
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टी विभाजन भएको छ । पार्टी विभाजनले औपचारिकता नपाए पनि दुबै समूह अहिले कानुनी लडाइँमा छन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनको नेतृत्व गरेका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुधबार नै बुझाएको छ । नेताहरुमाथिको कारबाहीलगत्तै विशेष महाधिवेशनको हलबाट नयाँ नेतृत्व चयन गरेपछि को आधिकारिक कांग्रेस ? भन्ने कानुनी लडाइँ सुरु भएको छ ।
पार्टी दुई समूहमा विभाजन हुँदा धेरैजसो पुराना नेताहरू संस्थापन पक्षसँगै रहेका भएपनि अधिकांश युवा नेताहरू नयाँ कार्यसमितिमा छन् । उनीहरूले आफूलाई पार्टीको संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन् ।
विशेष महाधिवेशनमार्फत रूपान्तरित र पुनर्जाग्रित कांग्रेस निर्माणका लागि सभापति गगन थापाको नेतृत्वमा पार्टी अघि बढाउने उद्घोषका साथ केही पाका नेताहरू पनि लागेका छन् भने अधिकांश युवा नेताहरूले साथ दिएका हुन् ।
यो समूहलाई साथ दिने नेताहरूमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल,गुरुराज घिमिरे, डा. डिला संग्रौदला, उदय शम्शेर राण, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, राजेन्द्र कुमार केसी, हृदयराम थानि, विनोद चौधरी, देवराज चालिसे, मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायत छन् । उनीहरू नागरिकमाझ लोकप्रिय छन् ।
त्यस्तै शेरबहादुर देउवा सभापति कायम रहेको कांग्रेस नै संस्थापन हो भन्ने दाबी गर्दै आएको समूहमा सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, एनपी साउद, आरजु राणा देउवा, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, जीवन परियार, बद्री पाण्डे, डिना उपाध्याय, मोहन बस्नेत, ज्ञानेनद्र बहादुर कार्कीलगायत नेताहरू छन् ।
दुबै समूहका नेताहरूले निर्वाचन आयोगले आफ्नै पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता दिने दाबी गरेका छन् । पार्टीको १५औं महाधिवेशन प्रतिनिधि सभाको निर्वाचन अघि कि पछि गर्ने भन्ने विवाद चुलिदै जाँदा महाधिवेशनको समय घर्कियो । त्यो सँगै १४औं महाधिवेशनका प्रतिनिधिहरूमध्ये ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेका थिए ।
तर संस्थापन पक्षले त्यसलाई अस्वीकार गर्दै पार्टीको छलफलमा समेत नल्याएपछि विशेष पक्षधर नेताहरू थप रिसाएका थिए । विशेष महाधिवेशनले नेतृत्व छनोट र संस्थापन पक्षले विशेष महाधिवेशन पक्षमा लागेका नेताहरूमाथि कारबाहीको डण्डा चलाएपछि नेपाली कांग्रेस विभाजन भएको हो ।