
रौतहट : आगामी निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेका छन् । गौरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले "आशा र भरोसाको राजनीति" गर्ने भन्दै आफ्नो भावी योजना तथा एजेन्डाहरू सार्वजनिक गरेका हुन् ।
रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सोही क्षेत्रका उम्मेदवार जाजुल देवानले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै जसपा नेपालका उम्मेदवार यादवलाई समर्थन गर्ने घोषणा गरेका छन् । यस समर्थनले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको हो ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका यादवले विगतका निर्वाचनहरूमा केही उम्मेदवारहरूले पूरा नहुने र भ्रामक आश्वासन दिएर जनतालाई ठगेको आरोप लगाए । उनले आफ्नो उम्मेदवारी किन र केका लागि भन्ने स्पष्ट पार्दै "सत्ता होइन, सेवा केन्द्रित राजनीति" आफ्नो मूल मन्त्र भएको बताए ।
चुनावी प्रतिबद्धताका प्रमुख बुँदाहरू
जसपा नेपालका उम्मेदवार योगेन्द्र राय यादवको घोषणापत्रमा विशेषगरी विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता दिइएको छ । वर्सेनि हुने डुबान समस्या समाधान गर्न बागमती र लालबकैया नदी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको छ । साथै, अधुरो रहेका टिकुलिया-बडहरवा र पिपरा घाटका पुल निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र यस क्षेत्रमा उद्योग तथा कलकारखाना स्थापनाका लागि पहल गर्ने योजना छ ।
शिक्षा र स्वास्थ्य: गुणस्तरीय शिक्षा र उन्नत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि "संसददेखि सडकसम्म" आवाज उठाउने संकल्प गरिएको हो ।
किसानलाई मलखादको सहज उपलब्धता गराउने र सिंचाइका लागि सस्तो दरमा विद्युत् सुविधा उपलब्ध गराउने एजेन्डा समेटिएको छ ।
जातीय, क्षेत्रीय र धार्मिक विभेदको अन्त्य गरी समानतामा आधारित समृद्ध समाज निर्माण गर्ने लक्ष्य राखिएको छ।
भ्रष्टाचार र अनियमितता विरुद्ध कठोर नीति लिने र जनप्रतिनिधि स्वयं उदाहरणीय बन्ने प्रतिबद्धता जनाइएको छ।आफ्नो घोषणापत्रलाई "कागजको खोस्टो" मात्र हुन नदिने र इमानदारीपूर्वक कार्यान्वयन गर्ने यादवले दाबी गरेका छन् ।
रौतहट १ मा हेभिवेट उम्मेदवारहरूबीचको प्रतिस्पर्धा तीव्र भइरहँदा अन्य दलको समर्थन र विकासका ठोस एजेन्डाले योगेन्द्र राय यादवको चुनावी अभियानमा नयाँ उत्साह थपेको देखिएको हो ।