
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार विकासलाई मुख्य आधार मानेर समग्र विकासको बाटोमा अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, सडक र खानेपानी जस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउँदै आएको गाउँपालिकाले पछिल्लो समय पुनः कृषि क्रान्ति कार्यक्रमअन्तर्गत व्यावसायिक आलुखेतीलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाले गत वर्षदेखि आलु उत्पादनमार्फत आन्तरिक राजस्व संकलन सुरु गरेको थियो । सो कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि करिब १० क्विन्टल आलुको बीउ रोपण गरिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार पालिकाले आफ्नै लगानीमा कृषि उत्पादन सुरु गर्दा यसले राजस्व वृद्धि मात्र नभई स्थानीय किसानलाई समेत प्रेरणा दिएको छ ।
छत्रदेव गाउँपालिका आलुखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । यही सम्भावनालाई उपयोग गर्दै गाउँपालिकाले वडा नं. ४ स्थित फर्सुरामेश्वर गुठीको करिब २० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सञ्चालन गरेको हो । प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालका अनुसार लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गालाई उत्पादनशील बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो ।
‘गाउँपालिकाको आर्थिक उन्नति गर्न कृषि र पशुपालन नै मुख्य आधार हुन्,’ खनालले भने, ‘कृषि उत्पादनको राम्रो सम्भावना रहेको क्षेत्रमा आलुखेती सुरु भएपछि आन्तरिक आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।’ उनका अनुसार पालिकाले यस वर्ष लोकल जातको अर्गानिक आलु करिब १०० क्विन्टल उत्पादन गर्ने लक्ष्य राखेको छ ।
पालिकाले सञ्चालन गरेको आलुखेतीको संरक्षण, स्याहार–सम्भार र अनुगमनका लागि कर्मचारीलाई पालैपालो जिम्मेवारी दिइएको छ । यसले कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउने विश्वास गरिएको छ ।
गाउँपालिकाले आफैं अग्रसर भएर आलु उत्पादन थालेपछि स्थानीय किसानहरू पनि व्यावसायिक आलुखेतीतर्फ आकर्षित हुने अपेक्षा गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार, कृषि क्रान्तिलाई मुख्य प्राथमिकतामा राख्दै किसानलाई ‘खेतीबाट पनि आम्दानी सम्भव छ’ भन्ने उदाहरण प्रस्तुत गर्न २०८१ सालदेखि यो कार्यक्रम सुरु गरिएको हो । पहिलो वर्ष ९ क्विन्टल बीउ रोपण गर्दा करिब ५० क्विन्टल आलु उत्पादन भएको थियो । त्यसको सफलतापछि यस वर्ष उत्पादन दोब्बर बनाउने लक्ष्य लिइएको छ ।
स्थानीयस्तरमा पनि यस पहलको सकारात्मक प्रभाव देखिन थालेको छ । छत्रदेव–४ का युवा कृष्ण पराजुलीले गाउँपालिकाले कृषि र पशुपालनमार्फत रोजगारी सिर्जना गर्ने प्रयास थालेकोमा खुसी व्यक्त गरे । ‘पालिकाले आफैं आलुखेती गरेर राम्रो उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने, ‘आलु खेतीबाट राम्रै नाफा हुने अनुमान स्थानीयवासीले गरेका छन् ।’
छत्रदेव गाउँपालिकामा आन्तरिक आयस्रोत सीमित रहेकाले कृषि उत्पादनबाट राजस्व संकलन गर्ने यो प्रयासले चर्चा पाएको छ । जनप्रतिनिधि र कर्मचारी स्वयं संलग्न भएर सुरु गरिएको आलुखेती कार्यक्रमले स्थानीय आर्थिक गतिविधि बढाउने र दीर्घकालमा पालिकाको आर्थिक आत्मनिर्भरता मजबुत बनाउने अपेक्षा गरिएको छ ।