
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति निर्माण प्रक्रियामा नागरिक सहभागिता विस्तार गर्ने उद्देश्यसहित सुझाव संकलन अभियान सुरु गरेका छन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ बाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले खुला रूपमा सुझाव प्रस्तुत गर्न आग्रह गरेका हुन्।
पौडेलले सामाजिक सञ्जालमार्फत आगामी पाँच वर्षका लागि काठमाडौँ-५ केन्द्रित नीतिगत दिशा तय गर्न नागरिकका विचार र प्रस्ताव आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार इच्छुक सबैले अनलाइन तथा प्रत्यक्ष दुवै माध्यम प्रयोग गरी सुझाव दिन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि प्रतिनिधि सभामा निर्वाचित हुँदा प्राप्त जनविश्वासलाई आधार मानेर यसपटक आगामी कार्यकालमा जनआकांक्षा अनुसार अघि बढ्ने तयारी स्वरूप सुझाव संकलन थालिएको उनको भनाइ छ । नीति निर्माणमा प्रत्यक्ष सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारेका छन् ।
महामन्त्री पौडेलले विभिन्न क्षेत्रका विज्ञ र सरोकार समूहसँग छलफल तथा भेटघाट गर्दै सुझाव संकलनलाई विस्तार गरिरहेका छन् । उनको सचिवालयका अनुसार विगत कार्यसम्पादन सार्वजनिक गर्ने, प्राप्त सुझाव र विज्ञका प्रतिक्रियाको विश्लेषण गर्ने तथा त्यसका आधारमा आगामी कार्ययोजना प्रस्तुत गर्ने तयारी भइरहेको छ