२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ह्वात्तै बढ्यो मिथ्या सूचना, भ्रामक प्रचार सामग्रीले हैरान मतदाता

shivam cement
२०८२ माघ १९ गते ०६:३५
Shares
ह्वात्तै बढ्यो मिथ्या सूचना, भ्रामक प्रचार सामग्रीले हैरान मतदाता

काठमाडौं : २१ फागुनको निर्वाचन मिति नजिकिँदै जाँदा मिथ्या तथा भ्रामक सूचनाको प्रवाह तीव्र बनेको छ । सामाजिक सञ्जाल, अनलाइन पोर्टल र डिजिटल प्लेटफर्ममार्फत गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलिएका छन् । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १ सय ७५ वटा मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति पहिचान भएको छ । जसमा १ सय २० कन्टेन्ट, ६ वटा एसएमएस, १५ वटा समाचारजन्य सामग्री र ३४ वटा अभिव्यक्ति रहेका छन् । 

निर्वाचन आयोगले हालसम्म हानिकारक सूचना उत्पादन तथा सम्प्रेषणमा संलग्न १ सय २० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइसकेको छ । 

दूरसञ्चार ऐन, २०५२ अन्तर्गत कारबाही गर्नुपर्ने ६ वटा विषय नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिएको छ । आयोगका अनुसार मिथ्या सूचना केवल नैतिक विषय मात्र नभई कानुनी अपराधको विषयसमेत भएकाले कारबाहीको दायरामा ल्याउन लागिएको हो । 

प्रेससम्बन्धी आचारसंहिता उल्लंघनका विषयसमेत पहिचान भएका छन् । १५ वटा समाचारजन्य सामग्रीको विषयमाथि आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा पठाइएको छ । प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीका लागि पठाइएको हो । 

निर्वाचन आचारसंहिता उल्लंघनसँग सम्बन्धित ३४ वटा विषय भने केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । 

निर्वाचन आयोगबाट प्राप्तपत्रअनुसार साइबर ब्युरो, केन्द्रीय अनुगमन समिति, प्रेस काउन्सिल नेपालले आवश्यक कारबाही अगाडि बढाउनेछ । कतिपय कन्टेन्ट नै हट्नेछन् भने कतिपय सच्याउने वा माफी माग्ने र कतिपयमा मुद्दा नै चल्ने अवस्था रहेको आयोगले जनाएको छ । 

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउनेगरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगका अधिकारीहरू मिथ्या तथा भ्रामक सूचनाले मतदातालाई अन्योलमा पार्ने मात्र होइन, निर्वाचन प्रक्रियामै अविश्वास सिर्जना गर्ने खतरा रहन्छ । यसकारण आयोगले हानिकारक सूचना पहिचान गरेर कारबाही प्रक्रियामा अगाडि बढाएको हो । 

निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी फैलाइएका मिथ्या, भ्रामक तथा घृणास्पद अभिव्यक्तिको निगरानी गर्न आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र नै स्थापना गरेको छ । त्यसअन्तर्गतको सूचना सदाचार प्रवर्धन इकाइ पूर्ण रूपमा क्रियाशील बनाइएको छ । 

तथापि, मिथ्या सूचना नियन्त्रणका लागि कारबाही आवश्यक भए पनि यो दीर्घकालीन समाधान भने होइन । मतदाता स्वयंले सूचना छान्ने क्षमता विकास नगरेसम्म गलत सूचना अर्को रूपमा पुनः फैलिने जोखिम रहिरहन्छ । 

यसलाई ध्यानमा राखेर आयोगले आफैं निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा इकाई आफैं प्रचारजन्य सामग्री उत्पादन र सम्प्रेषणमा जुटेको छ । जसले हालसम्म जम्मा १ सय ५८ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ । 

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालक्षित निर्वाचन आयोगले सार्वजनिक गरेका प्रचार सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथसाथै निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमसमेत अगाडि बढाउँदै छ । 

आयोगले आगामी साताभित्रै मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई अन्तिम रूप दिँदै छ । त्यसपछि सबै स्थानीय तहमा मतदाता मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । 

मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहनेछ । यसक्रममा मिथ्या सूचनाको भ्रम चिर्ने प्रयाससमेत हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर