२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसमा नेतृत्वविरुद्ध शान्त विद्रोह, नीति र नेतृत्व बदल्ने मोडमा विशेष महाधिवेशन

shivam cement
जीवन शर्मा
२०८२ पुष २८ गते ०६:३५
Shares
कांग्रेसमा नेतृत्वविरुद्ध शान्त विद्रोह, नीति र नेतृत्व बदल्ने मोडमा विशेष महाधिवेशन

काठमाडौं : सभापति शेरबहादुर देउवासहित संस्थापन र शेखर कोइराला समूहको बहिष्कारबीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार सुरु भएको छ । ६२ प्रतिशतभन्दा धेरै प्रतिनिधिले हाजिरी जनाएपछि विशेष महाधिवेशन नीति र नेतृत्व बदल्ने मोडमा पुगेको छ । 

सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई निम्ता गरिए पनि शीर्ष नेताहरू सहभागी नभएका हुन् । कांग्रेसको हाल कायम रहेका १४ पदाधिकारीमा तीन पदाधिकारीबाहेक सबैले विशेष महाधिवेशन बहिष्कार गरे । मञ्चमा पदाधिकारी मध्य दुई महामन्त्रीका साथमा सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिए । केन्द्रीय सदस्यहरूमा भने संस्थापन र इतर दुुवै समूहका थिए ।

उद्घाटन सभामै महामन्त्री गगन थापाले अब कांग्रेसको नीति र नेतृत्वबारे निर्णय लिने जिम्मेवारी प्रतिनिधिको हातमा आइपुगेको बताइसकेका छन् । कांग्रेस नेतृत्वले अनेकवाहना निकालेर १५औं महाधिवेशनको समय गुजारेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा प्रतिनिधिले नै विशेष महाधिवेशन बोलाएका हुन् । बदलिँदो परिस्थितिमा पार्टीको नीति, नेतृत्व र कार्यशैली बदल्नुपर्छ भन्ने मान्यतासहित बोलाइएको विशेष महाधिवेशनको महामन्त्रीद्वय थापा र शर्माले बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । 

२३–२४ भदौको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा महाधिवेशनको रस्साकस्सी चलेको हो । २७ असोजमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर गएका थिए । त्यसको पर्सिपल्ट असोज २९ गते  ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कामार्फत निवेदन दर्ता गराएका थिए । तर झन्डै डेढ महिना केन्द्रीय समितिको बैठक बसे पनि कांग्रेस अनिर्णयको बन्दी बनिरह्यो । सिंगापुरबाट फर्किएपछि राष्ट्रिय राजनीतिमा सक्रियता देखाएका देउवाले चुनावअघि महाधिवेशन गर्न नसकिने अडान लिन थाले । संस्थापनको त्यो रबैयाबाट बिच्किएको इतर समूह विशेष महाधिवेशनको तयारीमा जुट्यो । अन्तिम समयमा वैशाखमा गर्नेगरी नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिए पनि विशेष रोकिएन । यसबीचमा कांग्रेसमा विशेष महाधिवेशन गर्ने र रोक्नेबीच लामो द्वन्द्व चर्किएको थियो । 

अन्ततः महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वविरुद्ध भृकुटीमण्डपबाट शान्त विद्रोह गरेका छन् । विशेष महाधिवेशन यो स्थितिमा आउने संस्थापन पक्षका कुनै नेताहरूले आँकलनसमेत गरेका थिएनन् । सभापति देउवानिकट मानिएका राजन केसी, डिला संग्रौला, उदय शमशेर राणा, आङ्गेलु शेर्पा, विनोद चौधरी नानु बास्तोलासहित ३० जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनमा सहभागी छन् । प्रतिनिधिहरूको शान्त विद्रोहपछि सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू नयाँ रणनीतिको तयारीमा छन् । 

भृकुटी मण्डपमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूको मनस्थिति नीति र नेतृत्व बदल्ने देखिन्छ । प्रतिनिधिहरूको भावनालाई संकेत गर्दै नेताहरूले समेत विशेष महाधिवेशनले विधानसम्मत रहेर नीति र नेतृत्व दुुवै बदल्ने कुरालाई मान्ने बताएका छन् । ‘तपाईंले विशेष महाधिवेशन माग्दै गर्दा नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग गर्नुभएको छ,’ उनले प्रतिनिधिलाई आश्वस्त पार्दै भने, ‘विशेष महाधिवेशनको हलले गर्ने निर्णय कहाँ गएर टुंगिन्छ त्यो मलाई पनि थाहा छैन । म पनि तपाईंहरूले बोलाएर आएको पाहुना हो । हलले जे निर्णय गर्छ, मेरा लागि त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नुपर्छ ।’ 

महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नामजस्तै विशेष बनाएर टंग्याउनुपर्ने बताए । ‘आजबाट नेपाली कांग्रेस पार्टीभित्र लामो समय जाम भएर बसेको पार्टी सञ्चालनको तरिका भत्कियो,’ उनले भने, ‘अबदेखि पार्टीका कुनै पनि सदस्यलाई कसैले पनि हेप्ने दिन गए ।’  महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मान्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठुलो कोही नभएको स्पष्ट पारे । महाधिवेशन प्रतिनिधिको भावनालाई समेटेर नीतिसहित नेतृत्व परिवर्तन स्वीकार्य हुने बताएका महामन्त्री थापाले नेतृत्व चयनको संकेत गरेका छन् । 

‘अहिलेको नवयुवामा आशा जगाइराख्न, भरोसा जोगाउन र युवालाई मुलुकमै बसिराख्ने बनाउन हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौं,’ उनले भने । कांग्रेसले नै २००७ सालदेखि नडगमगाई जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास उनले स्मरण गराए । कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको महामन्त्री थापाले  बताए ।  

महाधिवेशनस्थलबाट ६२ प्रतिशत महाधिवेशनले सहभागी भएको भनिए पनि त्यो संख्या सामान्य बहुमत वरपर रहेको स्रोतले बतायो । ‘विशेष महाधिवेशनको निर्णय गर्न आवश्यक बहुमत पुगेको छ,’ विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले भने, ‘महाधिवेशनको हलले गर्ने निर्णय नै सर्वस्वीकार्य हुने भएकाले नेताहरूले के भने भन्ने विषयका आधारमा मात्रै धारणा बन्दैन । विशेष महाधिवेशन हलमा बहुमत प्राप्त हुन्छ ।’ 

विशेष महाधिवेशन सचिवालयको दाबीअनुसार २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमतीबाट ४ सय ३२, गण्डकीबाट २ सय ९६, लुम्बिनीबाट ३ सय ९८, कर्णालीबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट १ सय ५८, उपत्यकाका तीन जिल्लाबाट १ सय ७८, भ्रातृ शुभेच्छुक र जनसम्पर्क समितिबाट १ सय ९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका हुन् । 

विशेष महाधिवेशनमा नागरिक असन्तुष्टिको ‘केस्राकेस्रा’ केलाइने महामन्त्री विश्वप्रकाश शर्माले बताए । आमनागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने उनको भनाइ छ । ‘तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,’ शर्माले भने, ‘फागुन २१ गते रुख चिह्नमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहोर्‍याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दै छौं । विशेष महाधिवेशनको हलले नीति र नेतृत्व परिवर्तन गर्ने भनेकाले हलको कुरालाई नेताहरूले स्वीकार गर्नुपर्छ ।’

महामन्त्री शर्माले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको प्रस्टीकरण दिए । उनले भने, ‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछ भन्ने लागेको होला, हामी सिंगो कांग्रेस र देशको नेतृत्व गर्नेगरी अघि बढेका छौं । विशेष महाधिवेशनको उपस्थिति कुनै भिड होइन ।’ विशेष महाधिवेशनको हलले जे निर्णय लिन्छ कांग्रेसको आगामी बाटो त्यही हुने बताए ।

सम्बन्धित खबर