२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

होटल व्यवसायबाट मनग्य आम्दानी गर्दै अर्घाखाँचीका अर्जुन पोख्रेल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ ३ गते २०:४२
Shares
होटल व्यवसायबाट मनग्य आम्दानी गर्दै अर्घाखाँचीका अर्जुन पोख्रेल

अर्घाखाँची : ‘कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन’ भन्ने भनाइ पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा होटल व्यवसाय सञ्चालन गर्दै आएका ४१ वर्षीय अर्जुन पोख्रेलको जीवनले स्पष्ट पारेको छ । २५ वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका पोख्रेल मिहिनेती व्यवसायीका रूपमा परिचित छन् । बिहान ६ बजेदेखि साँझ ९ बजेसम्मको समय सामाजिक तथा राजनीतिक कामसँगै  होटलमा आउने ग्राहकको सेवा सत्कारमा बिताउँछन् उनी ।

उनले होटल व्यवसायबाट दैनिक ३० हजार रूपैयाँ बढीको कारोबार गर्दै आएको बताउँछन् । होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्रीलगायतको खर्च कटाएर ५ हजारदेखि ७ हजारसम्म रुपैयाँ पोख्रेलले दैनिक आम्दानी गर्दै आएका छन् । नम्र स्वभावका पोख्रेलको होटेलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति, पर्यटकलगायतका आउने गर्छन् । 

‘महिनामा २० देखि २५ लाख रुपैयाँसम्मको होटलबाट कारोबार हुने गरेको छ,’ पोख्रेलले  भने, त्यसबाट २ लाख रुपैयाँ जति मेरा लागि महिनाको आम्दानी हुन्छ, केहीलाई रोजगारी पनि दिएको छु ।’

होटलको कमाइबाटै पोख्रेलले घर खर्चसँगै औषधिउपचार, लुगाफाटो, खाद्यान्न सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्च, राजनीतिक दौडधुप खर्चलगायतको व्यवस्था मिलाउँदै आएको बताए । काठमाडौंमा २० वर्ष होटल व्यवसाय गरेका उनले पाणिनिको दुर्गाफाँटमा राजनीति गर्ने र व्यवसाय गर्ने उद्देश्यले सो होटल सञ्चालनमा ल्याएका हुन् । ग्राहकले खाना र नास्ता रुचाउन थालेपछि अहिले आम्दानी पनि बढ्दै गएको उनको भनाइ छ ।

अहिले उनले होटलका शाखासमेत विस्तार गर्न लागेको बताएका छन् । अरूलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेसाप्रतिको लगाव बढ्दै आएको उनले बताए ।

पाणिनि तपोभूमि, दह, दुर्वाशेश्वर गुफा धार्मिक क्षेत्र सुपादेउराली मन्दिरसम्म पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटकको मुख्य रोजाइ अर्गानिक खाना हुने गरेको पोख्रेलको भनाइ छ ।

पछिल्लो समय आन्तरिक पर्यटक बिदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र अर्गानिक परिकारको स्वाद लिँदै रमाउने परिपाटी बढिरहेको छ । पछिल्लो समय अर्घाखाँचीका युवाहरूमा कृषिसँगै रिसोर्ट होटल सञ्चालन गर्ने लहर पनि चलेको देखिन्छ ।

आम्दानी लिन सहरमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेका छन् व्यवसायी पोख्रेलले । आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा बस्नका लागि अत्यन्त सुविधाजनक कोठा, लोकल खसीबोका, स्थानीय जातका कुखुरा, कालिज, माछा र अन्य अर्गानिक स्वादको विषयमा यात्रु तथा अन्य मानिसले समेत प्रशंसा गर्ने गरेको सन्धिखर्क ६ का स्थानीय दीपक पाण्डेको भनाइ छ  । 

सुन्दर फाँट रहेको दुर्गा खोलामा कलकल बगेको पानी र चारैतिर हरियाली फाटहरू हेर्न, चराचुरंगीको आवाज सुन्न तथा शिरानतर्फ दुर्वाशेश्वर मन्दिरनजिकै दृश्यावलोकन गर्न पाउँदा झन् मन आनन्दित हुने बुटबलका रमेश पोख्रेलले पनि बताए । शान्त वातावरणमा शुद्ध अर्गानिक परिकारको स्वादले अर्घाखाँची भ्रमणमा पुग्ने जोकोहीलाई सगुनले मोहित  पार्ने उनको भनाइ छ ।

करिब १ करोड ३० लाख रुपैयाँको लगानीमा बनेको रिसोर्टमा पाइने अधिकांश परिकार स्थानीय उत्पादन रहेको र अझै लगानी थप गर्ने योजना भएको समेत सञ्चालक पोख्रेलले बताए । सो रिसोर्टमा विभिन्न कार्यक्रम गर्न सकिने हिसाबले समेत सुविधासम्पन्न हल र एसी रुमको व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।

सम्बन्धित खबर