२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

shivam cement
२०८२ पुष २९ गते १८:३६
Shares
टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

काठमाडौं : आइसिसी टी-२० विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय अभ्यास शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार टोलीले विश्वकपअघि श्रीलंका र भारतमा गरी कुल पाँच टी-२० अभ्यास खेल खेल्नेछ ।

स्वदेशमै दुई चरणको तयारी क्याम्प पूरा गरेपछि नेपाली टोली श्रीलंका प्रस्थान गर्नेछ । त्यहाँ श्रीलंका ‘ए’ टोलीसँग तीन वटा टी-२० अभ्यास खेल खेल्ने तालिका तय गरिएको छ । ती खेलहरू जनवरी २०, २२ र २४ तारिखमा हुनेछन् । यी खेलअघि टोलीले जनवरी १९, २१ र २३ मा अभ्यास सत्रहरूमा सहभागी हुनेछ ।

श्रीलंकामा अभ्यास खेल सकेपछि नेपाली टोली भारत जाने कार्यक्रम रहेको छ । भारतमा टोलीले मुम्बई क्रिकेट एसोसिएसनको एमसिए प्रेसिडेन्ट-११ टोलीसँग दुई वटा टी-२० अभ्यास खेल खेल्नेछ । पहिलो खेल जनवरी २९ मा दिनको समयमा हुनेछ भने दोस्रो खेल जनवरी ३१ मा दिन–रातको रूपमा सिसिआई मैदानमा आयोजना गरिनेछ । भारतमा टोलीले जनवरी २७ र २८ मा प्रशिक्षण अभ्यास गर्नेछ ।

टी-२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले गरेको ड्र अनुसार नेपाल समूह ‘सी’मा परेको हो । नेपाल रहेको समूहमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इंग्ल्यान्डसँगै बंगलादेश र इटाली छन् ।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा भारत, पाकिस्ता, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । समूह ‘बी’मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान परेका छन् भने समूह ‘डी’मा न्युजिल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन् ।

नेपालले इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा हुनेछ ।

नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल फेब्रुअरी १५ मा हुनेछ । यस्तै नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछ ।

नेपालले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपालले सुरुमा २०१४ मा विश्वकप खेलेको थियो त्यसपछि एकैपट २०२४ मा विश्वकप खेलेको नेपालले पुनः २०२६ मा विश्वकप खेल्न लागेको हो ।

भारत र पाकिस्तानबीचको खेल भने श्रीलंकाको राजधानी कोलम्बोमा राखिएको छ । भारतमा हुने खेल मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदावादमा हुनेछन् । श्रीलंकामा हुने खेल कोलम्बो र क्यान्डीमा हुनेछन् । अहमदावादमा फाइनल खेल हुनेछ । तर पाकिस्तानले फाइनलमा स्थान बनाए कोलोम्बोमा फाइनल खेल खेलाइनेछ ।

सम्बन्धित खबर