२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

'आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरेर कारबाही गर्छ'

shivam cement
२०८२ माघ ७ गते १४:००
Shares
'आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरेर कारबाही गर्छ'

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैंले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

उनले आयोगमा आएको उजुरीका आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरीतका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिए । निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाइ छ ।

उनकाअनुसार आचारसंहिताको पालना गराउने र उल्लंघन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । उनले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेदवार र मतदाता सबैले पालना गर्नुपर्ने बताए ।

उनले उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचारसंहिताका विपरीतका कार्य भएको उल्लेख गर्दै ती कार्य आयोगको नोटिसमा रहेको बताए । उनले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिए । 

प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए । मंगलबार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताए । उनकाअनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उनले बताए । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानुन तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए । अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उनले बताए ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिह्न सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाइको काम अघि बढाइने घिमिरेले जानकारी दिए ।

उनकाअनुसार निर्वाचन आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ । सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भएपनि जुलुस, र्‍याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उनले बताए ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

सम्बन्धित खबर