२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओझेलमा काठमाडौंको चुनाव

shivam cement
जीवन शर्मा
२०८२ माघ २० गते ०६:३५
Shares
ओझेलमा काठमाडौंको चुनाव

काठमाडौं : अघिल्लो चुनावमा अत्यधिक चर्चामा रहेको काठमाडौंको निर्वाचन यसपटक भने ओझेलमा परेको छ । कुनैबेला एमाले किल्लाका रूपमा स्थापित काठमाडौंले पछिल्लोपटक कम्युनिस्ट नेताहरूलाई विस्थापित गरिदिएको छ । कम्युनिस्टपछि नेपाली कांग्रेसले काठमाडौंलाई दबदबामा राख्यो । त्यो पनि क्षयीकरण हुँदै यसपटक नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धामा परिणत हुँदै छ । नयाँ दल रास्वपा मात्र होइन, कांग्रेस र एमालेले पनि नयाँ उम्मेदवार अघि सारेकाले निर्वाचन रोचक त छ तर चर्चा बटुल्ने तहमा माहोल आइसकेको छैन । 

विगतका केही चर्चित अनुहार यसपटक काठमाडौंको चुनावमा छैनन् । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ पुगेका छन् भने काठमाडौं–२ बाट निर्वाचित रास्वपा नेतृ सोबिता गौतम चितवन–२ झरेकी छन् । काठमाडौं–१ बाट जित्दै आएका कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं–९ बाट निर्वाचित एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसपटक टिकट नै पाएनन् । काठमाडौंको चुनावी चर्चालाई यसपटक झापा–५ को चुनावले ओझेलमा पारेको छ । जहाँ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर बालेन शाह पुगेका छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । त्यसपछि कांग्रेस सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहबीच हुने सर्लाही–४ को प्रतिस्पर्धा रोचक छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व र रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बनेपछि अधिकांशको ध्यान यिनै शीर्ष नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित छ ।  

गत निर्वाचनमा राजधानीका यी क्षेत्रहरूमा देखिएको प्रतिस्पर्धा यसपटक पनि दोहोरिने संकेत छ । तर माहोल कसको पक्षमा बढ्दै छ, अहिल्यै आंकलन गर्न सक्ने अवस्था छैन । गत निर्वाचनमा काठमाडौं जिल्लाका १० वटै क्षेत्रमध्ये पाँच क्षेत्रमा कांग्रेस, चार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । कांग्रेसले काठमाडौं क्षेत्र नं. १, ३, ४, ५ र १० जितेको थियो भने रास्वपा २, ६, ७ र ८ मा विजयी भएको थियो । एमालेले काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठलाई जितएर चित्त बुझाएको थियो । 

यसपटक जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा सबै दलले नयाँ उम्मेदवार उठाएका छन् । कांग्रेसले काठमाडौं १ मा युवा उम्मेदवार प्रबल थापालाई टिकट दिएको छ । काठमाडौं १० मा प्रचण्डलाई हराएका कांग्रेस नेता राजन केसीले स्वयं विश्राम लिएका हुन् । पुराना चर्चित उम्मेदवार नहुँदा काठमाडौंको चुनावी माहोलमा उत्साह नदेखिएको राजनीतिक वृत्तमा चर्चा छ । काठमाडौंबाट कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपासहितका अधिकांश उम्मेदवार राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता होइनन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा कुल २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये क्षेत्र नम्बर ३ का उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, ४ का एमाले उम्मेदवार राजन भट्टराई, क्षेत्र नम्बर ५ का कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, ६ का उम्मेदवार रास्वपाका शिशिर खनाल, नेकपाका हिमाल शर्मा र क्षेत्र नम्बर ९ का रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल आम मानिसमाझ परिचित नेता हुन् । निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३० जना उम्मेदवार चुनावी मैदानमा छन् भने सबैभन्दा कम उम्मेदवारी पर्ने क्षेत्रहरूमा २, ६ र ८ रहेका छन् । जहाँ समान २२/२२ जनाको उम्मेदवारी मनोनयन भएको हो । क्षेत्र नम्बर ७ र ४ मा २८÷२८ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै, क्षेत्र ५, ९ र १० मा २७/२७ जना तथा क्षेत्र नम्बर ३ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काठमाडौंका यी क्षेत्रहरूमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य रहेको छ । 

काठमाडौंको चुनावले धेरै चर्चा नपाउनुको धेरै कारण छन् । एउटा कारण उनीहरू नयाँ हुनु नै हो । अध्ययन र युवाका हिसाबले यी उम्मेदवार विगतका उम्मेदवारभन्दा सक्षम भए पनि राजनीतिक परिपक्वता, सामाजिक घुलमिल र राष्ट्रिय राजनीतिमा परिचित नभएकाले मतदातामाझ उम्मेदवार चिनिन नै केही समय लाग्ने कांग्रस नेता बाबुराम आचार्यले बताए ।  

कसको जनमत कस्तो ?

काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १ सय ४३ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएका थिए । सिंह माओवादीसँगको गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसअघि २०७४ को निर्वाचनमा समेत प्रकाशमान र रवीन्द्रबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले विवेकशील साझा पार्टीबाट १० हजार १ सय १८ मत ल्याएका थिए । सिंह यस क्षेत्रबाट २०६४ देखि निरन्तर सांसद जित्दै आएका नेता हुन् ।  यसपटक उनी मैदानमा छैनन् ।   

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २ सय २९ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५ सय ५५ मत ल्याएका थिए । यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत ल्याएर चौथो बनेकी थिइन् भने राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी तेस्रो स्थानमा थिइन् । २०७४ को निर्वाचन यस क्षेत्रमा एमालेका माधवकुमार नेपाल विजयी भएका थिए । 

त्यस्तै, काठमाडौं–३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १५ हजार १ सय ५८ मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर राई (किसन)ले ११ हजार १ सय ९६ मत ल्याएका थिए । २०७४ को चुनावमा एमालेका राईले १९ हजार १ सय ६९ मतसहित विजयी भएका थिए । त्यतिबेला कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत पाएकी थिइन् ।

काठमाडौं–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा २१ हजार ३ सय २ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत ल्याएका थिए । अघिल्लो चुनावमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो । २०७४ को चुनावमा थापा २१ हजार ५ सय ५८ मतसहित विजयी हुँदा एमालेका भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । थापाले यस क्षेत्रमा २०७० मा पनि चुनाव जितेका थिए । यो निर्वाचन क्षेत्रबाट रास्वपाको तेस्रो मत थियो । काठमाडौं क्षेत्र नम्बर– ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल १५ हजार २ सय ३७ मत ल्याई विजयी हँदा एमाले नेता पोखरेलले १० हजार १ सय ७५ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा ईश्वरले २३ हजार २९ मत ल्याएर जित्दा कांग्रेस नेता प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाएका थिए ।  

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल १४ हजार २ सय ४ मत ल्याएर निर्वाचित भएका हुँदा एमालेका सर्वेन्द्र खनाल ८ हजार ९ सय ११ मतका साथ दोस्रो भएका थिए । कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका थिए । २०७४ मा प्रधानको १६ हजार ७ सय ८५ मत ल्याएर एमाले माओवादीका गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । 

त्यस्तै, क्षेत्र नम्बर ७ बाट रास्वपाका गणेश पराजुली ८ हजार ७ सय ४३ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका थिए । कांग्रेससँगको गठबन्धनबाट उठेकी माओवादीकी मानुषी यमी भट्टराई ६ हजार ६३ मतका साथ तेस्रो भएकी थिइन् । २०७४ मा एमालेका रामवीर मानन्धर विजयी भएका थिए । 

क्षेत्र नम्बर ८ मा रास्वपाकै विराजभक्त श्रेष्ठ १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका थिए । कांग्रेससहितको गठबन्धनका तर्फबाट नेकपा एसका जीवनराम श्रेष्ठले ४ हजार ८ सय ७७ मत ल्याएका थिए । कांग्रेसका नेता नवीन्द्रराज जोशीको यो क्षेत्र उनको निधनसँगै थप कमजोर बन्दै गएको छ । यसपटक कांग्रेसले जोशीकी श्रीमती सपना राजभण्डारी जोशीलाई उम्मेदवार बनाएको छ ।  

त्यस्तै, ९ नम्बर क्षेत्रबाट गत निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी भएका थिए । रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका दोस्रो भएका थिए । गठबन्धनबाट उठेकी माओवादीकी कल्पना धमलाले ६ हजार ४ सय २ मत पाएकी थिइन् । यो क्षेत्र कृष्णगोपालले नियमित जित्दै आए पनि यसपटक उनले टिकट पाएका छैनन् । क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी १४ हजार ४ सय ४८ मतसहित विजयी हुँदा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत पाएका थिए । २०७० सालमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर देशभर चर्चा कमाएका नेता केसीले तीनवटा निर्वाचन धानेका थिए । यसपटक केसी आफैंले चुनाव नलड्ने घोषणा गरेर बसेका छन् ।

ताजा खबर

सम्बन्धित खबर