२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा, देउवा र खनाल बाहिरै

shivam cement
२०८२ माघ ६ गते १७:१३
Shares
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा, देउवा र खनाल बाहिरै

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना पूर्वप्रधानमन्त्री प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विभिन्न दलका शीर्ष नेताहरू आ–आफ्ना परम्परागत र रणनीतिक क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनावी मैदानमा छन् भने सोही पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

यसअघि २०७९ सालको आमनिर्वाचनमा ओली झापा–५, प्रचण्ड गोरखा–२ तथा नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । त्यतिबेला डा. भट्टराईले आफू विजयी हुँदै आएको क्षेत्र छाडेर प्रचण्डलाई सहयोग गरेका थिए ।

यसपटक भने नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रतिस्पर्धामा उत्रिएका छैनन् । २०४८ सालदेखि लगातार डडेलधुरा निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका देउवाले ३५ वर्ष लामो संसदीय राजनीतिक यात्रामा यसपटक विश्राम लिएका हुन् । पार्टीको विशेष महाधिवेशनसँग जोडिएको विवाद र सर्वोच्च अदालतमा चलिरहेको कानुनी प्रतिवादका कारण कांग्रेसले उनलाई उम्मेदवार नबनाउने निर्णय गरेको बताइएको छ ।

यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यसपटक चुनावी मैदानमा देखिएका छैनन् । एमाले र एकीकृत समाजवादीमा रहँदा इलाम क्षेत्र नम्बर १ बाट पटक–पटक चुनाव लड्दै आएका खनालको सट्टा नेकपाले उक्त क्षेत्रमा पूर्वमेयर रणबहादुर राईलाई उम्मेदवार बनाएको छ ।

देउवा र खनाल चुनावी प्रतिस्पर्धाबाट बाहिरिँदा ओली, प्रचण्ड, नेपाल र भट्टराई भने प्रतिनिधिसभा प्रवेशका लागि पुनः जनमत माग्न मैदानमा उत्रिएका छन् । शीर्ष तहका नेताहरूको प्रत्यक्ष प्रतिस्पर्धाले यसपटकको निर्वाचन थप चासो र चर्चाको केन्द्र बनेको छ ।

सम्बन्धित खबर