
काठमाडौं : २०६४ यताका सबै निर्वाचनमा तत्कालीन माओवादी केन्द्रमा सबैभन्दा सुरक्षित उम्मेदवार थिए, जनार्दन शर्मा ‘प्रभाकर’ । सशस्त्र विद्रोहबाट आएको सो पार्टी नराम्ररी खुम्चिएको २०७० र २०७९ को निर्वाचनमा समेत शर्माले रुकुम पश्चिमबाट सहजै जित हासिल गरेका थिए । उनको अगुवाइमा रुकुमपूर्व र पश्चिममा भएको विकासको अहिले पनि प्रशंसा हुन्छ । पार्टीमा सिंगो कर्णाली प्रदेशमै एकछत्र प्रभाव रहेका तिनै शर्मा यसपटकको निर्वाचनमा भने एक्लिएका मात्र छैनन्, चुनावी नतिजाको पूर्वआंकलनमा ‘रेड जोन’मा देखिन्छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लामो अन्तरसंघर्षपछि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको एकीकरणमा उनी सहभागी भएनन् । बरु, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति र रास्वपाबाट निस्केका सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे । भट्टराईको दलले प्रयोग गर्दै आएको आँखा चिह्न लिएर चुनावी मैदानमा उत्रिएका शर्मालाई उनकै पूर्वकार्यकर्ता गोपाल शर्माले कडा चुनौती दिँदै छन् ।
माओवादी केन्द्र छाडेदेखि नै रुकुम पश्चिममा आफ्नै पूर्वकार्यकर्ताको विरोध खेप्दै आएका शर्मालाई गृह जिल्लामै कालो झन्डासमेत देखाइयो । हिजो उनकै वरपर देखिने नेता कार्यकर्ताले पनि अहिले साथ दिइरहेका छैनन् । कतिसम्म भने जनार्दनकै भाइ–बुहारी नाता पर्ने तत्कालीन माओवादीका केन्द्रीय सदस्य वसन्त शर्मा र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समेत उनको साथ छोडेका छन् । जनार्दनका अर्का विश्वासपात्र तत्कालीन माओवादी रुकुम पश्चिमका संयोजक गोविन्द रोका (सचिन)समेत उनीसँग रहेनन् । प्रचण्डले पटकपटक ‘पार्टी छोडेर गए हुन्छ’भन्दा पनि पार्टी नछोडेका शर्माले अन्तिममा आफूखुसी पार्टी छोडेर जाँदा तत्कालीन माओवादीका जिल्ला सचिव राम कार्कीले मात्र साथ दिए ।
जर्नादनले २०६४ सालको निर्वाचनमा ५७ दशमलव ११ प्रतिशत मत पाएका थिए । २०७० सालको चुनावमा त्यो मत बढेर ६३ दशमलव २५ प्रतिशतसम्म पुगेको थियो । २०७४ सालको चुनावमा ६६ दशमलव २७ प्रतिशत पाएका उनी २०७९ सालको चुनावमा खसेको ६० हजार १ सय ११ मतमध्ये ३९ हजार ५ सय ४९ मत ल्याएर सहजै जितेका थिए ।
नेकपा छाडेर नयाँ दलबाट चुनावमा उत्रिएका शर्मा र उनकै नेतृत्वमा काम गरेका गोपाल शर्माबीचको प्रतिस्पर्धाले रुकुम पश्चिमको चुनावी माहोल रोचक बनाएको छ । सो क्षेत्रमा नेकपा एमालेले शर्मालाई सघाउने निर्णय गरिसकेको छ । त्यसबापत प्रगतिशील लोकतान्त्रिक पार्टीले साबिक कर्णालीका हुम्ला र जुम्लाबाहेक र राप्तीका अरू जिल्लामा एमालेलाई सहयोग गर्ने सहमति भएको छ । त्यो सहमति खासगरी शर्मा र एमाले महासचिव शंकर पोखरेललाई सघाउ पुग्ने अपेक्षासहित गरिएको देखिन्छ । चुनावी तालमेलसम्बन्धी तीनबुँदे सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाका अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
कांग्रेसका राजु केसी र नेकपाका गोपाल शर्मासँगै उनको मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आंकलन छन् । उनीहरूसँगै रुकुम पश्चिममा १२ उम्मेदवार चुनावी मैदानमा छन् । यसपटकको चुनावलाई शर्माले आफ्नो प्रतिष्ठाको लडाइँ बनाएका छन् । देशभरमै सबैभन्दा सुरक्षित क्षेत्र खोज्दै नेकपा संयोजक प्रचण्ड पनि रुकुमपूर्व पुगेका छन् । त्यसैले दुवै क्षेत्रमा जनार्दनको प्रभावको परीक्षण पनि हुने देखिन्छ ।
उनी स्वयं भने नयाँ दलमा भए पनि व्यक्तिगत प्रभाव र विगतका कामको मूल्यांकन गर्दै मतदाताले जिताउने आशामा शर्मा देखिन्छन् । संसद् विघटनका कारण पछिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचौंपटक चुनावी मैदानमा उत्रिएको शर्माले बताए । ‘म सधैसधैं रुकुमको साझा उम्मेदवारका रूपमा रहेको छु र चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको छैन । त्यसकारण पनि विपक्षी दलका कार्यकर्ताले मलाई मत दिन्छन्,’ उनले भने ।