
काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै दलबीच नै मुख्य प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने निर्वाचनमा पुरानै राजनीतिक शक्तिहरूबीच नै प्रतिस्पर्धा केन्द्रित हुने बताएका हुन् ।
'यो गम्भीर विषय पनि हो र अन्ततः मतदाताले नै निर्णय गर्ने कुरा हो,' चालिसेले भने, 'तर अहिलेको अवस्थाले पुरानै दलबीच प्रतिस्पर्धा हुने संकेत गर्छ ।'
हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्र बनाइएको उनले जानकारी दिए । कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै उनले पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिँदै मतदातामाझ विश्वास स्थापित गर्ने प्रयास गरिने बताए ।
उनका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ । बागी उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको र अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको उनले जानकारी दिए ।
'जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,' चालिसेले भने ।
कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा तहसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै पार्टीभित्र आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता जारी गरिएको उनले बताए ।
'पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ,' उनले भने, 'राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ ।'
यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति पनि कांग्रेसले लिएको छ । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने लक्ष्यसहित प्रचार अभियान अघि बढाइने प्रवक्ता चालिसेले बताए ।
उनका अनुसार संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर कांग्रेस निर्वाचनमा जाने तयारीमा छ । विशेष महाधिवेशनपछि पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा थपिएको दाबी गर्दै उनले महाधिवेशनमा सहभागी नहुने नेताकार्यकर्ता पनि पार्टी गतिविधिमा सक्रिय हुन थालेको र अन्य दलका नेता-कार्यकर्ताको कांग्रेस प्रवेश क्रम जारी रहेको बताए ।
कांग्रेसले पार्टी घोषणापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिएको छ । केही समयभित्र घोषणापत्र सार्वजनिक गरिने र त्यसमा सुशासन, विकास तथा भविष्यप्रति यथार्थवादी र विश्वसनीय कार्यक्रम समेटिने चालिसेले बताए ।
उनका अनुसार फागुन ७ गते जनकपुरमा पार्टीको विशेष चुनावी सभा आयोजना गरिनेछ । साथै, देशभर १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार कायम रहेको पनि उनले पुनः स्पष्ट पारे ।