२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन : मिले अन्तरिम नेतृत्व, नमिले गगनको नेतृत्व

shivam cement
जीवन शर्मा
२०८२ पुष ३० गते ०६:३०
Shares
कांग्रेस विशेष महाधिवेशन : मिले अन्तरिम नेतृत्व, नमिले गगनको नेतृत्व

काठमाडौं : पार्टी संस्थापन र विशेष महाधिवेशन पक्षधरले मंगलबार रातभरमा विवाद नटुंग्याए नेपाली कांग्रेसले विभाजनको बाटो लिने देखिएको छ । अन्तरिम नेतृत्वबारे शीर्ष नेताले हठ नत्याग्दा फुटको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधर चुनाव रोकेर र संस्थापन केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर पटकपटक वार्तामा बसेका छन् । 

विशेष महाधिवेशनका प्रतिनिधिले नेतृत्व चयनका लागि नाराबाजी नै गरेका थिए । लगत्तै निर्वाचन प्रक्रिया अघि मात्र बढेन, राति ९ बजेबाट मतदान सुरु गर्ने तयारीसमेत भएको थियो । उता सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरुलाई कारबाही गरेर पार्टी विभाजन रोक्ने तयारीमा संस्थापन पक्ष थियो । सोही अनुसार, बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो । दुई पक्षबीच दिनभर तीन चरणमा वार्तापछि मतदान र बैठक दुवै भोलिका लागि सारिएको हो । तर, मंगलबार रातिसम्म संवादबाट कुनै निकास निस्किएको छैन् । विशेष महाधिवेशनको नेतृत्व गरेका महामन्त्री थापा र शर्माले मंगलबार साँझ बन्दसत्र समापनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिको मागअनुसार पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर जाने म्याण्डेटलाई स्वीकार गर्ने बताए । 

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशनको मागलाई पार्टीले आधिकारीकरूपमा अस्वीकार गर्दै नियमित महाधिवेशनलाई समेत पर धकेलेपछि यो अवस्था आएको हो । विशेष महाधिवेशनको बन्दसत्र सकिएसँगै बुधबार बिहानबाट नेतृत्व चयनको प्रकृयामा अघि बढ्ने भनिएको छ । संगसंगै विशेष महाधिवेशनलाई नयाँ ढंगबाट अवतरण गराउन नेताहरू दुई दिनदेखि दौडधुपमा छन् ।

विशेष महाधिवेशनका प्रतिनिधिहरूलाई अनौपचारिक रूपमा आन्तरिक समस्यालाई समाधान गर्दै दुबै तर्फको जित देखिनेगरी निश्कर्षमा पुग्न दुई पक्षका आठ नेता छलफलमा छन् । तथापि, कुनै निष्कर्ष आउन नसकेको वार्ता टोलीका सदस्य मधु आचार्यले बताए । उनले भने, ‘हामी मंगलबार बिहानदेखि नै सघन छलफलमै छौं । विशेष महाधिवेशनलाई स्वामित्व लिदै पार्टी नेतृत्वले राजिनामा दिनुपर्ने विषयमा केन्द्रीत छ । त्यसमा कुरा मिलेको छैन् ।’ 

द्विपक्षीय तनावका बीच बोलाइएको केन्द्रीय समितिको बैठक पनि बुधबार बिहान ८ बजेका लागि सारिएको छ । विशेष महाधिवेशन पक्षका नेताहरूले वार्ता र निर्वाचन प्रकृयालाई सँगसँगै अगाडी बढाइरहेका छन् । यसो हुँदा बुधबारसम्म सहमतिको निष्कर्ष ननिस्कीए विशेष महाधिवेशनबाट नेतृत्व छनोट हुने नेताहरूले बताए ।

विशेष पक्षधरबाट विशेष महाधिवेशनलाई नेतृत्वले स्वीकार गर्नुपर्ने, सभापतिले राजीनामा दिएर अन्तरिम कमिटी बनाउने र वैशाखमा नियमित महाधिवेशनको सुनिश्चितता गरिनुपर्ने, महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने, प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि सभापति शेरबहादुर देउवाले गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने, देउवाले आगामी निर्वाचन लड्न नपाउने मागसहित नेताहरू संवादमा थिए । तर, संस्थापन पक्ष अधिकांश विषयमा लचक भए पनि सभापति देउवाको राजीनामा र उनले चुनाव लड्न नपाउने माग अस्वीकार गर्दैआएको छ । मंगलबार रातीसम्म द्विपक्षीय वार्ता जारी छ । पार्टीलाई फुटबाट बचाउन बिहानसम्म सहमतिमा आउन सभापति देउवाले नेताहरूलाई सन्देश पठाएका छन् ।  वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य,देवराज चालिसे र गुरुराज घिमिरे छन् भने देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र डा मिनेन्द्र रिजाल सहभागी छन् । उनीहरूबीच पटक पटक संवाद हुने र शीर्ष नेताहरूलाई सुनाउने क्रम दिनभरी नै जारी रहेको थियो । 

महामन्त्री विश्वप्रकाश शर्माले भने संवादलाई खुल्ला राख्दै नेतृत्व चयनको कुरालाई अघि बढेको बताएका छन् ।  उनले आगामी सभापति र प्रधानमन्त्रीका रूपमा महामन्त्री गगन थापालाई अघि सार्ने उद्घोष महाधिवेशन हलमै गरेका छन् । बन्दसत्रको समापन गर्दै उनले भने, ‘नेपाली कांग्रेस गगन थापालाई सभापति र आगामी प्रधानमन्त्री लिएर आउँदैछ । यो बनेको डकुमेन्टको भावनालाई गाउँगाउँ जाऊ नेतृत्व बदल्दै गर्दा पार्टी विभाजन हुँदैन ।’

संस्थापन पक्ष भने महामन्त्रीद्वय गगन–विश्वको पछिल्लो गतिविधिलाई नजिकबाट नियाल्दै कस्तो एक्सन लिने भन्ने छलफलमा छ । कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले महामन्त्रीद्वयको निर्णय अनुसार पार्टीले कदम चाल्ने बताए । ‘महामन्त्रीहरूको आगामी निर्णयलाई हामीले नजिकबाट हेर्दै छौं’, उनले मध्यान्हसँग भने,  ‘उहाँहरू कसरी जानु हुन्छ  त्यसका आधारमा पार्टीले निर्णय लिन्छ । हामी पार्टी नफुटोस भनेर वार्ता र संवादको माध्यमबाटै निकास खोज्ने प्रयासमा छौं । उहाँहरू आउनुभएको छैन । दुबै समुहको वार्ता समितिका साथीहरूबीच छलफल चलिरहेकाले मिलनविन्दु खोज्ने प्रयास भइरहेको छ ।’

राजनीतिक रूपमा पार्टी विभाजन भइसकेकाले प्रविधिकरूपमा मात्रै फुटको घोषणा गर्न बाँकी रहेको विश्लेषकहरू बताउँछन् । कानुनका जानकारहरूले पनि विशेष महाधिवेशनलाई विधानसम्मत निर्णय भनेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसबाट चौधौँ महाधिवेशनका सभापति देउवाले वैधता र बहुमत दुवै गुमाइसकेको तर्क गरे ।  संविधानका प्रावधान बाध्यात्मक भइसकेपछि पार्टीको विधान पनि त्यहीअनुसार बनाइएको उनले बताए । 

पार्टीभित्र देखिएको पछिल्लो तनावपुर्ण अवस्थाका बारेमा नेताहरू चिन्तित देखिएका छन् । वार्ताबाटै सबै पक्षको भावनालाई समेटेर नेताहरूले कांग्रेसलाई एक ढिक्का देख्न चाहाने नेता कार्यकर्ताको मनस्थितिलाई आत्मसाथ गरेर निश्कर्षमा पुग्नुपर्ने केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताईन् । उनले भनिन, ‘नेताहरू वार्ता र संवादमै हुनुहुन्छ केही सकारात्मक सन्देश आउछ भन्ने आशामा छौं ।’ 

विशेष महाधिवेशनले नेतृत्व छनोट गरेर पार्टी कार्यालयमा जाने सम्भावनालाई दृष्टिगत गर्दै पार्टी कार्यालय कब्जा गर्न नदिन नेपाल तरूण दललगायत युवाहरू सुरक्षार्थ खटिएका छन् । कांग्रेस नेता एनपी साउदले महामन्त्रीहरू पनि पार्टी एकताको सम्मान गर्दै मिलेर सँगसँगै बस्ने संस्कृतिको हिस्सा बन्नुपर्ने बताउँछन् । ‘पार्टी विभाजनको डिलमा पुग्न लागेको छ । तर, संवादको माध्यमबाट एकता कायम राख्ने नेताहरूको प्रयास जारी छ ।’ 

विधानले दिएअनुसार उदारतापूर्वक अघि बढ्ने कुरामा नेतृत्व हर हमेशा सकारात्मक भएको उनको दाबी छ । ‘केन्द्रीय समितिले १५औं महाधिवेशनको तिथि मिति तोकेको छ । नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट हुन्छ ।’ पुसको महाधिवेशनको मिति महामन्त्रीहरूबाटै सारिएको उनले दाबी गरे ।  

विशेष महाधिवेशन विद्रोह हो– गगन थापा

महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर विद्रोह गरेको बताए । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे । 

कांग्रेस बदलीन तयार छ र बदलीएको कांग्रेसले मुलुक बदल्ने हो भनेर विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरू कांग्रेस बदल्ने संकल्प गरेको दाबी गरे । ‘हामीले कांग्रेसप्रति थप भरोशा जगायौं, कांग्रेसलाई उज्यालो बनायौं । कांग्रेस बदलीन तयार छ र बदलीएको कांग्रेसले मुलुक बदल्ने हो । त्यसमा हामी सबै तयार रहम्यौं ।’ 

पार्टीका शीर्ष नेताहरूबाट अझै पनि आफ्ना कुरा बुझ्ने प्रयास नभएको उनको भनाई छ । ‘नेतृत्व बदल्ने प्रकृया अघि बढीसकेको छ’, थापाले भने, ‘हामी एउटा विशिष्ट अवस्थामा छौं । यो नेतृत्वले निर्वाचन गराउँछन र केही महिनामा १५औं महाधिवेशन गराउँछ । यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’ 

आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको उनको भनाई छ । ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन’, उनले भने, ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ । कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस् । हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन ।’ कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न आवश्यक रहेको उनको भनाई छ ।

ताजा खबर

सम्बन्धित खबर