– धनराज गिरी
“के तपाईं सत्याको सामना गर्न सक्नुहुन्छ ?”, छोरो आदर्शले पिता प्रोफेसर सज्जननारायण बिन्दासलाई सोध्यो । के सुरमा थियो कुन्नि प्रोफेसर, पुलुक्क छोराको मुखमा पर्यो । छोरो अलि गम्भीर देखियो । साेंच्यो प्रोफेसरले, “किन यो प्रश्न गर्यो आज छोराले ? के कुराले फेरि यसलाई विदुर र मलाई देवव्रत बनायो ?”
बोल्यो, “अरे सुपुत्र, कुलदीपक, आलोचना त अमृत हो, यदि आलोचना गर्ने मानिसको नियत कालो होइन भने,आज यो प्रश्न किन छोरा ?”
“बा, आफू अनुकूल कमेन्ट नहुने बित्तिकै अमित्र गर्ने, ब्लक गर्ने, यस्ता फेसबुके उपब्रुजुकहरूलाई के भन्ने ? फरक मत देख्न नसक्ने ? ल भन्नुहोस्, हजुरलाई जीवनमा कस्को कस्को आलोचनाले सही मार्ग देखायो । मनमा छाप बस्यो ?”
“कहानी चालीस वर्ष अघिको हो छोरा, मेरो जीवनकथा त तिमीहरूलाई थाहा छ । सात कक्षाको गणितको अध्यापन गर्ने क्रममा एक पाका निरीक्षकको आगमन भयो । पुरै कक्षा अवलोकन गरेर अफिसमा आएपछि सम्झाएर भन्नुभयो, बिन्दास सर, मलाई हजुरको ज्ञान र शैली देखेर लोभ लाग्यो । यो उमेरमा यो क्षमता, तपाईं यो क्षेत्रको अब्बल गुरू हुने कुरा पक्का तर,एक कमजोरी, अलि द्रूत गति भया । कमजोर चेलाचेलीले मेसो नपाउने जोखिम हुन्छ, अलि बिस्तारै सिकाए उत्तम !” मानियो । गणितको नतिजा अब्बल रह्यो । छोराछोरीलाई पनि थाहा छ, बा के हो भन्नु पर्दैन ! ती पहिलो देवदूत ! दोस्रो देवदूत बनेर आए एक असल गुरू, साहित्यिक गुरू ! छोरा, यतिखेर मात्र होइन, आलोचना पचाउन नसकेर, आफ्नो अयोग्यता थाहा नभएर, धेरै–धेरै असाहित्यिक पात्रहरू मूर्ख बनेका छन् ।”
उनले अगाडि भन्दै गए, “उही प्रश्नको ट्याग पनि नजानी अङ्ग्रेजी गुरू भए जस्तो । वाह वाह, सबै सक्कली हुन्नन्, कुन ल्याकतको पात्रले वाह वाही गर्यो र किन गर्यो, थाहा पाउनु पर्दछ । तर यहाँ सबै सम, सबै शिरोमणि, सबै देवकोटा र भानु, रदिफ र काफिया मिलाए मोतीराम, गालिब ! मलाई पनि वाह वाहीले एम्बुशमा पारेको नि ! तर एक देवदूत आए जिन्दगीमा । तिमीले चिनेका छौ, म राम, उनी परशुराम, दशरथ, उनै देवदूतले निस्वार्थ पाराले, कत्ति पनि झ्याउ नमानी मलाई साहित्यिक अमृत पिलाउनुभयो । मलाई पनि मेरो अयोग्यता थाहा थियो, तर अति नाम कमाइयो, कमाएको हो, यो सत्य हो ! देवदूतले भनेपछि बेझिझक मैले त्यो पगरी स्वीकार गरेँ, छोरा, म कवि होइन, केही पनि होइन ! हो,एक सफल गणित गुरू र असल र सज्जनहरूको लागि सज्जन र असल पक्का हुँ । मलाई आज पनि ती तीन देवदूतहरूको सम्झना आइरहेछ । म स्वस्थ आलोचना सुन्छु र गर्छु पनि । मनमा घमण्ड र दम्भ हुने अभिशप्त पात्रले मात्र आलोचना नपचाउने हो छोरा ! आलोचना अमृत हो, विदुर वचन हो, गोविन्द गीता हो !”
“नमन पिताश्री, फेसबुक मात्र त्यागे हजुर पनि फरिस्ता हो, गर्व छ हामीलाई हजुरको दोस्रो पुस्ता हुन पाएकोमा !”
यो बाउलाई पनि के घुस खुवाएको, तिमीहरूको मिठो बोली र उज्यालो अनुहार भए म दोब्बर बिन्दास, म बिन्दास,आमा प्रफुल्ल ! आदर्श घामभन्दा पहिले पढ्न थाल्यो । प्रोफेसर बिन्दास गजल लेख्न थाल्यो । तीन देवदूत झलझली दुई नयनमा ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies