२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देशलाई जिताउने पक्षमा उभिन ओलीको आह्वान

shivam cement
२०८२ माघ १० गते १६:१०
Shares
देशलाई जिताउने पक्षमा उभिन ओलीको आह्वान

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन् । शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गरेको बताए । ‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ,’ उनले भने ।

नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ । उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे ।

नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । ‘आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन; भोलि कहाँ पुग्ने हो, थाहा छैन,’ उनले भने, ‘एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो ।’

अध्यक्ष ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताए । राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उल्लेख गर्दै उनले धार्मिक–ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे । ‘त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए,’ उनले भने, ‘राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ।’

एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको स्पष्ट पार्दै अध्यक्ष ओलीले देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको एमाले प्रवेशलाई पार्टीले आर्थिक र राजनीतिक विश्वासको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।

सम्बन्धित खबर