
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताए । नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उनको भनाइ छ ।
महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उनले नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताए ।
राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिष्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा एक–अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर हुनुपर्ने उल्लेख गरे ।
मर्यादित र मुद्दा–आधारित प्रतिस्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उनको विश्वास छ । उनकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो ।
उनले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताए । उनले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहेपनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गरे ।
उनले राजनितिक दलहरूको कार्यन्वयनमुखी घोषणा पत्र बनाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसले गर्नसक्ने कामहरुलाई मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिए । सुशासन, रोजगारी र आर्थिक विकास कांग्रेसको मुख्य एजेण्डा हुने उनको भनाइ छ ।