२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन आज, परीक्षामा गगन–विश्वप्रकाश

shivam cement
जीवन शर्मा
२०८२ पुष २७ गते ०६:४०
Shares
कांग्रेस विशेष महाधिवेशन आज, परीक्षामा गगन–विश्वप्रकाश

काठमाडौं : लामो रस्साकस्सीपछि विशेष महाधिवेशन पक्षका नेताहरूले महाधिवेशनको अन्तिम तयारी पूरा गरेका छन् । आज भृकुटी मण्डपमा सुरु हुने विशेष महाधिवेशनको नेतृत्व महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेका हुन् ।  

विशेष महाधिवेशन राक्ने संस्थापन पक्षको चाहना पूरा नभएपछि संस्थापकै धेरै नेता विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । शनिबार सभापति शेरबहादुर देउवानिकटका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाउँदै  सहभागी हुने बताएका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधिको संख्या बढ्दै जाँदा विशेष महाधिवेशन पक्षधर नेताहरू उत्साहित छन् ।  महाधिवेशनमा ६० प्रतिश पर्‍याउन प्रयासका रहेका नेताहरूले विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनका रूपमा सम्पन्न गर्ने कि नेतृत्व परिवर्तन गरेर जाने भन्ने अन्योता हटाउन सकेका छैनन् । अधिकांश महाधिवेशन प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको माग लिएर महाधिवेशन हलमा प्रवेश गर्दै छन् ।

महामन्त्रीहरूले पनि नीति र नेतृत्व परिवर्तनको आह्वानसहित महाधिवेशन प्रतिनिधि बोलाएका छन् । तर महाधिवेशनको हलबाट प्रतिनिधिले नेता छान्ने प्रक्रिया अघि बढाउन चाहेको खण्डमा विशेष महाधिवेशनको नेतृत्व गरेका नेताहरूले के गर्छन् ? भन्ने कोणबाट व्यापक बहस भइरहेको छ । आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ । भृकुटीमण्डपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरे पनि संस्थापन पक्षले त्यसलाई अझै पत्याएको छैन ।

‘विशेष महाधिवेशनको माग गर्दा ५४ दशमलव ५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले संख्या झनै बढेको छ । हलमा ६० प्रतिशत पुुग्छ ।’ केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने । २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर गत असोज २९ गते केन्द्रीय समितिमा विशेष महाधिवेशन माग गरेका थिए । तर उनीहरूको पत्रलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छलफलमै ल्याएका छैनन् । बुधबार महामन्त्रीद्वय थापा र शर्माले औपचारिक विशेष महाधिवेशन आह्वान गरेका थिए । त्यो सँगै महाधिवेशनको माहोल एकाएक सशक्त बन्दै गएको छ । हल, बगैंचा, होटल, झाँकी, खाना, बास, यातायातदेखि प्रचारसम्मको तयारी सकिएका छन् । विशेष महाधिवेशनको मुख्य मक्सद नेतृत्व परिवर्तन गर्नु नै हो । जुन विषय महाधिवेशनको हलले के गर्छ भन्ने आमचासोको विषय छ । विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयनको विषयमा अझै निक्र्योल भइनसकेको नेताहरूले बताएका छन् ।

विशेष महाविधेशनको औचित्य समाप्त भएको भन्दै संस्थापनले पटकपटक लिखित चेतावनी दियो । चेतावनीका बीच महामन्त्रीसमेत घोषणा गरेरै विशेष महाधिवेशनको मैदानमा ओर्लिएका हुन् । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उनीनिकटका पूर्वपदाधिकारीहरूले  महाधिवेशन पक्षधरका नेताहरूको कदमलाई नजिकबाट हेरिरहेका छन् । महामन्त्री थापा र शर्माले पार्टीको विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनका रूपमा अघि बढाउने बताएका छन् । तर महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व परिवर्तनकै विषयमा ध्यान केन्द्रित गर्दै आएका छन् । उनीहरूले हलबाट नेतृत्व परिवर्तनको पक्षमा उभिए भने महामन्त्रीहरू के गर्छन् भन्ने परीक्षाको घडी सुरु भएको विश्लेषण हुँदै आएको छ ।  

भदौ २३ र २४ को जेनजी विद्रोहलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा विशेष महाधिवेशनको हलले सैद्धान्तिक अवधारणा पारित गर्ने नेताहरूले जनाएका छन् ।  ‘जसमा प्रजातन्त्र स्थापनायताका राजनीतिक परिवर्तनबाट संस्थागत भएका उपलब्धि रक्षाको प्रतिबद्धतासँगै शासनका क्रममा कांग्रेसले गरेका कमजोरीप्रति स्पष्ट क्षमायाचना समेत हुनेछ,’ नेता गुुरुराज घिमिरेले भने । त्यस्तै, संविधान संशोधनको आवाजलाई सैद्धान्तिक रूपमा विशेष महाधिवेशनले व्याख्या गर्नेछ । संविधान संशोधनको बहसलाई खुला राख्ने र सुधारका लागि नयाँ ढंगले जाने प्रतिबद्धतासँगै भ्रष्टाचारविरुद्ध निर्मम रहने राजनीतिक प्रतिबद्धता विशेष महाधिवेशनले पारित गर्ने तयारी गरेको छ ।  विशेष महाधिवेशनले पार्टी र सरकार सञ्चालनमा युवापुस्ताको प्रतिनिधित्व र भावना सम्बोधन गर्ने संकल्पसमेत गरिने प्रारम्भिक विषय तय भएको विशेष महाधिवेशनका अभियन्ता नेता देवराज चालिसेले बताए ।    

शीर्ष नेताहरूले विशेष महाधिवेशन रोक्न वा त्यसलाई संकल्प सभामा परिणत गराउन भने प्रयास जारी राखेका छन् । सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको पक्षमा छैनन् । मध्यमार्गी प्रस्ताव लिएर सबै पक्षसँग संवादमा रहेका नेताहरू सहमतिको चुरो नभेटिएको बताउँछन तर विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन नगर्ने दृढता पनि व्यक्त गर्छन् । ‘विशेष महाधिवेशन त रोक्न सकिएन तर नेतृत्व परिवर्तनकै विषय भृकुटीमण्डपको हलले पारित नगर्ला,’ केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए ।  नेता भण्डारी र सुनिल शर्माले केही दिनदेखि सभापति देउवा, संस्थापन इतरसमूहका नेता शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूलाई भेटेर पार्टीलाई एकताबद्ध राख्ने निरन्तर संवाद गरिरहेको बताए । 

विशेष महाधिवेशनको हलबाट नीतिसहित नेतृत्व परिवर्तनका पक्षमा प्रक्रिया अघि बढाउन चाहे त्यसबाट नेताहरू पछि हट्न नहुने वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । उनले मध्यान्हसँग भने, ‘अहिले विशेष महाधिवेशन पक्षको राजनीतिक जित भएको छ र संस्थापन पक्षको हार भएको भएको छ । यो अवस्थामा हलबाट नेतृत्व परिवर्तनकै पक्षमा निर्णय हुने भयो भने नेताहरूले इन्कार गर्न मिल्दैन ।’ तर नेता फेर्दा पार्टीमा चुनावको मुखमा कानुनी झमेला पनि आउन सक्ने र पार्टीलाई थप समस्यामा पार्नेमा नेताहरू सचेत छन् । समानुपातिक सूची बुझाएपछि प्रत्यक्ष निर्वाचनको टिकट टुंग्याउने चरणमा कांग्रेस छ । पार्टीको आधिकारिकता जाँच्नेगरी निर्वाचन आयोगदेखि अदालतसम्म विवाद पुगे यसैमा लामो समय लाग्नेछ । यस्तो विवादमा फसे कांग्रेसले निर्वाचनमा भाग लिने प्रक्रिया नै अवरुद्ध हुन सक्नेछ । यस्तो अवस्थाप्रति दुवैपक्ष सचेत हुनुपर्ने अवस्था रहेको मध्यमार्गी धारमा उभिएका नेताहरूले सुुझाव दिएका छन् ।

सम्बन्धित खबर