२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चुनावी चहलपहल, टिकटको झमेलामा दलहरू

shivam cement
जीवन शर्मा
२०८२ माघ ५ गते ०६:२५
Shares
चुनावी चहलपहल, टिकटको झमेलामा दलहरू

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचन आउन ४६ दिन बाँकी छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा गराउने निर्वाचनका लागि शान्ति सुरक्षादेखि मतपत्र छपाइलगायत निर्वाचनपूर्वका गर्नुपर्ने सबै तयारी तीव्रताका साथ गर्दै छ । 

राजनीतिक दलले समेत निर्वाचनको तयारीमा छन् । समानुपतिक उम्मेदवारको बन्द सूची बुझाएर प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । यद्यपि मुलुकको राजनीतिक ठेक्का नै लिएजस्तो गर्ने ठुला र पुराना राजनीतिक दलमा आन्तरिक झगडाको आगो निभ्न सकेको छैन । 

जब निर्वाचन आउँछ, तब टिकट वितरणको विषयलाई लिएर दलबीचको आन्तरिक असन्तुष्टिको ग्राफ बढ्ने पुरानै रोग हो । तर यसपटक टिकट वितरणको मात्रै नभई पार्टीको आन्तरिक महाधिवेशनबाट भित्रिएको अन्तर कहलले ठुला दल सिकिस्त छन् । जेनजी आन्दोलनबाट अपदस्त सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्ता सहयात्री नेपाली कांग्रेसभित्रको गुटगत असझदारीले उनीहरू थलिँदै गएका हुन् । जेनजी आन्दोलनबाट सरकार ढलेसँगै बनेको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फगुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनबाट बढी सिट लिएर आगामी सरकार गठनका लागि तयारी गर्नुपर्ने यी दलहरूमा आन्तरिक विवाद समाधान नहुँदा नवउदित दल र नेताहरूको पल्लाभारी हुने सम्भावना बढ्दै गएको विश्लेषण भइरहेको छ । 

निर्वाचन कार्यतालिका निर्वाचनमा भाग लिने दलले गर्नुपर्ने सबै कामहरू गर्दै आएको नेताहरूले बताएका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपासहितका दलहरूले प्रत्यक्षतर्फको उम्मेदवार छान्ने काम करिब अन्मित चरणमा पर्‍याएको बताए । नेकपा, रास्वपासहितका दलको आन्तरिक झमेला कम छ । नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि चुलिएको छ । त्यस्तै विघटित प्रतिनिधि सभाको पहिलो ठुलो दल नेपाली कांग्रेसको आन्तरिक द्वन्द्वले चरम चुली नाघेको छ । सो दलको पछिल्लो गतिविधिले निर्वाचन नै प्रभावित हुन सक्ने संकेत गरेको छ । 

पार्टीको १५औं नियसमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व छानेर निर्वाचनको माहोललाई तताउने योजना बनाएको कांग्रेस दुई चिरामा विभक्त छ । आधिकारिक रूपमा पार्टी नफुटे पनि विशेष महाधिवेशनको सन्दर्भलाई लिएर ततत्कालीन सभापति शेरबहादुर देउवा र गगन थापा समूहबीच पानीबाराबारको स्थिति छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई नै आधिकारिकता दिए पनि देउवा समूहका नेता त्यसको काउन्टर अट्याकमा उत्रिएका छन् । शुक्रबार पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन गएका थिए ।  

तर आयोगले सोही दिन गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई नै आधिकारिकता दिएपछि आक्रोशित देउवा पक्षका नेताहरू आइतबार सर्वोच्व गएका हुन् ।  निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च गएका नेतालाई अदालतले रिट दायर भएकै दिन सुनुवाइ गर्न नमिल्ने कानुनी व्यवस्था देखाएर पन्छाइदिएको छ । सोमबार सार्वजनिक बिदा परेकाले सो रिटका विषयमा कुनै सुनुवाइ हुने कुरा भएन । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारको मनोनयन भएकाले कांग्रेसको आधिकारिकता दाबी गर्दै अदालत गएका देउवा पक्षका नेताहरू विलख बन्धनमा परेका छन् । 

रिट दायरपछि उनीहरूले पुनः निर्वाचन आयोगमा पुगेर सर्वोच्चको निर्णय नआउँदासम्म निर्वाचनसम्बन्धी प्रक्रिया स्थगन गर्न माग गरिए पनि आयोगले दलहरूको आग्रहलाई बेवास्ता गरेको नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले बताए । उनले भने, ‘पार्टीमा महाधिवेशन र विशेष महाधिवेशनको सन्दर्भमा विवाद उत्पन्न भएपछि अदालतसम्म गएको छ । अदालतले सुनुवाइ पेसी ६ गतेलाई राखेको छ । अरू दलहरूसमेत टिकट टुंगो नलगाएकाले निर्वाचन आयोगसँग मनोनयनको समय थप गर्न दलहरूले माग गरे पनि आयोगले समय दिएन ।’ उनी तत्कालीन संस्थापन पक्षमा लागे पनि पार्टीले टिकट दिएको खण्डमा चुनाव लड्ने मनशायमा छन् । नवलपरासीबाट एकल नाम सिफरिस भएका कँडेल सभापति गगन थापाले टिकट दिनेमा आशावादी छन् ।  

निर्वाचन आयोगले मनोनयन दर्ताको समय थप नगरेसँगै सबैभन्दा मारमा कांग्रेस परेको छ । सो दललाई एक दिनभित्र १ सय ६५ निर्वाचन क्षत्रका उम्मेदवार टुंगो लगाएर सम्बन्धित क्षेत्रबाट मनोनयन दर्ता गर्न पठाउनुपर्ने दबाब छ । कांग्रेसले पुस ११ गतेभित्रै सम्भावित आकांक्षीको नाम पठाएको छ । तर ती विवरण पार्टीको केन्द्रीय कार्यालयमा भएको र विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई देउवा पक्षले पार्टी कार्यालयमा जान रोक लगाएको छ । तर पार्टीलाई चुनाव जिताउनेगरी लाग्न नेताहरूले मापदण्ड बनाएर टिकट वितरण गर्ने केन्द्रीय सदस्य सुवास पोखरेलले बताए । उनले भने, ‘भूगोलबाट आएका सिफारिसहरूकै आधारमा टिकट वितरण हुन्छ । केही नेताहरूका क्षेत्र मिलाउनुपर्ने विषयमा समेत छलफल भइरहेको छ । असन्तुष्ट पक्षका नेताहरूलाई समेत समेटेर सोमबारसम्म उम्मेदवार टुंगो लगाउँछौं ।’ 

यता एमालेभित्र उम्मेदवारको विषयलाई लिएर तनाव सिर्जना भएको छ । एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । जसमा ६० प्रतिशत उम्मेदवार २०७९ र त्यसपछिका उपनिर्वाचनमा समेत सहभागी नभएका अनुहार रहेका छन् । हालसम्म एमालेले १ सय ४१ वटा क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ । त्यसमध्ये ८५ क्षेत्रका लागि नयाँ उम्मेदवार रहेका छन् । बाँकी २४ क्षेत्रमा भने उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन् ।

एमालेले टिकट वितरण गरेको विषयमा पार्टीभित्र चर्को विरोध भएको छ । पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको पक्षधरता र गुटगत भावना हाबी भएको एमाले उपमहासचिव योगेश भट्टराईले टिप्पणी गरे । 

प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार छनोट गर्दा विविधताबीच एकतालाई नजरअन्दाज गरिएको र यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने काम गरेको उनको जिकिर गर्दै टिकट वितरणको निर्णयलाई ‘गम्भीर भुल’का रूपमा व्याख्या गरेका छन् । ‘कुनै ठाउँमा त्यही विशेषताको व्यक्तिलाई उम्मेदवारी दिइएको छ भने अर्को ठाउँमा त्यस्तै विशेषता भएको व्यक्तिलाई वञ्चित गरिएको छ,’ भट्टराईले भनेका छन्, ‘यसले गर्दा पार्टीको निर्णयप्रति देशव्यापी रूपमा एक स्वरले समर्थन प्राप्त हुन सकेको देखिँदैन । टिकट वितरणको यो निर्णय ‘गम्भीर भुल’ भएको छ ।’ यस्तै, प्रभावशाली नेताहरूले असुरक्षित महसुस गर्दै पुरानो निर्वाचन क्षेत्र छाडेर ‘सुरक्षित क्षेत्र’तिर लागेको विषयमा पनि भट्टराईले टिप्पणी गरेका छन् । 

टिकट वितरणकै विषयमा एमाले ओखलढुंगाले तीव्र असन्तुष्टि जनाएको छ । जिल्ला कमिटीले पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णय गुटगत र कार्यकर्ताको भावनाविपरीत भएको भन्दै आधिकारिक उम्मेदवारलाई नसघाउने औपचारिक निर्णय नै गरेको एमाले ओखलढुंगाका अध्यक्ष जिबी खड्काले बताए । ‘जिल्ला कमिटीले निर्वाचनका लागि १८ जना आकांक्षीमध्ये पाँच जनाको नाम सिफरिस थियो,’ उनले भने, ‘सिफारिस गरिएका कोही पनि परेनन् । चुनावै लड्दिनँ भन्ने मान्छेलाई ओलीले माथिबाट टिकट पठाए । यो एमालेको उम्मेदवार होइन, केपी ओलीको उम्मेदवार हो । हामी सहयोग गर्न सक्दैनौं ।’ एमाले ओखलढुंगाले ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जिबी), नानीबाबु बुढाथोकीको नाम सिफारिस गरे पनि ओलीले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई टिकट दिएपछि बबन्डर भएको हो ।

सम्बन्धित खबर