२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

‎सक्षमता देखाउँदै शिखर चुमेकी शारदा

shivam cement
सपना बोहरा
२०८२ पुष २६ गते ०६:४०
Shares
‎सक्षमता देखाउँदै शिखर चुमेकी शारदा

झट्ट हेर्दा महिला र पुरुष जैविक रूपमा मात्रै फरक हुन भन्ने लाग्छ । तर लामो समयदेखि गढेर रहेको पितृसत्तात्मक समाजमा महिलाले पुरुषजस्तै सहज ढंगले सफलताको उडान भर्न सकिरहेका हुँदैनन् । 

नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) हो । यसको पहिलो महिला प्रधानाध्यापक हुन्– शारदाकुमारी पौडेल । पुरुषको तुलनामा महिलाहरूले प्रत्येक कदममा सक्षम छु भनेर साबित गर्नुपर्ने उनको आफ्नै अनुभव छ । 

शारदा शिक्षण पेसामा लागेको २३ वर्ष भयो । १३ वर्षसम्म दरबार हाइस्कुलमा पढाइरहँदा पहिलोपटक महिला प्रधानाध्यापकका रूपमा नियुक्त भएकी थिइन् । १९१० सालमा स्थापना भएको विद्यालयमा २०८२ साल मंसिर ४ गते शारदाकुमारी पौडेलले दरबार हाइस्कुलको प्रधानाध्यापक नियुक्त भएकी हुन् । 

उनले त्यस विद्यालयमा १३ वर्ष कार्यवाहक प्रधानाध्यापकका रूपमा काम गरिन् । उनको नियुक्ति तीन प्रतिस्पर्धीबीचको खुला प्रतिस्पर्धामार्फत भएको हो । २०७१ सालमा खुला आयोगमा उनले मावि तहमा नाम निकालेकी थिइन् । २०६१ सालबाट शिक्षण पेसामा प्रवेश गरेकी हुन् । महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा पहिलो नियुक्ति भएपश्चात् उनले त्यहाँ १० वर्षसम्म स्वास्थ्य शिक्षा पढाइन् । २०७६ मा पौडेल विद्यालयको सहायक प्रधानाध्यापक नियुक्त भइन् । त्यतिबेला दरबार हाइस्कुलमा जम्मा ७१ जना विद्यार्थी मात्र थिए । त्यहाँ उनले अर्थशास्त्र पढाउन थालिन् । विगतमा शिक्षण पेसामा महिलाहरूको पकड कम रहेको र यस पेसामा रहेका महिला पनि प्रायः प्राथमिक तहसम्म मात्र सीमित रहने गरेको पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘महिलालाई विश्वासै गर्दैनन् अनि कहाँबाट आउँछ नेतृत्व गर्ने कन्फिडेन्ट ? घरपरिवारमा पनि सपोर्ट हुनुपर्‍यो ।’ 

पहिलेको सामाजिक संरचनाले महिलालाई पारिवारिक कार्यमा सीमित राख्यो, जसका कारण उनीहरूले आफ्नो पेसागत दक्षतामा पर्याप्त समय दिन सक्ने अवस्था नभएको उनले बताइन् । उनले भनिन, ‘सबै क्षेत्रमा जस्तै दरबार हाइस्कुलमा पनि महिलालाई नेतृत्व तहसम्म पुग्न धेरै समय लाग्यो ।’ 

विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई प्राविधिक धारमा लगेर सक्षम बनाउने उनको योजना छ । ‘म दरबार हाइस्कुललाई यस्तो विद्यालय बनाउन चाहन्छु जहाँका विद्यार्थीहरू औपचारिकतामा मात्रै होइन्,’ उनले भनिन्, ‘आत्मविश्वासी, सिपयुक्त र जीवनका अन्य क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सक्षम गर्न सकून् ।’ 

विद्यार्थीको प्राविधिक दक्षता बढाउनु उनको पहिलो प्राथमिकतामा छ । । विद्यालयमा थप ऐच्छिक विषय राख्ने उनको योजना छ । हाल विद्यालयमा १ हजार ९५ विद्यार्थी छन् । ‘नयाँ भूमिकामा जिम्मेवारी थपिनुका साथै आत्मविश्वासको पनि वृद्धि भएको छ,’ उनले सुनाइन् । 

सम्बन्धित खबर