२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सजिलो छैन शंकर पोखरेललाई चुनाव जित्न

shivam cement
सपना बोहरा
२०८२ माघ ९ गते १३:२५
Shares
सजिलो छैन शंकर पोखरेललाई चुनाव जित्न

काठमाडौं : पार्टीको ११औं महाधिवेशनमा संस्थापन इतरसमूहको निशानामा परे पनि अन्ततः शंकर पोखरेल चुनाव जितेर एमाले महासचिवमा दोहोरिए । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भने उनले त्योभन्दा चर्को चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । 

परम्परागत निर्वाचन क्षेत्र दाङ–२ बाट उठेका पोखरेललाई कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिनकुमार आचार्यसहित २० जना उम्मेदवारले चुनौती दिँदै छन् । यसपटकको निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने प्रारम्भीक अनुमान छ । कांग्रेस र एमाले परम्परागत प्रतिस्पर्धी हुन् भने नेकपा वा रास्वपामध्ये एउटा त्यो प्रतिस्पर्धामा थपिने स्थानीय विश्लेषकहरुको आंकलन छ ।  

पोखरेल २०७९ सालको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार रेखा शर्मासँग १९६ मतको झिनो अन्तरले पराजित भएका थिए । शर्मा २६ हजार ८७७ मतसहित विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत प्राप्त गरेका थिए । 

कांग्रेसका घिमिरे अनुभवी राजनीतिज्ञ मानिन्छन् । उनी ट्रेड युनियन आन्दोलनबाट राजनीतिमा आएका हुन् । नेदरल्याण्ड्सको मास्ट्रिच स्कूल अफ म्यानेजमेन्टबाट सामान्य रणनीतिक व्यवस्थापनमा र भारतबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी पूर्वशिक्षक पनि हुन् । नेकपाबाट निर्मल आचार्यले पोखरेललाई चुनौती दिँदैछन् । उनी नेपाली कम्युनिष्ट पार्टी दाङ जिल्लाको ईन्चार्ज हुन । 

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेल एमालेका प्रभावशाली नेता हुन् । आफू मुख्यमन्त्री हुँदा दाङ देउखुरीमा प्रदेश राजधानी ल्याए पनि गत निर्वाचनमा हार बेहोर्नुपरेकोमा उनले गुनासो गर्दैआएका थिए । यसपटक भने जित हासिल हुने दाबी एमाले नेताहरुको छ । तर, काठमाडौंका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर अघि बढेको रास्वपाको पक्षमा कस्तो लहर आउँछ त्यसैमा उनको हार÷जितको निक्यौल हुनेछ । रास्वपाले सहमहामन्त्री विपिन आचार्यलाई अघि सारेको छ । विपिन यस क्षेत्रका लागि नयाँ उमेदवार हुन् । २०७९ को निर्वाचनमा रास्वपाबाट विशाल अधिकारी उम्मेदवार भएका थिए । उनले १५ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए । पोखरेलको पक्षका मत अधिकारीले लगेपछि हार बेहोर्नुपरेको त्यतिबेला एमालेको विश्लेषण थियो । 

पोखरेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका  थिए । नेकपा (एमाले)भित्र वैचारिक नेताको छवि बनाएका उनले जित मात्र होइन पटकपटक हार पनि बेहोरेका छन् । २०५६ मा नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरेसँग हारेका पोखरेल २०६४ सालको पहिलो संविधान सभामा भने उनी समानुपातिकबाट सभासद थिए । त्यसबेला उनी सूचना तथा सञ्चारमन्त्री पनि बने । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै बुद्धिराम भण्डारीसँग पराजित भए । 

२०७४ को आम निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएको थियो । पूर्वसभामुख कृष्णबहादुर महरा र पोखरेल दुबैले दाङ २ मा दाबी गरेपछि लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री हुनेगरी पोखरेल प्रदेशसभा जान तयार भएका थिए । वाम गठबन्धनको बलमा कांग्रेसका कमलकिशोर घिमिरेलाई हराएर लुम्बिनी प्रदेशसभा पसेका पोखरेल झण्डै ४ वर्ष मुख्यमन्त्री बने ।

सम्बन्धित खबर