
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिह्न कुनैपनि दलसँग विलय हुन नदिइने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए ।
रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्दरुस्त भएर निस्किएको बताए । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरे ।
उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडकभडकमा लाग्नु दुःखद् भएको बताए ।
उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गरे ।