२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १८:३०
पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं : नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दुरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए ।

पेरिसमा एलेक्सले तेस्रो हितमा प्रतिस्पर्धा गरेका थिए । हितमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धी मध्ये तेस्रो भए । समग्रमा भने एलेक्जेन्डर ५९ औं स्थानमा रहे । १० चरणको हितमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हितमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

नेपाली चर्चित पौडी खेलाडी सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि राष्ट्रिय कीर्तिमानधारी हुन् । उनको नाममा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । २५ मिटर लम्बाइको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा एलेक्जेन्डरको नाममा ४ राष्ट्रिय कीर्तिमान छ । उनको नाममा ५०/१०० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा गरी ४ राष्ट्रिय कीर्तिमान छ । चारै कीर्तिमान एलेक्जेन्डरले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।

एलेक्जेन्डरको यो दोस्रो ओलम्पिक हो । टोकिया ओलम्पिक– २०२० मा पनि सहभागी एलेक्जेन्डरले उद्घाटन समारोहको मार्च पास्टमा सागको एकै संस्करणमा स्वर्ण जितेकी गौरिका सिंहसंगै राष्ट्रिय झण्डा बोकेका थिए । पौडीमा एलेक्जेन्डरसहित २ ओलम्पिक खेल्ने ३ खेलाडी छन् । तीनैले लगातार ओलम्पिक खेलेका छन् । प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिकाले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सबै भन्दा बढी ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी भने पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

दक्षिण कोरिको ग्वाङजुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनसिपमा ‘डेब्यु’ गरेका एलेक्जेन्डरले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० र १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए । अमेरिकाको न्युयोर्क बस्ने एलेक्जेन्डरले अमेरिकामै पेरिस ओलम्पिकको तयारी गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुन एलेक्जेन्डर अमेरिकाबाट पेरिस आइपुगेका हुन् । पेरिसबाटै न्युयोर्क जाने एलेक्जेन्डरले जानकारी दिए ।

न्युयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्जेन्डर फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्जेन्डरसंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

सन् १९६४ को टोकियो ओलम्पिकको १८ औं संस्करणदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाले पनि पौडीमा भने नेपालीले सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक (२६ औं संस्करण) देखि मात्र सहभागी हुन थालेको हो । यो अवधिमा लगातार सहभागी हुने क्रममा १४ पौडी खेलाडीले नेपालको चुनौती ओलम्पिकमा प्रस्तुत गरिसकेका छन् । त्यसमा पुरुष/महिलाको संख्या बराबर ७–७ छ । ओलम्पिकमा नेपाली पौडीवाजले चर्चा कमाएको २०१६ को ३१ औं संस्करणको रियो ओलम्पिकमा हो । त्यो ओलम्पिकमा सहभागी मध्ये सबै भन्दा कान्छी बन्दै गौरिका सिंहले विश्वव्यापी रुपमा चर्चा बटुलेकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाएपछि मिक्स जोनमा एलेक्जेन्डरले कीर्तिमान सुधार गर्न पाएकोमा खुसी व्यक्त गर्दै परिवार, प्रशिक्षक, पौडी परिवार र सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिदै सागलगायत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा ध्यान दिने बताए ।

पेरिस ओलम्पिकमा एलेक्जेन्डरसहित ५ खेलाडीको यात्रामा पूर्णविराम लागिसकेको छ । यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब २ खेलाडीको प्रतिस्पर्धा बाँकी छ । ब्याडमिन्टनमा प्रिन्स दाहालले बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । सन्तोषी फ्रान्सको समय अनुसार आजै राती १०ः३० बजे पेरिस अवतरण गर्ने तालिका छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise