२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

८८ वर्षीय मदन आचार्यको स्वतन्त्र उम्मेदवारी, संसद्‍बाट नीतिगत सुधारमा योगदान गर्ने हुटहुटी

shivam cement
जीवन शर्मा
२०८२ माघ २२ गते १८:०६
Shares
८८ वर्षीय मदन आचार्यको स्वतन्त्र उम्मेदवारी, संसद्‍बाट नीतिगत सुधारमा योगदान गर्ने हुटहुटी

काठमाडौं : मुलुक प्रतिनिधिसभाको निर्वाचनमा होमिएसँगै पूर्वप्रशासक मदनदेव आचार्यको मनमा एकाएक सांसद बन्ने हुटहुटी जाग्यो । राजनीति र प्रशासनिक क्षेत्रमा देखिएको भ्रष्ट नीतिलाई सुधार गर्न संसद्बाटै आवाज उठाउनुपर्ने सोचेर उनले काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।

८८ वर्षीय स्वतन्त्र उम्मेदवार आचार्य अहिले मुलुकमा नीतिगत सुधारको एजेन्डासहित मतदातामाझ छन् । आचार्यलाई प्रतिनिधिसभामा पुगेर नीतिगतरूपमा मुलुकलाई सबल बनाउन सहयोग गर्ने अन्तिम इच्छा छ । संसद्बाटै देश निर्माणको खाकासहित आफ्नो अनुभव राज्यलाई सुनाउने आफ्नो उद्देश्य रहेको आचार्य बताउँछन् ।  

जागिरे जीवनमा गरेका काम र भोगेका कुराबाट प्राप्त अनुभवलाई उपयोग गर्दै आफ्नै खर्च गरेर राज्यलाई सहयोग गर्ने जोशका साथ संसद् छिर्ने दृढताकासाथ आचार्य चुनावमा होमिएका हुन् । ‘मलाई राजनीतिप्रति रुचि थिएन, तर मुलुकको अवस्था देखेर यो उमेरमा चुनाव लड्ने जोश जाग्यो’, उनले भने, ‘आफ्नै खर्च गरेर फलको आशा नगरी चुनावमा होमिएको छु । एक पटक मलाई सदनमा बोल्न मन छ । यो देश र जनताका लागि हो, मेरा लागि होइन ।’

सांसदले नीति निर्माणको तहमा काम गर्नुपर्ने भएपनि पछिल्लो पटक सांसदका उम्मेदवारहरू वडास्तरिय योजना बाँडेर जनता ढाँट्न गइरहेको आचार्यले टिप्पणी गरे । मध्यान्हसँगको कुराकानीमा उनले भने, ‘मलाई केही मान्छेछहरू सोध्छन्– यो वडाका लागि के गर्नुहुन्छ ? मैले वडाका लागि वा क्षेत्रका लागि केही गर्दिनँ, मैले त देशका लागि नीतिगत सुधारको काम गर्ने हो ।’

उनी राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रहितको विषयमा सधैं चिन्तित छन् । बुढेशकालमा पनि चनाखो बोली, चलायमान शरीर र स्मरण क्षमता त्यत्तिकै सबल छ उनीमा । आफू बदमासी नगर्ने, बदमासी गर्नेहरूप्रति खरो रूपमा जाइलाग्ने, कसैको एक पैसा नखाने आचार्यको पारिवारिक जीवन पद्धति नै हो । ‘पिताजी र हजुरबुबाले पनि कहिल्यै कसैमाथि अन्याय गर्नुभएन, अन्याय हुनबाट रोक्नुभयो’, ‘मैले पनि त्यही गर्दै आएँ, कसैको एक पैसा खानुपरेन, बरु कतिले मेरो खाएर गए, मलाई पुगेकै छ ।’

सरकारी क्षेत्रमा हुने बेथिति र भ्रष्टाचार रोकेर मुलुकलाई समृद्धिको बाटोमा लैजाने योजना संसद् हलबाट प्रस्तुत गर्ने र सरकारलाई निःस्वार्थ सहयोग गर्नकै लागि यो उमेरमा आफू सदनमा जाने जमर्को गरेको उनी बताउँछन् । लामो अनुभव, क्षमता र राष्ट्रहितमा निःस्वार्थ काम गर्ने उद्देश्यकै कारण आफूलाई मतदाताले काठमाडौं क्षेत्र नम्बर ४ बाट जिताएर पठाउनेमा उनी आशावादी छन् ।  

१६ वर्षकै उमेरमा केआइसी पार्टीको काठमाडौं उत्तरी शाखा सभापति भएर काम गरेका आचार्यलाई राजनीतिप्रतिको रुचि त्यसैबेला नै हराएको थियो । राजनीतिमा लागेपछि झुट बोल्नु पर्ने, परिआएको खण्डमा जे पनि गर्नुपर्ने, भन्नुपर्ने भएकाले राजनीतिप्रति मन मरेको उनले बताए । त्यसैकारण उनी बिकम सम्मको अध्यायान सकेर सरकारी नोकरीमा प्रवेश गरे । २०१७ सालमा सरकारी कर्मचारी भएका आचार्यले परराष्ट्र, स्वास्थ्य, अर्थलगायत विभिन्न मन्त्रालयमा रहेर काम गरे । उच्च पदस्थ कर्मचारी (सचिव) बाट पेन्सन पकाएर उनी २०३७ सालमै अवकास भएका थिए ।

त्यसयता आचार्यले आफ्नै व्यवसायमा लामो समय खर्चिए । सामाजिक क्षेत्रमा पनि उनको योगदान त्यत्तिकै छ । स्वास्थ्य उपचार गर्न नसकेर अलपत्र परेका बिरामी हुन् वा सामान्य खर्चको अभावमा पढ्न नपाएका बालबालिकालाई उनी सहयोगी बन्दै आएका छन् । 

आचार्य परिवारका सदस्यले सरकारले दिने ज्येष्ठ नागरिक भत्ता समेत राज्यलाई नै फिर्ता गर्दै आएका छन् । ज्येष्ठ नागरिक भत्ता गरिब दुःखीलाई दिने हो, सक्ने मान्छेहरुलाई आवश्यक नभएको उनको सुझाव छ । ‘कर्मचारीको तलब बढाएर भ्रष्टाचार कम गर्न सकिन्छ, सशस्त्र प्रहरीलाई सुन्तला, लप्सीलगायत फलफूल खेतीमा लगाएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ’, आचार्यले योजना सुनाए, ‘अहिले १ किलोमिटर सडक बनाउँदा गरिएको खर्चले १० किलोमिटर बनाउन पुग्छ । आफ्ना अनुभव र मुलुक निर्माणको यीनै योजना सुनाउन सदन छिर्न चाहान्छु’, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर