२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

उपमेयरको काँधमा महानगर

shivam cement
२०८२ माघ १७ गते ०६:३५
Shares
उपमेयरको काँधमा महानगर

काठमाडौं : पौने चार वर्षअघि स्थानीय तह निर्वाचनको सरगर्मी सुरु हुँदा सुनिता डंगोलले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि भने उनी सो पार्टीबाट उपमेयर उठ्न तयार भइन् । २०७९ को निर्वाचनमा मेयर बालेन्द्र शाहभन्दा झण्डै ७ हजार अधिक ६८ हजार ६१२ मत ल्याएर उनी निर्वाचित पनि भइन् । 

सुनिताको काठमाडौंको मेयर बन्ने आकांक्षा भने कार्यबहाक नै सही चार वर्षमै पूरा भएको छ । मेयर बालेन शाहले पाँच वर्षे कार्यकाल पूरा नगरेरै प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा गरेपछि उनी स्वतः कार्यबहाक मेयर बनेकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा मेयरले पदबाट राजीनामा दिए उपमेयरले स्वतः कार्यवाहक पाउने व्यवस्था छ । कार्यवहाक मेयरको जिम्मेवारी पाएपछि डंगोलको सक्रियता पनि बढेको छ । 

त्यसो त, बालेन मेयरछँदै पनि उनी सार्वजनिक सभासम्मेलनमा धेरै देखिन्थिन् । आफू सहभागी हुनैपर्नेबाहेकका अधिकांश कार्यक्रममा जान बालेनले रुचि देखाउँदैनथे । महानगरबासीका गुनासा सुन्न पनि मेयरभन्दा धेरै उपमेयर डंगोल नै सक्रिय थिइन् । 

महानगरमा सुरुका दुई वर्ष मेयर बालेन र उपमेयर डंगोलबीच राम्रो सम्बन्ध थियो । उनीहरुले आपसी समन्वय गरेरै काम गरेका थिए । तर, मेयर बालेनको एमाले अध्यक्ष ओलीसँग सार्वजनिक कटाक्ष र भनाभनपछि बालेन–सुनिता सम्बन्ध पनि चिसिँदै गयो । महानगरसभामा समेत मेयर बालेन एक्लिन पुगेका थिए । ५ माघमा राजीनामा पठाएर रास्वपा कार्यालय पुगेका बालेनलाई महानगरमा विदाई कार्यक्रम राखेर उपमेयर डंगोलले पर्खेकी थिइन् । तर, उनी महानगर नछिरेरै जनकपुर उडेका थिए । रास्वपाबाट भावी प्रधानमन्त्री प्रस्तावित बालेन झापा–५ बाट निर्वाचन लड्दैछन् । जहाँ एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री ओली पनि उम्मेदवार छन् । 

काठमाडौंजस्तै बागमतीकै अर्काे महानगर भरतपुर पनि उपमेयर चित्रसेन अधिकारीले हाँक्नुपर्ने स्थिति आएको छ । मेयर रेनु दाहाल चितवन–३ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्न गएपछि अधिकारी कार्यवहाक भएका हुन् । दाहाल र अधिकारी गत निर्वाचनमा एउटै गठबन्धनबाट निर्वाचित भएका हुन् । महानगरमा उनीहरुबीच राम्रो सम्बन्ध रह्यो । दाहाल २०७४ र २०७९मा भरतपुरको मेयर निर्वाचित भएकी थिइन् । उनी नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री हुन् । आफ्नो नेतृत्वमा भरतपुरमा उल्लेख्य विकासका कामहरु भएको दाहालको दाबी छ । 

त्यस्तै, कोशी प्रदेशको धरान उपमहानगरको नेतृत्व पनि उपमेयरको काँधमा आइपुगेको छ । मेयर हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य चुनाव लड्न राजीनामा दिएपछि उपमेयर आइन्द्र विक्रम बेघा कार्यवहाक मेयर भएका हुन् । साम्पाङ र आइन्द्रबीच कार्यकालभरी राम्रो सम्बन्ध रहेन् । कतिसम्म भने देशबाहिर जाँदा साम्पाङले कार्यवहाकसमेत उपमेयरको सट्टा वडाध्यक्षलाई दिएका थिए । त्यसको कारण खोल्दै भनेका थिए, ‘मेयरलाई शुभयात्रा नभन्ने उपमेयरलाई किन कार्यवहाक दिने ?’ 

तीन तहको संघीयतामा स्थानीय तहलाई स्थायी सरकार मानिन्छ । तर, कार्यकाल पूरा नगरेरै बीचैमा अर्को चुनाव लड्न जाने प्रवृत्तिले संघीयतालाई कमजोर बनाउने राजनीतिशास्त्रीहरु बताउँछन् । संघीयता विद् खिमलाल देवकोटा स्थानीय तह होस् वा प्रदेश र संघीय संसद्का जनप्रतिनिधिले आफ्नो कार्यकाल पूरा गर्नु नै इमान्दारिता हुने बताउँछन् । ‘पाँच वर्ष काम गर्ने बाचा गरेर गएपछि त्यो पूरा गर्नुपर्छ । एउटा कार्यकाल राम्ररी पूरा नगर्ने प्रतिनिधिले अर्को जिम्मेवारी राम्ररी पूरा गर्छ भन्ने विश्वास गर्न सकिँदैन्’ उनले भने । 

सम्बन्धित खबर