२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रभाव बढाउँदै गगन

shivam cement
२०८२ माघ १६ गते ०६:१५
Shares
प्रभाव बढाउँदै गगन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाको आगमनले सर्लाही–४ को चुनावी माहोल एकाएक तातेको छ । संसदीय राजनीतिमा कांग्रेसको दबदबा रहेको सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वतमान सांसद अमरेश सिंहसहित ३९ उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसबाट गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा)बाट रामेश्वर राय यादव चुनावी मैदानमा छन् । 

एमालेबाट प्रभावशाली नेता शिवपुजनका छोरा अमनिशकुमार यादव र अमरेशको शक्ति प्रदर्शन हुने यो क्षेत्रमा कांग्रेस सभापति थापाको प्रवेशले निर्वाचन अझै रोचक हुने देखिएको छ । यद्यपि विगतका अधिकांश निर्वाचनमा कांग्रेसकै बाहुल्यता रहेको सो क्षेत्रमा गत २०७९ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेशले जितेका थिए । उनी त्यसअघिसम्म कांग्रेसकै उम्मेदवार भएर जित्दै आएका थिए । यतिबेला कांग्रेस उम्मेदवार थापा, रास्वपा उम्मेदवार सिंह, एमाले यादव जोडतोडका साथ घरदैलो अभियानमा छन् । बाँकी उम्मेदवारले बाक्लो उपस्थिति देखिएको छैन ।  

पहिलो चरणको अभियान सकेर थापा आज काठमाडौं फर्किने कार्यतालिका छ । उनले सर्लाही–४ का ५२ वडामै निर्वाचन परिचालन समिति गठन गरेर पार्टीलाई नै मैदानमा उतार्ने रणनीति तय गरेका छन् । पहिलो चरणमा उनले कार्यकर्ता र मतदाताका कुरा सुन्ने र दोस्रो चरणमा आफ्ना कुरा भन्ने थापाको योजना छ । थापाले बुधबार मात्रै गोडैता नगरपालिकाका पाँच जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । नेकपा एमालेका दुई माओवादीका दुई र जसपाका एक गरी पाँच जना वडा अध्यक्ष नै कांग्रेसमा प्रवेश गरेकाले पनि थापालाई पक्षमा बढेको नेताहरूले बताएका छन् । 

थापाले सर्लाही–४ का सबै पालिकामा छलफल गरी समस्या टिपोट गरिरहेको कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र सिंहले बताए । यस्तै, रास्वपा उम्मेदवार सिंहका निकटस्थलाई नै उनले आफ्नो पक्षमा उभ्याएका छन् । डा. रमेश सिंह, केदारनन्दन चौधरी, सीताराम सिंह, श्याम साह, अनिता यादव, राजनारायण कुशवाहा, मनोजप्रसाद सिंह, डा. कमलेश सिन्हा अमरेशको साथ छोडेर कांग्रेस उम्मेदवार थापाको पक्षमा उभिएका छन् । यसले थापाका पक्षमा माहोल बढेको नेता वीरेन्द्र सिंहले बताए । कांग्रेसको पकड रहेको सर्लाही–४ मा परम्परागत मतदाता रहेका छन् । पहाडी भूगोल र  विपन्न बस्ती छन् । जातीय हिसाबले यादवको बाहुल्यता भएको यस क्षेत्रमा तीन यादव उम्मेदवार छन् । तीनै जना उम्मेदवारलाई जातीय रूपमा मत विभाजन हुने स्थानीय बताउँछन् । ‘अमरेश कुमारको विगतको मत भनेकै गाछीको मत हो,’ सर्लाही–४ ‘क’ का सांसद वीरेन्द्र सिंहले  भने, ‘यसअघि उनको व्यक्तिगत प्रभाव र कांग्रेसकै व्यक्ति हुँ भनेर जितेका हुन्, यसपटक त्यस्तो हुँदैन । पार्टी सभापति र भावी प्रधानमन्त्रीकै उम्मेदवार आएपछि यो क्षेत्रको माहोल नै परिवर्तवत भएको छ । गाछीले आरामले जित्ने हो ।’ संगठनमा नलागेका स्विङ भोटमा भने बालेन प्रभाव देखिन्छ । रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले बालेन शाहका पक्षमा असंगठित भोट रोक्न अरू दललाई कठिन छ ।   

उता दलबदलमा माहिर खेलाडी शिवपुजन यादवको व्यक्तिगत प्रभाव जबर्जस्त रहेको नेताहरूले बताएका छन् ।  २०६४ मा तत्कालीन जनअधिकार फोरमबाट सर्लाही–४ मा निर्वाचित शिवपुजनले सबैजसो निर्वाचनमा निर्णायक मत होल्ड गर्छन् । आफ्नो राजनीतिक यात्रामा पूर्णविराम लागेपछि उनले २०७९ मा छोरीलाई मैदानमा उतारेका थिए । अमरेश सिंहले २० हजार १७ मत ल्याएर जित निकाल्दा शिवपुजनकी छोरी स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६ सय २२ मत प्राप्त गरेर तेस्रो स्थानमा आएकी थिइन् । यसपटक शिवपुजनले एमालेबाट छोरा अमनिशकुमार यादवलाई अगाडि सारेको अवस्था छ भने शिवपुजनकी छोरी मधुमाला पनि स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छिन् । यसले आगामी निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि कांग्रेस सभापति थापा भावी प्रधानमन्त्रीकै उम्मेदवार भएका र भूगोलको मत परम्परागत मतसमेत कांग्रेसकै बढी भएकाले गगनलाई सहज हुने विश्लेषण स्थानीय नेता कार्यकर्ताको छ ।

सम्बन्धित खबर