२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

निर्वाचन आयोगको निर्णय खारेज गर्छौं, वैधानिक लडाइँ लड्छौं : पूर्णबहादुर खड्का

shivam cement
२०८२ माघ २ गते २०:२०
Shares
निर्वाचन आयोगको निर्णय खारेज गर्छौं, वैधानिक लडाइँ लड्छौं : पूर्णबहादुर खड्का

काठमाडौं : निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले उक्त निर्णय अस्वीकार गरेको छ । देउवा पक्षका नेता तथा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय षड्यन्त्रपूर्वक र प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुरा गर्दै खड्काले निर्वाचन आयोगको निर्णय खारेज गर्न कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताए ।

‘हामी वैधानिक कानुनी लडाइँ सबै लड्छौं । यो निर्णय धेरै समयअघिदेखि नै सेटिङ भएको आशंका थियो,’ उनले भने, ‘एक पक्षले मात्रै दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण छ । यस्तो षड्यन्त्रपूर्ण निर्णय हामी खारेज गर्छौं ।’

उनले आधिकारिक रूपमा निर्वाचित समितिलाई आयोगले एकपटक पनि नसुनी निर्णय गरेकोप्रति असन्तुष्टि जनाए । ‘निर्वाचन आयोगले कानुनी रूपमा निर्वाचित समितिलाई बोलाएर समेत नसुनी निर्णय गर्नु गम्भीर त्रुटि हो,’ खड्काले भने ।

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापतिमा आधिकारिकता दिएको थियो । आयोगको उक्त निर्णय सार्वजनिक भएपछि देउवा पक्ष आक्रोशित बनेको हो ।

खड्काले आयोगको निर्णय अघिल्ला दलसम्बन्धी विवादहरूमा आएको फैसलासँग समेत बाझिएको दाबी गरे ।

‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ । अघिल्ला विवादहरूमा आएको निर्णयभन्दा विपरीत निर्णय गरिएको छ,’ उनले भने, ‘त्यसैले यो निर्णय नेपाली कांग्रेसले अमान्य ठहर गर्छ ।’

अबको रणनीतिबारे उनले बैठक बसेर थप निर्णय गरिने जानकारी दिए ।

‘राजनीतिक, वैधानिक सबै किसिमका लडाइँ लडिन्छ । त्यसको स्वरूप के हुन्छ भन्ने विषयमा बैठक बसेर निर्णय गर्छौं,’ उनले बताए ।

उनले निर्वाचन आयोगको निर्णयमा सेटिङ भएको आशंका समेत दोहोर्‍याए ।

सम्बन्धित खबर