२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

१० हेभिवेट भिडन्त

shivam cement
जीवन शर्मा
२०८२ माघ ७ गते ०६:४०
Shares
१० हेभिवेट भिडन्त

काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाका लागि मंगलबार १ सय ६५ निर्वाचन क्षेत्रमा उल्लासमय वातावरणमा दलहरूले उम्मेदवारी मनोनयन गरे । झापा–५ मा सामान्य धेकलाधकेलबाहेक अन्य निर्वाचन क्षेत्रको माहोल शान्त रह्यो । 

जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशमा हुन दलहरू प्रधानमन्त्रीको उम्मेदवार लिएर चुनावमा होमिएका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा उत्रिएको छ । त्यस्तै, रास्वपाले बालेन शाहलाई अघि सारेको छ भने श्रम संस्कृति पार्टीले हर्क साम्पाङलाई भावी प्रधानमन्त्री भनेको छ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी अभियान थाल्ने जनाएको छ । निर्णय भने भइसकेको छैन । 

झापा–५ को मनोनयनले देशैभर चर्चा पाएको छ । भावी प्रधानमन्त्री दाबी गरेका दुई नेता ओली र बालेन एउटै क्षेत्रबाट चुनाव लड्दै छन् । त्यसैले चुनावको इपिसेन्टर झापालाई नै मानिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा २ र माधवकुमार नेपालले रौतहट १ बाट मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा भावी प्रधानमन्त्रीको योजना लिएर सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । रास्वपाका सभापति चितवन २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, चितवन ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल राजीनामा दिएर उम्मेदवार बनेकी छन् । त्यहाँ रास्वपाले सोविता गौतमलाई उठाएको छ । शीर्ष नेताहरूको यो प्रतिस्पर्धाले बाहिरबाट हेर्ने जति रोचक छ स्वयं उम्मेदवारहरूका लागि एकअर्काप्रतिको त्रास त्यत्तिकै छ  ।  

ओली–बालेन

भावी प्रधानमन्त्रीको आशा बोकेर चुनावी मैदानमा उत्रिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । यसअघि सोही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको आशनमा पुगेका ओली नेतृत्वको सरकारलाई जेनजी आन्दोलन फालेपछि उनी सत्ता बाहिर छन् । चुनाव जितेर पुनः प्रधानमन्त्री बन्ने सपना देखेका ओलीलाई काउन्टर दिन रास्वपाबाट बालेन्द्र शाहले टक्कर दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको घोषणाा गरेर फिल्डमा पठाएका बालेनको क्रेज ओलीको भन्दा कम उत्साहजनक छैन । काठमाडौं महानगरपालिकाका मेयर शाह ओलीलाई पल्टाए निर्वाचनपछि आफैं प्रधानमन्त्री बन्ने योजनामा छन् । मंगलबार भएको उम्मेदवारी दर्ताको माहोल हेर्दा ओली–बालेनबीचको भिडन्त निकै रोचक हुने देखिएको छ । ओली प्रधानमन्त्री र बालेन मेयर हुँदा यी दुई नेताबीच पटकपटक वाकयुद्ध चल्दै आएको थियो । झापा ५ ओलीको नियमित चुनाव जित्ने क्षेत्र हो भने, बालेन पहिलोपटक चुनावमा भिड्दै छन् । तीनपटक देशको प्रधानमन्त्री भइसकेका ठुलो दल एमालेका अध्यक्ष ओली र पछिल्लो समय जनतामा व्यापक क्रेज भएका बालेनबीचको प्रतिस्पर्धाले झापा ५ लाई राजनीतिको इपिसेन्टरका रूपमा लिइएको छ ।  

गगन–अमरेश 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बसेका छन् । विगतका तीनवटा निर्वाचनमा काठमाडौं– ४ बाट चुनाव जित्दै आएका थापाले यसपटक सर्लाही निर्वाचन–४ रोजेका हुन् । थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशंकर कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् । 

कांग्रेस सभापति थापा र रास्वपाबाट गत निर्वाचनमा स्वतन्त्र जितेका सांसद  सिंहबीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ । थापाका लागि सिंह चुनौती बन्न सक्ने कतिपयले विश्लेषण गरिहँदा भावी प्रधानमन्त्रीकै रूपमा जनतामाझ जान लागेका नेता थापालाई सर्लाहीका मतदाताले सहजै जिताएर पठाउने नेताहरूले विश्वास व्यक्त गरेका छन् । सिंह यसअघि प्रतिनिधि सभा हलमै बस्त्र खोलेर नांगो शरीर प्रदर्शन गर्नेदेखि पटकपटक विवादास्पद अभिव्यक्ति दिँदै आएका विवादित पात्र हुन् । थापालाई नेपाली कांग्रेस सर्लाहीले नै सिफरिस गरेर बोलाएका थिए । कांग्रेसले राम्रो सिटसहित प्रतिनिधि सभामा आए थापा प्रधानमन्त्री हुने सम्भावित उम्मेदवार हुन् ।   

ईश्वर–प्रदीप

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।  एमालेले अन्तिम समयमा पोखरेललाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा पाखेरेललाई प्रदीपले पराजित गरेका थिए । कांग्रेस नेता पौडेल हालै भएको विशेष महाधिवेशनबाट महामन्त्री बनेका हुन् । पोखरेल एमालेको ११औं महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित नेता हुन् । रास्पवाले भने आशिफ शाहलाई उम्मेदवार बनाएको छ । एमाले नेता पोखरेल २०७४ मा सोही क्षेत्रबाट कांग्रेसका नेता प्रकाशशरण महतलाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले यो क्षेत्रबाट निर्वाचित भएका थिए । यो निर्वाचनमा पौडेल र पोखरेलको प्रतिस्पर्धा रोचन हुने अनुमान गरिएको छ ।    

प्रचण्ड–कुसुम

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसको तर्फबाट कुशुम थापा मगरबीच प्रतिस्पर्धा हुने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्ड प्रत्येक निर्वाचनमा सुरक्षित क्षेत्र छान्दै हिँड्ने नेतामा पर्छन् । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वमा मनोनयन दर्ता गराएका प्रचण्डले आफू जहाँ गयो त्यही हेडक्र्वाटर हुने बताएका छन् । उनलाई काउन्टर दिन कांग्रेस नेतृ कुशुमले हिम्मत गरेकी छन् । कुशुम गत निर्वाचनमा समानुपातिक सांसद हुँदै कृषि समितिको सभापतिसमेत हुन् । यस्तै एमालेले केन्द्रीय सदस्य लिलामणि गौतमलाई उम्मेदवारका रूपमा मैदानमा उतारेको छ ।

बाबुराम–लेखनाथ

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी निर्वाचनमा उम्मेदवारी नदिने प्रतिबद्धताविपरीत उनले उम्मेदवारी दिए । भट्टराईको प्रतिपस्र्धामा कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् । माओवादी जनयुद्धका मुख्य नेतामध्ये एक रहेका उनी २०६४, २०७० र २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । भदौमा भएको जेनजी विद्रोहलाई समर्थन गरेका भट्टराईले रास्वपा र जेनजी युवाहरूको समर्थन पाउने विश्वास लिएका छन् । उनलाई विगतको आफ्नै विरासत जोगाउन चुनौती देखिएको छ । २०७९ सालको निर्वाचनमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ठाउँ छाडेका थिए ।  तीन वर्षपछि उनी फेरि चुनावी प्रतिस्पर्धा उत्रिएका हुन् । यो क्षेत्रको प्रतिस्पर्धालाई आम रूपमा रोचकताका साथ हेरिएको छ । 

माधव–अनिल 

नेपाली कम्युनिस्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले रौतहट १ बाट मनोनयन दर्ता गराएका छन् ।  यो क्षेत्रमा कांग्रेसका अनिल झाले नेपाललाई टक्कर दिने भएका छन् । एमालेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् भने रास्वपाका राजेश साहले उम्मेदवारी दिएका छन् । नेपाललाई कांग्रेसका अनिल झा र एमालेबाट अजय गुप्ताले टक्कर दिने स्थानीय नेताहरूले बताएका छन् । यसअघिका निर्वाचनहरूमा  नेपाल सोही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका गिए । नेकपा एमाले विभाजन गरेर नेकपा एस गठन गरेका नेपालले केही समयअघि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा आफ्नो दल नेकपा एस विलय गराएका थिए । पछिल्लोपटक जेनजी विद्रोहपछिको बदलिँदो राजनीतिक अवस्था नेकपाका नेता नेपालको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।     

रवि–मीनकुमारी 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले मीनकुमारी खरेललाई उम्मेदवार बनाएको छ । २०७९ को आमनिर्वाचनमा सबैभन्दा बढी भोट ल्याएर जितेका नेता लामिछानेलाई नागरिकता र पासपोर्ट किर्ते मुद्दामा अदालतले सांसद पद खारेजी गरिदिएको थियो । पुनः अर्को नागरिकता बनाएर उपनिर्वाचन लडेका लामिछाने थप मतसहित निर्वाचित भएका थिए ।  अहिले उनको जित करिब पक्काजस्तै देखिए पनि कांग्रेसकी नेतृ सामाजिक अभियान्ता खरेलले टक्कर दिने विशेष रणनीति बनाएको बताएकी छन् ।   

रेनु–सोबिता

चितवन ३ बाट नेकपाबाट रेणु दाहालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिँदा उनको प्रतिस्पर्धामा रास्वपाकी पूर्वसांसद सोबिता गौतम उत्रिएकी छन् । रेणु दुईपटक भरतपुर महानगरपालिका प्रमुख भएर काम गरेकी छन् । उनी महानगर प्रमुखबाट राजीनामा दिएर संघीय सांसदका लागि उम्मेदवारी दिँदै गर्दा रास्वपाले दाहाललाई हराउन सोबितालाई पठाएको हो । सोबिता गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । युवामाझ लोकप्रिय दुवै महिला नेताहरूको प्रतिस्पर्धालाई अत्यन्त रोचकताका साथ हेरिएको छ ।  

शंकर–विपिन

दाङको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दिएका छन् । यसअघि २०७९ मा एमालेले महासचिव पोखरेललाई सोही क्षेत्रको उम्मेदार बनाएको थियो । सोही क्षेत्रबाट थोरै मतान्तरले माओवादी नेतृ रेखा शर्मासँग पराजित भएकी थिइन् । उनको प्रतिस्पर्धामा यसपटक नेपाली कांग्रेसका किरण किशोर घिमिरेले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रमा रास्वपाका सहमहामन्त्री विपिन आचार्यसमेत भिड्ने भएका छन् । नेकपाले निर्मल ज्ञवालीलाई उम्मेदवार बनाएर महासचिव पोखरेललाई टक्कर दिने तयारीमा छ ।

विष्णु पौडेल–विश्वदीप

प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट विश्वदीप पाण्डेले पौडेललाई टक्कर दिने भएका छन् ।  

सम्बन्धित खबर