
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो सुरु गरिसक्दा पनि विघटित संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आन्तरिक किचलोमै छन् । एमालेमा ११औं महाधिवेशनको ह्याङओभर देखिन्छ भने कांग्रेसमा विशेष महाधिवेशनको वैधानिकताको बहस टुंगिएको छैन । जसका कारण देशभरका नेताकार्यकर्ता मनोवैज्ञानिक रूपमा विभाजित छन् ।
गत आमचुनावबाट उदाएको रास्वपालगायतका नयाँ दल उत्साहसहित चुनावमा लागिसकेका छन् । कांग्रेस–एमालेमा भने तत्काल त्यो उत्साह देखिँदैन । बरु, एकअर्काविरुद्ध कटाक्ष चलिरहेको छ ।
रास्वपादेखि श्रम संस्कृति पार्टीसम्मका नयाँ दल आफ्ना एजेन्डासहित घरदैलोमा लागिसकेका छन् । विभिन्न वाम घटक र समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी पनि चुनावमा लागिसकेको छ । तर कांग्रेस–एमाले एकजुट भएर चुनावी अभियानमा लागेको देखिँदैन ।
एमाले मंसिर अन्तिम साताको अर्ली महाधिवेशनको तुस मेटिएको छैन । अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनमा विपक्षी प्यानलबाट चुनाव लडेका योगेश भट्टराई, गोकुल बास्कोटा, सुरेन्द्र पाण्डे, कर्ण थापालगायतका नेतालाई टिकट नै दिएनन् । त्यसको कारण पनि चित्त बुझ्दो दिएनन् । पाण्डे र भट्टराईले यसपटक जित्न सक्ने नदेखिएको र बास्कोटाले पार्टीमा विभाजन ल्याएकोजस्ता टिप्पणी गरेर नेताहरूको चित्त दुखाए । इतरसमूहका यी नेताले बरु परिपक्व प्रतिक्रिया दिएर विवादलाई चुकाएनन् । तर भित्रभित्रै नेतृत्वको रवैयाप्रति असन्तुष्टि चुलिएको छ ।
ताप्लेजुुङबाट योगेशको सट्टा युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिए । भट्टराईले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाए पनि अन्ततः एमालेका उम्मेदवारलाई जिताउन घरदैलोमा निस्किएका छन् । पाण्डेको नाम निर्वाचन क्षेत्रबाटै सिफारिस भएन भने काभ्रे २ बाट एकल सिफारिस भएका बास्कोटालाई टिकट दिइएन । त्यसले एमालेमा चुनावको मुखैमा तिक्तता बढाएको छ ।
त्यस्तै, ओखलढुंगाको उम्मेदवार छनोटको मतभेदले कोशी प्रदेशका पूर्वमन्त्री अम्बिर गुरुङ पार्टी नै छाडेर नेकपाबाट उम्मेदवार बने । गुरुङसँगै एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी), उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा उपसचिव राजीव कट्वालसहित ३० जना जिल्ला तहका नेता नेकपामा प्रवेश गरेका छन् । यसले भूगोलको राजनीतिमा निकै प्रभाव परेको छ । देशभरका आधा दर्जन धेरै निर्वाचन क्षेत्रमा यस्ता समस्या देखिएका छन् । तर नेतृत्व तहबाट समस्याको समाधानभन्दा थप चिढ्याउने काम भएको भन्दै एमालेको असन्तुष्ट पक्षले दुःखेसो पोखेको छ ।
कांग्रेसमा झन् योभन्दा चर्को विवाद छ । चुनावअघि नियमित महाधिवेशन नगरेको कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने र रोक्नेबीचको जुुहारीले पार्टी नै विभाजनको डिलमा पुुग्यो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चुनेसँगै पार्टी विभाजन भइसकेको थियो । यद्यपि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आधिकारिकता दिएसँगै नयाँ नेतृत्वले नै टिकट बाँडेर कांग्रेस चुनावी मैदानमा छ ।
विशेष महाधिवेशनको वैधानिकताविरुद्ध सर्वोच्चमा गएका तत्कालीन सभापति शेरबहादुर देउवा समूहका नेता अझै चुनावमा केन्द्रित हुन सकेका छैनन् । विशेष महाधिवेशनबाट किनारा लागेको सो समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । त्यसका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । यसले पार्टीभित्र एकताको सन्देशभन्दा पनि निर्वाचनमा एकले अर्को समूहका नेतालाई असहयोग हुने हो कि भन्ने संशय बढेको छ ।
तर सो समूहका नेताहरूले समूहगत भेलाभन्दा पनि सबै खालका नेताबीच छलफल गरेर चुनावमा जाने वातावरण बनाउने विषयमा भेला राख्ने सल्लाह हँुुदै गरेको जिकिर गरेका छन् । देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मध्यान्हसँग भने, ‘निर्वाचनको पूर्वसन्ध्यामा हामीले भेला राखेर चुनावमा पार्टी एक ढिक्का भएको सन्देश दिनेगरी अघि बढ्ने कि भन्ने छलफल भएको छ । तर कसरी गर्ने भन्ने अझै टुंगोमा पुुगेका छैनौं ।’
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले स्वीकार गरिसकेको छैन । देउवा समूहले सार्वेच्चमा दायर गरेको रिटमा न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ ।