
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
प्रचण्डले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै प्रचण्डले सो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए ।
यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका प्रचण्डले यसपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजेका हुन् ।
मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । देशभर आजै प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन् ।