
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका नेता बालेन्द्र शाह ‘बालेन’ पूर्वी नेपालमा एक फन्को लगाएर पश्चिमतर्फ लागेका छन् । सिनेमाको नायक शैलीमा उनको दौडाहा चलिरहँदा स्वागतमा ठुलै भिडभाड देखिन थालेको छ । बिहानभरको बाक्लो कुहिरोले सोमबार ढिलोगरी नेपालगन्ज ओर्लिएका शाहले गाडीको रुफटपबाटै विमानस्थलदेखि नेपालगन्जसम्म स्वागत ग्रहण गरे । बासगढी र गुलरियामा पनि उसैगरी समर्थक ओइरिए । बालेनप्रति देखिएको यो क्रेजले रास्वपाका सभापति रवि लामिछानेलाई नै छायामा पारिदिएको छ ।
बालेनले ४ माघमा काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर वरिष्ठ नेताको पदवहाली गरेका थिए । त्यहाँ शुभेच्छुक, समर्थक तथा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनको भव्य स्वागत गरे । वनस्थलीबाट सिधै विमानस्थलतर्फ लागेका बालेन र लामिछानेले भोलिपल्ट जनकपुरबाट चुनावी अभियान थालेका थिए । सो सभामार्फत सिंगो मधेसमा बालेनको पक्षमा नयाँ लहर चलेको दाबी रास्वपा नेताहरूको छ । ६ माघमा झापा–५ मा मनोनयन दर्ता गर्दासमेत उनको पक्षमा ठुलै जुलुस निस्केको थियो । लगत्तै उनी कोशी प्रदेशका पहाडी जिल्लाहरूमा एक फन्को मारेर काठमाडौं फर्किए । तर सभापति लामिछाने भने जनकपुरबाटै छायामा परे । सहकारी ठगीसम्बन्धी मुद्दाका कारण उनी चितवन–२ बाट मनोनयन दर्ता गर्नसमेत आफैं उपस्थित हुन पाएनन् । जनकपुरपछि उनी सार्वजनिक सभामा खासै देखिएका छैनन् ।
बालेन काठमाडौं फर्किएपछि पनि पार्टी कार्यालय पुगेनन् । बरु आइतबार दिनभर काठमाडौं उपत्यकाका उम्मेदवारहरूलाई साथी कुमार बेनको ज्वागलस्थित घरमै बोलाएर एक्लाएक्लै भेटे । शाहले ज्वागललाई चुनावी अभियानको सम्र्पक कार्यालय नै बनाए । जहाँ रास्वपा प्रवेश गर्नुअघि पनि थुप्रै भेटघाट गरेका थिए । शाहलाई भेट्न ललितपुर–३ की उम्मेदवार तोसिमा कार्की, काठमाडौं–१ की रञ्जु दर्शना २ का सुनिल केसी, ७ का गणेश पराजुली, भक्तपुरका राजीव खत्रीसहित उपत्यकाका अधिकांश रास्वपा उम्मेदवार ज्वागल पुगेका थिए ।
भेटमा उनले खासै नबोले पनि चुनावपछि स्पष्ट बहुमतको सरकार बनाउने ढाडस उम्मेदवारलाई दिएका छन् । चुनावी परिणामबारे अहिल्यै आश्वस्त हुन नसकिए पनि बालेनप्रति देखिएको आकर्षणले सभापति लामिछानेलाई छायामा पारेको रास्वपाका नेता कार्यकर्ताहरू नै बताउन थालेका छन् ।
यसअघि रास्वपामा लामिछानेबाहेक अरू कसैको यो तहको क्रेज देखिएको थिएन । सहकारी ठगी मुद्दाले उनी जेलमा हुँदा कार्यवाहक सभापति डिपी अर्याललाई दिइए पनि उनले लामिछाने अहिलेजस्तो छायामा थिएनन् । २०७९ असार २ गते आधिकारिक रूपमा पार्टी खोलेका लामिछानेकै क्रेजले सोही मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा २० सिटसहित रास्वपा संसदमा छि¥यो । रवि आफंै गृहमन्त्री बनेका थिए । उपनिर्वाचनमा एक सिट थपेर रास्वपा संसद्को चौथो ठुलो दल बनेको थियो ।
त्यही बीचमा दोहोरो नागरिकता र पासपोर्ट काण्डमा परेका लामिछानेको मन्त्री र सांसद पद गयो । उनी निर्वाचित चितवन–२ मा भएको उपनिर्वाचनबाट समेत जितेर संसद् छिरेर उनी पुनः उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । रविविरुद्ध काठमाडौं, चितवन, कास्की, रूपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन् । सोही मुद्दामा पुर्पक्षका लागि आठ महिना जेल बसेका उनी उच्च अदालत बुटवल इजलासको आदेशअनुसार तोकिएको धरौटी बुझाएर मंसिरमा रिहा भएका हुन् । मनोनयन दर्ताकै दिन सहकारी ठगी मुद्दाको सुनुवाइका लागि पर्सा जिल्ला अदालत पुगेका थिए । उम्मेदवारी दर्ताकै दिन रविलाई अदालतले १ करोड धरौटी माग ग¥यो । अदालती प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण उनले वारिसनामामार्फत चितवन–२ मा उम्मेदवारी दर्ता गराएपछि चुनावी रौनकमा उनलाई देखिएको छैन ।
धरैटीमा रिहा भएपछि उनले चितवनमा सार्वजनिक भाषण गरेर जिउभरि विष बोकेर बाँचेको बताएका थिए । त्यसयता पार्टी एकता, समानुपातिक बन्दसूची र प्रत्यक्ष टिकट वितरणलगायतका आन्तरिक झमेलामा फसे । मनोनयन दर्तापूर्व माघ ५ गते जनकपुरमा रास्वपाले गरेको आमसभालाई सम्बोधन गरेपछि उनी फेरि चुप छन् ।
उनी अदालती प्रक्रियाकै झमेलामा व्यस्त रहेको रास्वपाका नेताहरूले बताएका छन् । चितवनमा पार्टीले कार्यक्रमसमेत राखेको छैन भने मतदातामाझ पुग्नै अप्ठ्यारो भइरहेको रास्वपा चितवनका एक नेताले बताए । तर बालेन धेरै नबोले पनि आफ्नो निर्वाचन क्षेत्रसहित कोशी प्रदेशको ताप्लेजुङस्थित पाथिभरा दर्शन गरी केही जिल्लामा एक चक्कर लगाएर काठमाडौं आइपुग्दा उनको क्रेज घटेन । रविलाई नै छायामा पर्नेगरी बढेको बालेनको क्रेजप्रति रविका कार्यकर्तासमेत सशंकित छन् । बालेनले सामाजिक सञ्जालमा लेखेका वा बोलेका स्ट्याटसले आमसञ्चारमाध्यममा राम्रो स्थान पाइरहेका छन् । उनी चुनावी अभियानकै सिलसिलामा सोमबार सुदूरपश्चिमतर्फ लागेका हुन् । सुदूरपश्चिमबाट बालेननिकट दुई जनाले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल
कैलाली–२ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम गएका हुन् । प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ मा पूर्र्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेर कडा चुनौती पेस गरेका शाहका कारण लामिछाने मात्र होइन, रास्वपाका अरू नेताहरू पनि ओझेलमा छन् । चुनाव जित्नुपर्छ भन्नेबाहेक बालेन, रवि र अरू नेताहरूबीच कुनै सरसल्लाह, समन्वय र बैठक भएको छैन । पुस १३ गते रास्वपाले बालेन समूहसँग सातबुँदे सहमति गरेर भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । महोत्तरी पुख्र्यौली घर भएका शाहलार्ई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर मधेसको जनमत प्रभावित पार्ने रविको रणनीतिले अन्ततः आफंै छायामा पर्ने परिस्थिति बनेको हो ।
आफ्नै पार्टीमा लामिछानेको क्रेज घटेको छनक जनकपुर सभामै देखिएको थियो । बालेनले मैथिली भाषामा दिएको सन्तुलित अभिव्यक्तिले राष्ट्रियस्तरमै चर्चा पाइरहँदा सोही सभामा प्रमुख अतिथि बनेका लामिछानेको खासै चर्चा भएन । पार्टी स्थापनादेखि नै पार्टीमा एकछत्र वाहवाही पाएका लामिछानेले बालेनलाई भावी प्रधानमन्त्री अघि सार्नुले पनि मुख्य नेताका रूपमा बालेन प्रकट भएको देखिन्छ । ‘यो स्वाभाविक पनि हो । हिजो रविको नेतृत्वमा सरकार बन्छ भन्ने नारा थियो । अबकी बार बालेन सरकार भन्ने नारा बनेपछि उनकै चर्चा हुनु स्वाभाविक हो,’ रास्वपाका
एक पदाधिकारीले मध्यान्हसँग भने, ‘जुन ढंगले बालेन एक्लै हिँड्न खोजेका छन्, ढिलोचाँडो समस्या आउँछ कि भन्ने चिन्ता छ ।’
केहीअघिसम्म बालेनलाई झापामा पठाएर हराउने रणनीति लिएको आरोप लामिछानेमाथि थियो । त्यसको स्पष्टीकरण नेता मनीष झाले सार्वजनिक रूपमै दिइसकेका छन् । उनका अनुसार, मनोनयनको अन्तिम दिनसम्म बालेनका लागि महोत्तरी–१ होल्ड गरेर राखिएको थियो । तर बालेनले चुनौती सामना गरेरै अघि बढ्ने भन्दै एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा–५ जाने निर्णय लिए । बालेनको पहिलो राजनीतिक दौडाहामा विवादास्पद व्यवसायीको गाडी प्रयोग गरिएकोप्रति पनि रास्वपा नेताहरू असन्तुष्ट छन् । उनले चढेको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिका सञ्चालक कमलकिशोर मालपानीको भएको खुलेपछि बालेनको चर्को आलोचना पनि भएको छ । ‘त्यसरी किन गाडि चढ्नुप¥यो ? आज गाडी दिनेको भोलि स्वार्थ हुन सक्छ’ नेता झाले एक टिभी अन्तर्वार्तामा त्यसबारे भनेका छन्, ‘त्यो गलत हो ।’ चौतर्फी प्रश्न उठे पनि बालेन र उनको टिमले यसबारे कुनै जवाफ दिएको छैन ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेर काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन प्रश्नसँग भने सधैं भाग्ने गरेका छन् । झन्डै चारबर्से कार्यकालमा उनले नागरिक, मिडिया र सार्वजनिक मञ्चसँग कहिल्यै दोहोरो संवाद गरेनन् । सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्दै आएका छन् । रास्वपाका अरू नेताहरू र बालेनको शैली विल्कुल भिन्न छ । सभापति लामिछानेको अनुपस्थितिमा शाहले आइतबार काठमाडौंका उम्मेदवारहरूसँग गरेको एक्लाएक्लै भेटघाटलाई पनि पार्टी संस्थापनले खासै रुचाएको छैन ।