
काठमाडौं : निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । सर्वोच्च अदालत प्रशासनले उक्त रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ ।
निर्वाचन आयोगको माघ २ गतेको निर्णय संविधान, प्रचलित कानुन तथा नेपाली कांग्रेसको विधानविपरीत रहेको दाबी गर्दै देउवा पक्षले सो निर्णय बदरको माग गरेको हो ।
रिट निवेदकका रूपमा पूर्वसभापति देउवा रहेका छन् । रिटमा निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको छ ।
आइतबार बिहान तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका थिए । यद्यपि शेखर कोइराला समूहका नेताहरू भने रिट दर्ताका क्रममा सर्वोच्च पुगेनन् ।
रिट तत्कालै पेसी चढाउन आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले नियमावलीका कारण सोही दिन सम्भव नहुने जानकारी दिएको थियो । निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा गए नेपाली कांग्रेसको ठुलो हिस्सा पार्टीविहीन हुने र आगामी निर्वाचन प्रक्रियाबाटै वञ्चित हुने अवस्था आउन सक्ने देउवा पक्षको दाबी छ ।