२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा अर्घाखाँचीका खनालको उम्मेदवारी घोषणा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ पुष ३० गते २१:३६
Shares
निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा अर्घाखाँचीका खनालको उम्मेदवारी घोषणा

अर्घाखाँची : नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा अर्घाखाँचीका युवा निर्माण व्यवसायी कबिराम खनालले उम्मेदवारी घोषणा गरेका छन् । 

ncell

खनालले महासंघको केन्द्रीय सदस्य हुँदा गर्ने कामहरूको योजना सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अर्घाखाँचीको महासंघ सभाहलमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष वरिष्ठ व्यवसायी बसन्त भुसाल लगायतका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

खनालका अनुसार उनी निर्माण व्यवसायी महासंघको संस्थापक सदस्य हुन् र स्थापना कालदेखि महासंघ तथा व्यवसायीहरूको हकहित र गरिमाका लागि निरन्तर काम गर्दै आएका छन् । अब उनी केन्द्रीय सदस्य भएर अर्घाखाँचीबाट व्यवसायीहरूको अधिकार र हितको काम गर्ने उद्देश्य राखेका छन् । 

कार्यक्रममा उपस्थित वरिष्ठ व्यवसायी भुसालले भने, ‘महासंघको उद्देश्य प्रभावित भएको अवस्थामा अर्घाखाँचीबाट सदस्य घोषणा गर्नु व्यवसायीहरूको हितमा सकारात्मक कदम हो ।’

उम्मेदवार खनालले भने, ‘मेरो पहिलो उद्देश्य गुणस्तरीय काम सम्पन्न गर्ने र व्यवसायीहरूको उत्थानमा योगदान पुर्‍याउने हो । महासंघको नेतृत्वमा रहन मेरो चाहना मात्र होइन, समय र परिस्थितिले ल्याएको जिम्मेवारी हो । सरकारसँग सहकार्य गरेर विकास निर्माणका कामहरू सम्पन्न गर्ने र जनतासँग नजिक रहने मेरो प्राथमिकता हो ।’

खनालले आफूविरुद्ध मैदानमा उत्रिने व्यवसायीप्रति कुनै गुनासो नरहेको स्पष्ट पारे। उनका अनुसार क्षमता, योग्यता, मत र विश्वासको आधारमा नेतृत्व चयन हुने छ । खनालसँग अर्घाखाँची महासंघमा दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल सहअध्यक्ष, र एक कार्यकाल सदस्यको अनुभव छ ।

निर्माण व्यवसायी महासंघको महाधिवेशन माघ १४ देखि १७ सम्म काठमाडौंमा हुनेछ । महाधिवेशनका लागि अध्यक्ष बसन्त भुसाल, पूर्वअध्यक्ष ऋषिराम अधिकारी, महासचिव केशब रिजाल, खगिश्वर बस्याल र कबिराम खनाल केन्द्रीय प्रतिनिधि चयन भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर