिवेशनका पक्षमा कन्भिन्स गरेको उनीनिकट नेताहरूले दाबी गरेका छन् । 

सम्बन्धित खबर