२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रौतहट- १ मा चुनावी सरगर्मीः विरासत जोगाउने दाउमा माधव नेपाल, चुनौती दिँदै युवा अनुहार

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ १० गते १३:५७
Shares
रौतहट- १ मा चुनावी सरगर्मीः विरासत जोगाउने दाउमा माधव नेपाल, चुनौती दिँदै युवा अनुहार

रौतहट : ​नेपाली राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको रौतहट क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधि सभा निर्वाचन निकै रोचक र चुनौतीपूर्ण मोडमा आइपुगेको छ। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पुनः यसै क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको बलमा निर्वाचित भएका नेपालका लागि यसपटकको बाटो भने पहिलेको जस्तो सहज देखिँदैन। एकातिर आफ्नै राजनीतिक विरासत जोगाउनुपर्ने दबाब छ भने अर्कोतिर युवा र नयाँ अनुहारहरूको तीब्र उदयले उनको वर्चस्वमाथि प्रश्नचिह्न खडा गरिदिएको छ।

​२०७९ को निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ पाएका नेपालले नेकपा एमालेका अजय कुमार गुप्तालाई पराजित गरेका थिए। तर सो जित पनि निकै झिनो मतान्तरको थियो। यसपटकको मुख्य फेरबदल भनेको गठबन्धनको अभाव हो। कुनै पनि ठुला दलसँग चुनावी तालमेल नगरी नेपाल एक्लै मैदानमा होमिएका छन्।

​राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक माधव नेपालका अगाडि चुनौतीका चाङहरू छन् । पतञ्जली योगपीठको जग्गा प्रकरणमा उनीमाथि लागेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा अझै विचाराधीन छ। यदि अदालतले दोषी ठहर गरेमा निर्वाचित भए पनि उनको सांसद पद रहने छैन, जसले गर्दा मतदातामा एक प्रकारको संशय पैदा भएको छ। ​जेन्जी युवापुस्ता र नयाँ मतदाताहरू पुराना अनुहार भन्दा डेलिभरी दिन सक्ने नयाँ नेतृत्वको खोजीमा छन्। ​लामो समय सत्ता र शक्तिमा रहे पनि स्थानीय स्तरमा जनताका दैनिक समस्यामा उनी प्रत्यक्ष रूपमा जोडिन नसकेको आरोप लाग्दै आएको छ।

​यसपटक रौतहट १ मा सबैभन्दा बढी चर्चामा रहेका उम्मेदवार हुन्, जसपा नेपालका योगेन्द्र राय यादव । ​सबै उम्मेदवारमध्ये कान्छो उमेरका भएकाले उनलाई युवापुस्ताले आफ्नो प्रतिनिधिको रूपमा स्वीकारेका छन्। राज्यमन्त्री रहँदा उनले गरेको जनमुखी कार्य र युवाहरूका लागि सिर्जना गरेका अवसरले उनको पक्षमा माहोल सिर्जना गरेको छ। ​​माधव नेपाल र योगेन्द्र यादव मात्र नभइ, अन्य प्रतिस्पर्धीहरू पनि बलियो तयारीका साथ मैदानमा छन् ।

गत निर्वाचनमा कडा टक्कर दिएका नेकपा एमालेका ​अजय कुमार गुप्ता यसपटक आफ्नो पराजयलाई जितमा बदल्ने रणनीतिमा छन्। यद्यपि, रास्वपाका उम्मेदवारले उनको केही मत काट्न सक्ने अनुमान गरिएको छ।

​अनिल कुमार झा (नेपाली कांग्रेस) २०७४ का विजेता यसपटक कांग्रेसको चुनाव चिह्न लिएर मैदानमा छन्। तर पार्टीभित्रको आन्तरिक असन्तुष्टि र बाहिरबाट आएर टिकट लिएको आरोपले उनलाई केही कठिन बनाउन सकिने देखिएको छ । घण्टीको लहर र पुराना दलप्रतिको वितृष्णालाई क्यास गर्दै रास्वपाका ​राजेश चौधरी पनि प्रतिस्पर्धामा छन्, जसले विशेषगरी सहरिया र युवा मत प्रभावित पार्न सक्छन्। ​​

सम्बन्धित खबर