
काठमाडौं : कुनै एक राजनीतिक दलमा आबद्ध भएर वर्षौं काम गरेको नेताहरूले यसपटकको प्रतिनिधि सभामा उम्मेदवार बन्नकै लागि दल बदलको ह्विम चलाए । आफू आबद्ध दलबाट उम्मेदवारी नपाएपछि टिकटको बार्गेनिङ गरिरहेका आकांक्षी अन्तिम घडीमा पार्टी छाडेर अर्को दल प्रवेश गर्ने शृंखला नै चलाएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा ३० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार दल बदलेर चुनावी मैदानमा छन् । यो निर्वाचनमा सबैभन्दा बढी आठ जना नेता नेपाली कांग्रेस छाडेर रास्वपालगायत अन्य दलबाट टिकट लिएका छन् । त्यस्तै, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीबाट दल अदलबदल गर्ने बढी छन् । टिकटकै लागि दल बदल्ने अधिकांश उम्मेदवार तराई मधेश केन्द्रित छन् । अघिल्ला निर्वाचनमा नेताहरूले दल बदल्ने अभ्यास गर्दै आएका कारण यो अभ्यास नैलो होइन । यद्यपि यसपटकको निर्वाचनमा ठुला भनिएका राजनीतिक दलहरूमै ठुलो संख्यामा दल बदल गरेर टिकट लिने दिने काम भएका हुन् । दलहरूमा देखिएको यस्तो प्रवृत्तिले राजनीतिमा विचार र निष्ठाको अवसान हुँदै गएको छ ।
दल बदलेरै भए पनि एकै व्यक्ति पटकपटक उम्मेदवार बनेपछि मतदाता एउटै अनुहारप्रति आजित भएको बताएका छन् । अवसरवादी जहिले पनि सत्ता र शक्तिका लागि पार्टीको विचारभन्दा आफ्नो स्वार्थमा केन्द्रित हुने गरेको राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिक्रमसिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर टिकट लिए । पूर्वएसएसपी समेत रहेका थापा २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिए । यसपटक कांग्रेसबाट टिकट नपाएपछि उनले रास्वपाबाट कपिलवस्तु–२ मा उम्मेदवारी दिए ।
लुम्बिनी प्रदेशकै अर्को जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कांग्रेस नेता विक्रम खनाल पनि ४२ वर्ष सक्रिय रहेको कांग्रेस त्यागेर रास्वपा प्रवेश गरे । २०७० मा कांग्रेसबाट संविधान सभा सदस्य बनेका लुम्बिनी प्रदेशका महामन्त्रीसमेत हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको भन्दै कारबाहीमा परेका खनालको कारबाही फुकुवा भएसँगै उम्मेदवार बन्ने दौडधुपमा थिए ।
त्यस्तै, सुनसरी–४ का कांग्रेसका युवा अबुल हुसेन अन्सारी उम्मेदवारी दिने अघिल्लो दिनसम्म पार्टीको विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वविरुद्ध सडकमा नारा लगाइरहेका थिए । तर एकाएक एमालेले टिकट दिने भएपछि उनले कांग्रेस त्यागेर एमाले बनेका हुन् । अन्सारीले सुनसरी–४ को टिकट लिएसँगै एमालेभित्र विद्रोह हुने अवस्था आएपछि एमालेले उनलाई रोकेर पुरानै नेता जगदीश कुसियतलाई उम्मेदवार बनायो । यो प्रकरणमा अन्सारी नमज्जाले फसे ।
रुपन्देही–४ मा कांग्रेसबाट निर्वाचित पूर्वप्रतिनिधि सभा सदस्य प्रमोद यादवलाई एमालेले टिकट दियो । २०७४ र २०७९ का दुवै निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका यादवले यसपटक पनि कांग्रेसबाटै टिकट लिन जोडबलका साथ लागेका थिए । तर कांग्रेसले आशुतोष मिश्रलाई उम्मेदवार बनाएपछि उनी एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै, अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहेका पुराना कांग्रेस नेता बलबहादुर कुँवर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेर टिकट लिएका छन् । २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए । तनहुँ–२ मा कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका यामबहादुर खाँड उम्मेदवार बनेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित खाँडले नेताहरूमा निजी स्वार्थ हाबी भएकाले यस्तो निर्णय गरेको प्रतिक्रिया दिएका छन् । पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडियाले पनि टिकटकै लागि कांग्रेस छाडेर एमाले रोजेका छन् । २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर मन्त्री भएका तर २०७९ मा पराजित उनी एमाले प्रवेशसँगै कपिलवस्तु–३ बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै, कांग्रेसनिकट नेपाल शिक्षक संघमा लामो समय सक्रिय रहेका राजेश सिंह सामन्तले दुई महिनाअघि नै ‘टिकट पक्का गर्दै’ रास्वपा प्रवेश गरेर दार्चुलाबाट उम्मेदवार बनेका छन् । गत प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही ४ मा उम्मेदवार बनेका छन् । उनी यस अघिका तीन वटा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित थिए । २०७९ को आम निर्वाचनमा टिक नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद जितेका सिंह यस पटक रास्वपाबाट उम्मेदवार बनेका हुन् ।
नेकपाका नेता एवं पूर्वसांसद शिवपुजन यादव छोरा अमनिशकुमार यादवले टिकट नपाएको झोंकमा नेकपा छाडेर एमाले प्रवेश गरेका छन् । उनीसँगै सर्लाहीको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहसहितका कार्यकर्तासमेत एमालेमा गएका छन् । नेकपाले सर्लाही–४ मा डा. रजनिश रायलाई उम्मेदवार बनाएपछि एमालेबाट टिकट लिएका हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट संविधान सभा सदस्य बनेका यादव नेकपातिर लागेका थिए । नेकपाकै नेता एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् । सर्लाही–३ बाट टिकटका आकांक्षी उनी सो क्षेत्रमा नेकपाले राष्ट्रिय सभा सदस्यबाट राजीनामा गराएर नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि जसपा प्रवेश गर्दै सर्लाही–४ को टिकट लिएका छन् । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव मधेशी जनअधिकार फोरम हुँदै विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक)को सहअध्यक्ष समेत बनेका थिए । त्यस्तै, माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य रहेका पर्साकै रहबर अन्सारी रास्वपा प्रवेश गरेर बारा–४ बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै, नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री वृजेशकुमार गुप्ता नेकपामा प्रवेश गरेर कपिलवस्तु–२ बाट उम्मेदवार बनेका छन् । २०६४ र २०७० को संविधान सभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट निर्वाचित भएका उनी २०७४ मा भने एमाले प्रवेश गरेर सांसद बनेका थिए ।
नेपाल सद्भावना पार्टीका नेता अनिल झा नेपाली कांग्रेस प्रवेश गरेसँगै रौतहट–१ बाट चुनाव लडेका छन् । २०५६ सालमा सद्भावना पार्टीको सहमहासचिवबाट राजनीतिक उचाइ बनाएका झा यसबीचमा राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुगेका थिए । २०७० मा समानुपातिक सूचीबाट संविधान सभा सदस्य र २०७४ मा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचन जितेका उनी उद्योगमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । २०६४ यता मधेशी जनअधिकार फोरम र जसपा नेपालका नेता मोहम्मद इस्तियाक राई यसपटक एमालेबाट उम्मेदवार बनेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जसपा गठन गर्न निर्णायक भूमिका खेलेका उनी मनोनयनको मुखैमा एमाले प्रवेश गरेका थिए । राप्रपाबाट राजनीति सुरु गरेका राई २०६२ सालमा मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा एमालेकै उम्मेदवारलाई पराजित गरेका उनी २०७९ मा भने राप्रपाका धवलशमशेर राणासँग पराजित भएका नेता हुन् । राईसँगै जसपाका नेता, पूर्वमन्त्री प्रदीप यादव पनि टिकटका लागि अन्तिम घडीमा पार्टी त्यागेर एमाले प्रवेश गरे । यादव पर्सा–१ बाट उम्मेदवार बनेका छन् । यादवले २०६४ मा मधेशी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका थिए ।
त्यस्तै, ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङले पनि मनोनयनकै दिन एमाले त्यागेर नेकपाका नेता राम कार्कीको टिकट खोसेर उम्मेदवारी दर्ता गराएका छन् । एमालेले गाउँपालिका उपप्रमुख अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले जिल्ला कमिटी अध्यक्षसहित ३० जना जिल्ला तहका नेताहरू लिएर नेकपामा गएपछि एमालेलाई ओखलढुंगामा ठुलै धक्का लागेको छ । टिकटको आकांक्षी नै नभएकी थापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको गुरुङको आरोप छ । ‘पार्टीभित्र मेरो योगदानको अवमूल्यन भयो,’ उनले भने, ‘जिल्ला कमिटीले सिफारिस नै नगरेको र आकांक्षी नै नभएको व्यक्तिलाई टिकट दिएर पार्टी सिस्टम नै कोल्याप्स गर्ने पार्टीमा बसिरहँन सकिनँ । जनताको मागबमोजिम नेकपाबाट उम्मेदवार बनेको छु ।’
काठमाडौं–२ राप्रपाबाट रास्वपा छिरेर सुनिल केसीले टिकट लिएका छन् । केसी राप्रपाबाट बागमती प्रदेश सभा सदस्य थिए । उता नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डगौरा नेकपा प्रवेश गर्दै कैलाली–१ बाट उम्मेदवार बनेका छन् । उनी कैलालीको टीकापुर नगरपालिकामा नाउपाबाट निर्वाचित मेयर हुन् ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य दीपक साउद एमालेमा प्रवेश गरेर अछाम–१ माबाट उम्मेदवार बनेका छन् । त्यस्तै, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह यादवले जनमत पार्टी छाडेर स्वाभिमान पार्टीबाट सप्तरी–२ मा उम्मेदवारी दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वीरगन्ज–१० को वडाध्यक्ष बनेका सुशील साह कानु पर्सा–२ बाट रास्वपाका उम्मेदवार बनेका छन् भने सोही पार्टीबाट निर्वाचित वीरगन्ज–२० को वडाध्यक्ष रामकिशोर सिंह (पराग) पर्सा–१ बाट उज्यालो नेपालको उम्मेदवार बनेका छन् । जसपाका नेता आत्मराम साहले प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा) प्रवेश गरेर बारा–२ बाट उम्मेदवार बने । पूर्वकृषिराज्यमन्त्री एवं २०६४ का संविधान सभा सदस्य ओमप्रकाश यादव पनि जसपा छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गर्दै रुपन्देही–५ बाट उम्मेदवार बनेका छन् ।
यता अशोक राई नेतृत्वको जसपाका नेता डा. वीरेन्द्र महतो पनि सिराहा–४ को टिकट लिएर जनमत पार्टीमा प्रवेश गरेका छन् । एउटा पार्टी छाडेर अर्कोको सदस्यता लिनासाथ टिकट दिनेहरूले इमानदार कार्यकर्ता अवसरबाट वञ्चित भएका छन् । यसरी चुनावको मुखमा पार्टी फेर्ने नेताहरू चरम अवसरवादी भएको राजनीतिक विश्लेषक बताउँछन् । एउटा पार्टी छाडेर अर्कोको सदस्यता लिनासाथ टिकट दिनेहरूले इमानदार कार्यकर्तालाई अवसरबाट वञ्चित गरेकाले राजनीतिप्रतिको इमानदारिता मर्दै गएको राजनीतिक विश्लेषक मुमाराम खनालले बताए । ‘वैचारिक सैद्धान्तिक दृष्टिकोणभन्दा पनि टिकटकै लागि दल बदल्नेहरू अवसरवादी हुन्,’ खनालले भने, ‘राजनीतिक दलहरूमा विचलन देखिएको छ । सत्ता र शक्तिका लागि जेसुकै गर्न पछि नपर्ने प्रवृत्तिले मुलुकको हित गर्दैन । रातारात दल बदल्ने र टिकट लिने दिने प्रवृत्तिले इमानदार राजनीतिकर्मी सधैं अवसरबाट वञ्चित हुने गरेका छन् ।’