
रौतहट : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रमुख दलका शीर्ष नेता र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू दलबलसहित पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
क्षेत्र नं. १ मा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले आफ्नो मनोनयन दर्ता गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्रको रक्षा, संघीयताको सुदृढीकरण र नागरिकलाई समृद्ध बनाउने अधुरा कार्य पूरा गर्न आफूले पुनः उम्मेदवारी दिएको बताए ।
यसै क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका अजयकुमार गुप्ता, नेपाली कांग्रेसका अनिल झा र रास्वपाका राजेश चौधरी रहेका छन् । यस्तै, आम जनता पार्टीका त्रिभुवन साह, जसपा–लोसपा गठबन्धनका योगेन्द्र यादव र जनमत पार्टीका देवेन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. २ मा १३ जनाको उम्मेदवारी परेको छ । प्रमुख प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेसका डा.फिर्दोष आलम, नेपाली कम्युनिष्ट पार्टीका किरण साह, एमालेका महम्मद अतिउल्लाह र रास्वपाका शेख सगिर रहेका छन् ।
क्षेत्र नं. ३ आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो गढ मानिने यस क्षेत्रबाट मनोनयन दर्ता गरेका छन्। उनलाई नेपाली कांग्रेसका रामकृपाल यादव, नेपाली कम्युनिष्ट पार्टीकी पुनम यादव र एमालेका कुन्दन कुशवाहाले चुनौती दिएका छन् ।
क्षेत्र नं. ४ नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना र एमालेका रामजी साहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसै क्षेत्रबाट चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टीबाट उम्मेदवारी दर्ता गरेर सबैको ध्यान खिचेका छन् ।
मनोनयन दर्ताको क्रममा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उम्मेदवारहरू बाजागाजा र समर्थकहरूको ठूलो ¥यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृतले अबका दिनमा दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सुरु हुने जानकारी दिएका छन् । फागुन २१ को निर्वाचन लक्षित गर्दै जिल्लाका राजनीतिक दलहरूले घरदैलो र चुनावी अभियान तीव्र पार्ने घोषणा गरेका छन् ।