
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् ।
पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे । उनले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिए । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रीय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिए ।
महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए। कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उनको दाबी छ । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न कांग्रेसले यो अभ्यास सुरु गर्न लागेको उनको भनाइ छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्नेकुरा पहिले नै थाहा पाउने उनले बताए । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उनले बताए ।